काठमाडौँ ।
कर्णाली याक्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि रिटेन गरिएका खेलाडीको सुची सार्वजनिक गरेको छ । कर्णालीले मंगलबार रिटेन्सन लिस्ट सार्वजनिक गरेको हो । रिटेन गरिएका खेलाडीहरूमा मार्की सोमपाल कामीसहित गुल्शन झा, नन्दन यादव, अर्जुन घर्ती, दिपेन्द्र रावत, बिपिन प्रसाद शर्मा र युनिशविक्रमसिंह ठकुरी छन् ।
टोलीले देव खनाल, भुवन कार्की, मौसम ढकाल, रित गौतम र दीपक डुम्रेलाई रिलिज गरेको छ । उनीहरूलाई पनि टिममै राख्ने चाहना भएपनि प्रतियोगिताको नियमावलीका कारण बिदाई गर्नुपरेको क्लबले जनाएको छ ।
यसअघि सोमबार अघिल्लो सिजनका मार्की तथा कप्तान सोमपाल कामीलाई मार्कीमा नै निरन्तरता दिइने क्लबले घोषणा गरेको थियो । नेपाली क्रिकेट टोलीका सबैभन्दा अनुभवी खेलाडी रहेका सोमपाल नेपालका लागि दुवै टी–२० विश्वकप खेल्ने एक मात्र खेलाडी हुन् । पहिलो सिजन सोमपालकै कप्तानीमा कर्णाली याक्सले प्लेअफ खेलेको थियो । उनले गत सिजन ९ खेलमा ९ विकेट लिएका थिए ।
कर्णालीले पहिलो सिजन भारतीय राष्ट्रिय टोलीका चर्चित पूर्वओपनर शिखर धवनलाई अनुबन्ध गरेको थियो । कर्णाली याक्स स्पोट्र्स प्रालिका निर्देशक गृहेन्द्र घिमिरेले यस सिजन पनि स्टार खेलाडी अनुबन्ध गरेर टिमलाई थप बलियो बनाउने तथा पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने योजना सुनाएका छन् ।
‘पहिलो संस्करण शिखर धवनको आगमनसँगै टिम निकै बलियो भयो । नेपाली क्रिकेटको चर्चा पनि उस्तै भयो । यसपटक पनि हामी चर्चित खेलाडी अनुबन्ध गर्दै देशको पर्यटक प्रवद्र्धन गर्न र क्रिकेट विकासमा महत्वपूर्ण भुमिका खेल्छौँ,’ उनले भने ।
एनपीएलको दोस्रो सिजनका लागि हरेक टोलीले मार्कीबाहेक ६ खेलाडी रिटेन गर्न पाउने छन् भने मार्की खेलाडी स्वतः रिटेन हुनेछन् । यसअघि चितवन राइनोज, लुम्बिनी लायन्स, काठमाडौँ गोर्खाज, पोखरा एभेन्जर्सले आ–आफ्ना रिटेन्सन लिस्ट सार्वजिक गरिसकेका छन् । एनपीएलको दोस्रो सिजनका लागि आउँदो अगस्टमा मिनी अक्सन हुने तय छ ।









प्रतिक्रिया दिनुहोस्