छेडेदह ताल संरक्षण तथा प्रवद्र्वन गर्न बजेट



बाजुरा ।

बाजुराको छेडेदह तालको संरक्षण तथा प्रवद्र्वनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बजेट विनियोजन भएको छ । जिल्लाकै पर्यटकीय गन्तव्यका रूपमा रहेको छेडेदह तालको संरक्षण गर्न आवश्यक बजेट विनियोजन भएको हो । पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेका मुख्य स्वकीय सचिव तालबहादुर रावतका अनुसार छेडेदह तालमा संरचना निर्माण तथा सौन्दर्यकरणका लागि २० लाख बजेट विनियोजन भएको छ ।

त्यस्तै छेडेदह तालसहित खप्तड, बडालेख, कालाजाग्रा लगायतका पर्यटकीय स्थलका लागि ३ करोड बजेट विनियोजन भएको उनले बताए । लामो समयदेखि पहिरोको चपेटामा परेको छेडेदह तालको संरक्षण तथा प्रवद्र्वनका लागि मन्त्रालयबाट बजेट विनियोजन मन्त्रीका मुख्य स्वकीय सचिव रावतले बताएका छन् । त्यस्तै छेडेदह तालको अनुगमन गरी संरक्षणमा सहयोग गरिदिन भन्दै मंगलबार खप्तड छेडेदह गाउँपालिकाले पर्यटन मन्त्रालयलाई पत्राचार समेत गरेको छ ।

खप्तड छेडेदह वडा नम्बर ४ र ७ को बीचमा पर्ने छेडेदह तालबाटै गाउँपालिकाको नामाकरण गरिएको छ । साविकको गुदुखाती गाविसको वडा नं ९ खातीगाउँ र आटीचौर गाविसको वडा नं–१ लम्गाउँका स्थानीयबीच लामो समयदेखिको सीमाना विवाद समाधान हुन नसक्दा हालसम्म निकासमा पुग्न नसकेको गाउँपालिकाले जनाएको छ ।

खप्तड छेडेदह मात्रै नभई बाजुरा जिल्लाकै पर्यटकीय गहनाका रूपमा रहेको छेडेदह तालको पहिरो रोकथाम गरी संरक्षण तथा प्रवद्र्धन हुन नसके यसको अस्तित्व नै संकटमा पर्ने देखिन्छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छेडेदह तालको संरक्षणका लागि बर्सेनि बजेट आएपनि सही सदुपयोग नहुने गरेको र सिमाना विवादले नै ओझेलमा पर्दै आएको स्थानीयहरूले बताएका छन् । मुख्य रूपमा सीमानामा देखिएको विवाद समाधान गर्न स्थानीय जनप्रतिनिधिहरूले नै अग्रसर बनेर तालको संरक्षणमा लाग्नुपर्ने उनीहरूको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार १९ गते बिहीबार