सम्पादकीयः विरुवा संरक्षणमा ध्यान देउ



प्रत्येक वर्ष नेपाल सरकारले देशभरका विभिन्न राष्ट्रिय, सामुदायिक र नीजि वनहरूमा बृहत् वृक्षरोपण गर्ने गर्छ । वातावरण र बोटविरुवा संरक्षणका लागि भन्दै वृक्षरोपणका निम्ति बर्सेनि लाखौँ करोडौँ रकम खर्च गरेको समेत पाइन्छ । त्यतिमात्र नभई वृक्षरोपण तामझामका साथ गरिन्छ । तर, त्यसको प्रतिफल भने कस्तो आयो भन्ने बारेमा अनुगमन गरेको पाइँदैन् । जसका कारण हरेक वर्षको लगानी खेर गयो कि उपलब्धिमूलक भयो भन्ने विषय अन्योल रहेको पाइन्छ । ‘हरियो वन नेपालको धन’ यो नेपाल सरकारको नारा हो । त्यसैले पनि हरियो वन बनाउन प्रत्येक वर्ष देशभर लाखौँ विरुवा रोप्ने गरिन्छ । त्यसको संरक्षणका लागि सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।

हरेक वर्षको लगानीका बारेमा सरोकारवालाले निगरानी राख्न जरुरी छ । वृक्षरोपण गर्दा मन्त्री, सांसद, सार्वजनिक पदमा बसेका ठूला ठूला व्यक्तिहरूदेखि लिएर राजनीतिकर्मी, जनप्रतिनिधि समेतले विरुवा रोपेको फोटो सामाजिक सञ्जालमा हाल्न होडबाजी चलेको देखिन्छ । तर, वृक्षणरोपण गरेको भोलिपल्टदेखि भने त्यसको संरक्षणमा कसैको ध्यान पुग्न सकेको पाइँदैन् । लगाएको विरुवाका बारेमा न त ती व्यक्तिहरूले चासो दिएको पाइन्छ, न त सम्बन्धित सरोकारवाला निकायले नै । जसका कारण वर्षौैँदेखि लगाइएका विरुवाको अवस्थाका बारेमा कसैले केही उत्तर दिन सक्दैनन् । किसानहरूका लागि नीजि जमिनमा लगाउने उद्देश्यले उनीहरूको जमिनका आधारमा विरुवा वितरण गरिन्छ ।

वर्षौँदेखि उही एउटै किसानले विरुवा लगिरहेको हुन्छ । निःशुल्क रूपमा किसानले लग्ने गरेका विरुवा उनीहरूले सदुपयोग गरे कि गरेनन् ? ती विरुवाबाट उनीहरूले कति आम्दानी गर्न सफल भए ?, उनीहरूको जीवनस्तरमा ति विरुवाहरूले कत्तिको प्रभाव पारे भन्ने बारेमा खोजी हुनु पर्छ कि पर्दैन् ? हरेक वर्ष सरकारले लगानी गर्ने लाखौँ करोडौँ रूपैयाँ रकम सही सदुपयोग भयो कि भएन भन्ने हिसाबकिताब राख्न जरुरी छ कि छैन् ? सम्बन्धित सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण हुनु जरुरी छ । नाम मात्रको वृक्षरोपण हुने जस्तो देखिन्छ । सरकारले विरुवा रोप्नका लागि मात्र होइन्, तिनीहरूलाई हुर्काउन, बढाउन, संरक्षण गर्न तथा प्रवद्र्धन गर्नका लागि समेत रकम छुट्याउने गर्दछ ।

लगाइएकामध्ये कति विरुवा हुर्के, कति मरे, कति सुकेर गए भन्ने वास्तविक तथ्यांक कहीँ कतै पाइँदैन् । अनुमानका भरमा यति प्रतिशत, उति प्रतिशत भन्ने बाहेक अरु जवाफ भने पाइँदैन् । वृक्षरोपण गरेर मात्र हुँदैन, त्यसअघि सम्बन्धित निकायले दीर्घकालीन रूपमा योजना बनाएर कार्यान्वयन गर्न जरुरी देखिन्छ । वृक्षरोपण गर्नु अत्यन्तै सराहनीय विषय हो । तर, वृक्षरोपणका नाममा रोपिएका विरुवाको संरक्षणमा लापरबाही हुनु दुःखद कुरा हो । यसतर्फ सम्बन्धित निकायले बेलैमा ध्यान दिन आवश्यक छ । वृक्षरोपण गर्ने तर, पुनः फर्केर हेरचाह गर्न नजाने प्रवृत्तिले विरुवा संरक्षणमा असर परेको पाइन्छ । यतिमात्र नभई विरुवा संरक्षणमा समुदायको पनि जिम्मेवारी उत्तिकै रहेको हुन्छ ।

त्यसैले वृक्षरोपणमा समुदायको पनि सहभागिता गराउन आवश्यक छ । पछिल्लो समय सामुदायिक वन र समूहसँगको सहकार्यमा विरुवा रोप्ने गरिने गरिन्छ । किन कि समुदायले नै त्यसको अपनत्व लिएर त्यसको संरक्षणमा सहयोग पु¥याउन मद्दत गर्दछन् । त्यो भइरहेको पनि छ । अहिले विरुवाको संरक्षण र हेरचाह सामुदायिक वन र समूहहरूले गरेको पाइन्छ । यो सकारात्मक पक्ष पनि हो । वृक्षरोपण, संरक्षण सँगसँगै समुदायस्तरमा जनचेतना फैलाउन पनि उत्तिकै महत्वपूर्ण छ । समयमै ध्यान नदिने हो भने हरियो वन नेपालको धन विनास हुनसक्छ । त्यसको संरक्षण गर्न वृक्षरोपणसँगै विरुवा जोगाउन सबैको हातेमालोको जरुरी छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार १९ गते बिहीबार