लुम्बिनी प्राविधिक विश्वविद्यालयले मनायो वार्षिकोत्सव



नेपालगन्ज (बाँके) ।

लुम्बिनी प्रदेश सरकारको गौरवको योजनाका रूपमा नेपालगन्जमा सञ्चालनमा रहेको लुम्बिनी प्राविधिक विश्वविद्यालय तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । तेस्रो वर्ष पूरा गरेको अवसरमा विश्वविद्यालयले बुधबार नेपालगन्जमा आफ्नो वार्षिकोत्सव मनाएको छ । लुम्बिनी प्रदेश सरकारका सामाजिक विकासमन्त्री एवं लुम्बिनी प्राविधिक विश्वविद्यालयका सहकुलपति जन्मजय तिमिल्सिनाले एक कार्यक्रमबीच उद्घाटन गरे । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मन्त्री तिमिल्सिनाले लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रमलाई औपचारिक रूपमा उद्घाटन गर्दै उनले विश्वविद्यालयलाई बलियो बनाउनुपर्नेमा जोड दिएका हुन् । ‘यो विश्वविद्यालय नेपालमै पहिलो प्राविधिक विश्वविद्यालय हो, आज भर्खर तीन वर्ष पुगेको छ, यसलाई बलियो बनाउन र सुधार गर्न सबैको उत्तिकै जिम्मेवारी र दायित्व हो ।’ मन्त्री तिमिल्सिनाले भने, ‘३३ जना विद्यार्थीबाट सुरुवात भएको विश्वविद्यालयमा हाल दुई सयबढी विद्यार्थी अध्ययनरत छन्, यति छोटो समयमा यत्ति धेरै प्रगति हुनु खुसीको कुरा हो, यसलाई निरन्तर अगाडि बढाउन सबैको हातेमालोको आवश्यक छ ।’

उनले कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्य आउने तय भएपनि बुधबार नै प्रदेशमा बजेट पास गर्ने कार्यक्रम भएका कारण आउन नपाएको जानकारी गराए । उनले मुख्यमन्त्री आचार्यले पठाएको शुभकामना सन्देश जानकारी गराउँदै उनी विश्वविद्यालयप्रति अत्यन्तै चिन्तित रहेको बताए । विश्वविद्यालयका डीन डा. निरज केसीले सूचना प्रविधि, इन्जिनियरिङ, कृषि तथा वन विज्ञान, पर्यटन लगायतका क्षेत्रमा उच्च शिक्षाको प्रवद्र्धन गर्नुका साथै प्रविधि र नवप्रवर्तनको प्रयोग र विकासमा टेवा पु¥याउने उद्देश्यले २०७९ साल असार १८ गते लुम्बिनी प्रदेश सरकारको प्रदेश सभाको ऐनमार्फत विश्वविद्यालय स्थापना भएको जानकारी दिए ।

उनले स्नातक र स्नातकोत्तर तहमा व्यावसायिक ज्ञानसहित व्यवहारिक सीपसम्पन्न दक्ष जनशक्ति उत्पादन गरेर सिद्धान्त र अभ्यासको समायोजनमार्फत वास्तविक जीवनका समस्याहरु समाधान गर्न सक्ने क्षमतायुक्त विद्यार्थी उत्पादन गर्ने विश्वविद्यालयको मिसन भएको उल्लेख गरे । विश्वविद्यालयले स्नातक तहमा बिटेक इन सिभिल इन्जिनियरिङ, बिटेक इन आईटी इन्जिनियरिङ, बिटेक इन आईटी र बिटेक इन कम्प्युटर साइन्स एण्ड एआई र स्नातकोत्तर तहमा एमटेक इन कम्प्युटर साइन्स र एमटेक इन आईटी कार्यक्रम सञ्चालन भइरहेको उनले बताए।

विश्वविद्यालयले आगामी शैक्षिक सत्रबाट स्नातकोत्तरमा सिभिल इन्जिनियरिङका कन्स्ट्रक्सन म्यानेजमेन्ट र उर्वन प्लानिङ त्यसैगरी स्नातकमा जिओम्याट्रिक इन्जिनियरिङ र बिटेक इन एलएलबी जस्ता कार्यक्रम सञ्चालन गरिने उद्देश्य रहेको बताए । कुलसचिव रेगबहादुर भण्डारीले लुम्बिनी प्रदेश सरकारको गौरवको योजनाका रूपमा विश्वविद्यालय स्थापना भएको बताउँदै तेस्रो वर्ष पूरा गर्नु केवल उत्सवका लागि मात्रै नभएर सबैको सामूहिक प्रयास, समर्पण र दूरदृष्टिको उत्सव भएको बताए ।

विश्वविद्यालय लुम्बिनी प्रदेशको शैक्षिक र प्राविधिक विकासको आधारस्तम्भका रूपमा उभिएको भन्दै यो सबैको गर्वको विषय भएको बताए ।
उनले विश्वविद्यालयले सञ्चालन गरेका शैक्षिक कार्यक्रमहरुले विद्यार्थीहरुलाई आधुनिक ज्ञान, सीप र नवप्रवर्तनको अवसर प्रदान गरिरहेको बताए । विश्वविद्यालयको लक्ष्य केवल डिग्री प्रदान गर्नु मात्र नभएर विद्यार्थीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउनु, दिगो विकासमा योगदान दिन सक्षम बनाउनु र लुम्बिनी प्रदेशको समृद्धिको आधार तयार गर्नु रहेको बताए ।

उनले विश्वविद्यालय शिक्षालाई सीप, सीपलाई रोजगारी र रोजगारीलाई व्यवसाय र अर्थतन्त्रसँग जोड्ने लक्ष्य लिइएको पनि उल्लेख गरे ।
२०८० साल मङ्सिर १३ गते पहिलो अभिमुखीकरण कार्यक्रम गरेर स्नातक तहको पढाइ सञ्चालन गरेको विश्वविद्यालयले हाल स्नातक तहमा चार वटा र स्नातकोत्तर तहमा भर्खरै मात्र दुई वटा कार्यक्रम सञ्चालन गरेको छ ।

विश्वविद्यालयमा हाल दुई सयबढी विद्यार्थी अध्ययनरत छन् । कार्यक्रमलाई प्रदेश सभा सदस्यहरु रत्न खत्री, चन्द्रकेश गुप्ता, वादशाह कुर्मी लगायतले सम्बोधन गरेका थिए । विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न जातजातिका कला, भेषभूषा झल्कने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । उनीहरुले विभिन्न नृत्यका साथै आआफ्ना कलासमेत प्रस्तुत गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार १९ गते बिहीबार