कोहलपुरको एसईई परीक्षाफलः ६ संस्थागत विद्यालयको शतप्रतिशत नतिजा



कोहलपुर (बाँके) ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा कोहलपुर नगरपालिकाका ५६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । शिक्षा तथा समन्वय इकाई बाँकेका अनुसार परीक्षामा कूल ५६.१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका हुन् । परीक्षामा कोहलपुर नगरपालिकाबाट सामुदायिक र संस्थागत विद्यालय गरी कूल १ हजार नौ सय ६४ परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये कूल १ हजार दुई सय ७८ जना उत्तीर्ण भएका छन् भने ६८६ जना परीक्षार्थीको परीक्षाफल अवर्गीकृत (नन ग्रेड) छ ।

नगरपालिकामा १४ जनाले २.०–२.४ जिपिए, १५४ जनाले २.४–२.८ जिपिए, ३६८ जनाले २.८–३.२ जिपिए, ४७६ जनाले ३.२–३.६ जिपिए र २६६ जनाले ३.६–४.० जिपिए ल्याएका छन् । कोहलपुरमा संस्थागततर्फ ९३.५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । परीक्षामा कूल सहभागिमध्ये संस्थागत विद्यालयका ८६४ जना परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये ८०८ जना उत्तीर्ण भएका छन् भने संस्थागततर्फ ५६ जनाको परीक्षाफल अवर्गीकृत (नन ग्रेड) रहेको इकाईले जनाएको छ ।

कोहलपुर नगरपालिकामा रहेका संस्थागत विद्यालयबाट परीक्षामा सहभागिता जनाएका २ जनाले २.०–२.४ जिपिए, १९ जनाले २.४–२.८ जिपिए, १७२ जनाले २.८–३.२ जिपिए, ३८३ जनाले ३.२–३.६ जिपिए र २३२ जनाले ३.६–४.० जिपिए ल्याएका छन् । परीक्षामा संस्थागततर्फ ६ विद्यालयले शतप्रतिशत नतिजा ल्याएका छन् । परीक्षामा सहभागिता जनाएका २५ संस्थागत विद्यालयमध्ये गोर्खा युनाइटेड पब्लिक स्कुल, जनज्योति पब्लिक हाई स्कुल, वेष्टर्न इङलिस मेडियम सेकेण्डरी स्कुल रझेना, नमुना विद्या सदन, साइनिङ स्टार इङलिस मेडियम स्कुल र जीवन ज्योति माध्यमिक विद्यालयले शतप्रतिशत नतिजा ल्याएका हुन् ।

सामुदायिकतर्फ ज्ञानज्योति मावि सर्वोत्कृष्ट

सामुदायिकतर्फ ज्ञानज्योति माध्यमिक विद्यालय चप्परगौडी उत्कृष्ट भएको छ । परीक्षामा सहभागी १४ वटा मावि विद्यालयमध्ये सबैभन्दा धेरै ७०.९ प्रतिशत नतिजा ल्याउँदै ज्ञानज्योति मावि नगरपालिकाकै उत्कृष्ट हुन सफल भएको हो । उक्त विद्यालयबाट परीक्षामा सहभागिता जनाएका ८६ जनामध्ये ६१ जना उत्तीर्ण भएका छन् भने २५ जनाको नतिजा अवर्गीकृत (नन ग्रेड) रहेको छ ।

उक्त विद्यालयका १ जनाले २.०–२.४ जिपिए, १९ जनाले २.४–२.८ जिपिए, २५ जनाले २.८–३.२ जिपिए, १३ जनाले ३.२–३.६ जिपिए र ३ जनाले ३.६–४.० जिपिए ल्याएका छन् । स्कुलकी प्रधानाध्यापक सुमित्रा न्यौपानेका अनुसार उक्त विद्यालयका राधा खड्काले ३.७१, सपना मल्लले ३.६७ र दीक्षा वयकले ३.६३ जिपिए प्राप्त गरेका छन् । तीनैजनालाई विद्यालयले सम्मान गरेको न्यौपानले बताइन् । बालशिक्षा मावि भरैया ६५.२ प्रतिशतसहित सामुदायिकतर्फ दोस्रो स्थान हासिल गर्न सफल भएको छ ।

यस्तै लक्ष्मी मावि बर्दहवा प्राविधिक धारतर्फ ६१.८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । कृष्ण मावि कौशिलानगरका ५९ प्रतिशत, त्रिभुवन मावि कोहलपुर ४८.१ प्रतिशत, जनता मावि मैटहवाका ४७.१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको जनाइएको छ । यस्तै सगरमाथा ज्ञानपुञ्जका ४४ प्रतिशत, नेरा मावि खड्कवारका ४१.२ प्रतिशत, राम मावि बैजनाथपुरका ३२.७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको जनाइएको छ ।

जन ज्ञानज्योति मावि कौशिलानगरका २२.८ प्रतिशत, लक्ष्मी मावि बर्दहवाका २०.२ प्रतिशत र सरस्वती मावि पिपिरीका १९.१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । कोहलपुर नगरपालिकाअन्तर्गत रहेका सामुदायिक विद्यालयबाट सहभागीमध्ये कूल ४२.७ प्रतिशत परीक्षार्थी पास भएको शिक्षा तथा समन्वय इकाई बाँकेले जनाएको छ । एसईईमा कोहलपुरबाट सामुदायिकतर्फ १ हजार १ सय परीक्षार्थी सहभागी थिए ।

तीमध्ये ४७० जना उत्तीर्ण भएका छन् । ६३० परीक्षार्थीको नतिजा अवर्गीकृत (नन ग्रेड) रहेको छ । सामुदायिक विद्यालयबाट परीक्षामा सहभागिता जनाएका १२ जनाले २.०–२.४ जिपिए, १३५ जनाले २.४–२.८ जिपिए, १९६ जनाले २.८–३.२ जिपिए, ९३ जनाले ३.२–३.६ जिपिए र ३४ जनाले ३.६–४.० जिपिए ल्याएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार १९ गते बिहीबार