कर्णाली याक्सको मार्कीमा सोमपालको निरन्तरता



काठमाडौँ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी पस बलिङ अलराउण्डर सोमपाल कामीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट कर्णाली याक्सबाटै खेल्ने भएका छन् । कर्णालीले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै सोमपाललाई मार्कीमा निरन्तरता दिने जनाएको हो । बाँकी ६ खेलाडीबारे भने मंगलबार सार्वजिनक गरिने जनाइएको छ ।

‘सोमपाल कामी निकै क्षमतावान खेलाडी हुन् । त्यसैले दोस्रो संस्करणको लागि निरन्तरता दिने भएको छौँ । उनीमाथि टिमको विश्वास छ,’ टिमका सहमालिक गृहेन्द्र घिमिरेले भनेका छन् । उनी अघिल्लो सिजनका मार्की तथा कप्तान हुन् । उनी नेपाली क्रिकेट टोलीका सबैभन्दा अनुभवी खेलाडी हुन् । नेपालका लागि दुवै टी–२० विश्वकप खेल्ने एक मात्र खेलाडी हुन् ।

पहिलो सिजन सोमपालकै कप्तानीमा कर्णाली याक्सले प्लेअफ खेलेको थियो । उनले गत सिजन ९ खेलमा ९ विकेट लिएका थिए । कर्णालीले पहिलो सिजन भारतीय राष्ट्रिय टोलीका चर्चित पूर्वओपनर शिखर धवनलाई अनुबन्ध गरेको थियो । सहमालिक घिमिरेले यस सिजन पनि स्टार खेलाडी अनुबन्ध गरेर टिमलाई थप बलियो बनाउने तथा पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने योजना सुनाएका छन् ।

‘पहिलो संस्करण शिखर धवनको आगमनसँगै टिम निकै बलियो भयो । नेपाली क्रिकेटको चर्चा पनि उस्तै भयो । यसपटक पनि हामी चर्चित खेलाडी अनुबन्ध गर्दै देशको पर्यटक प्रवद्र्धन गर्न र क्रिकेट विकासमा महत्वपूर्ण भुमिका खेल्छौँ,’ उनले भने । एनपीएलको दोस्रो सिजनका लागि हरेक टोलीले मार्कीबाहेक ६ खेलाडी रिटेन गर्न पाउने छन् भने मार्की खेलाडी स्वतः रिटेन हुनेछन् ।

यसअघि चितवन राइनोज, लुम्बिनी लायन्स, काठमाडौँ गोर्खाज, पोखरा एभेन्जर्सले आ–आफ्ना रिटेन्सन लिस्ट सार्वजिक गरिसकेका छन् । एनपीएलको दोस्रो सिजनका लागि आउँदो अगस्टमा मिनी अक्सन हुने तय छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार १७ गते मंगलबार