बर्दियाका ५६ प्रतिशत परीक्षार्थी उत्तीर्ण



कोहलपुर (बाँके) ।

माध्यमिक शिक्षा परीक्षा ‐एसईई) २०८१ मा बर्दियाका ५६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । सार्वजनिक नतिजाअनुसार बर्दियाबाट एसईई परीक्षामा सहभागी भएकामध्ये कूल ५६.६६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका हुन् । शिक्षा विकास तथा समन्वय इकाई बर्दियाका अनुसार बर्दियाबाट कूल ५ हजार चारसय २४ जना एसईई परीक्षामा सहभागी भएका थिए । तीमध्ये ३ हजार ७३ जना उत्तीर्ण भएका हुन् । परीक्षामा सहभागी भएकामध्ये २ हजार तीनसय ५१ जना अनुत्तीर्ण भएका हुन् ।

शिक्षा विकास तथा समन्वय इकाई बर्दियाले नियमिततर्फ (साधारण तथा प्राविधिक धारसहित) माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को पालिकागत नतिजासमेत सार्वजनिक गरेको छ । जिल्लामा रहेका आठ स्थानीय तहमध्ये सबैभन्दा धेरै ठाकुरबाबा नगरपालिकाका परीक्षार्थी उत्तीर्ण भएको इकाईले जनाएको छ । ठाकुरबाबा नगरपालिकाबाट एसईईमा सहभागिता जनाएका ५ सय ७७ जनामध्ये ४ सय १६ जना उत्तीर्ण भएका छन् । जुन बर्दियाका आठवटै पालिकामध्ये सबैभन्दा धेरै ७२.९ प्रतिशत हो । यस्तै राजापुर नगरपालिकाबाट ६७.२ प्रतिशत पास भएका छन् ।

राजापुरबाट परीक्षामा सहभागी ५ सय ५५ जनामध्ये ३ सय ७२ जना पास भएको इकाईले जनाएको छ । जिल्लाको गेरुवा गाउँपालिका तेस्रो नम्बरमा छ । गेरुवाका ६६.४४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । गेरुवा गाउँपालिकाबाट सहभागि भएका ४ सय ५० जनामध्ये २ सय ९९ जना पास भएका हुन् । यस्तै बाँसगढी नगरपालिकाका ५८.९३ प्रतिशत परीक्षार्थी पास भएको इकाईले सार्वजनिक गरेको नतिजामा उल्लेख छ ।

बाँसगढीबाट परीक्षामा सहभागी ९ सय ४० मध्ये ५ सय ५४ जना पास भएका छन् । २०८१ को एसईई परीक्षामा बारबर्दिया नगरपालिकाका जिल्लामै सबैभन्दा धेरै ९ सय ५९ जना सहभागी थिए । तीमध्ये ५ सय १७ जना उत्तीर्ण भएको इकाईले जनाएको छ । बारबर्दिया कूल ५३.९९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका हुन् । बढैयाताल गाउँपालिकाका कूल ४७.५४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बढैयातालबाट सहभागी ६ सय १२ जनामध्ये २ सय ९१ जना मात्रै उत्तीर्ण भएका छन् ।

मधुवन नगरपालिकाका कूल ६ सय ७६ जना सहभागीमध्ये ३ सय १४ जना उत्तीर्ण भएका छन् । मधुवनबाट कूल ४७.७ प्रतिशत परिक्षार्थी उत्तीर्ण भएको जनाइएको छ । यस्तै गुलरिया नगरपालिकाबाट ४६.६८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । गुलरियाबाट परीक्षामा सहभागी ६ सय ६४ जनामध्ये ३ सय १० जना मात्रै पास भएका हुन् । जुन जिल्लाकै सबैभन्दा कम उत्तीर्ण प्रतिशत हो ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार १८ गते बुधबार