प्रचण्ड खत्री । रूकुम पश्चिम ।
असार १५ अर्थात् धान दिवस । देशका विभिन्न स्थानहरूमा विशेष कार्यक्रमका साथ धान दिवस मनाउने गरिन्छ । यस अवसरमा रूकुम पश्चिममा पनि आइतबार २२औँ राष्ट्रिय धान दिवस मनाइएको छ । कृषि विकास कार्यालयको आयोजनामा मुसिकोट नगरपालिका ३ को माछिमीमा विविध कार्यक्रम गरी धान दिवस मनाइएको छ भने पालिकास्तरमा पनि दिवस मनाइएको छ ।
यस अवसरमा धान रोपाइँ, दही चिउरा खाने कार्यक्रम, रस्साकस्सी प्रतियोगितासमेत गरिएको कृषि विकास कार्यालय रूकुम पश्चिमका कार्यालय प्रमुख भरतबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरू, जिल्लाका विभिन्न कार्यालयका प्रमुखहरू, कर्मचारीहरू, किसानहरूको उपस्थितिमा धान दिवस मनाइएको हो । माछिमीमा मनाइएको धान दिवस कार्यक्रममा एक लाख ६० हजार रूपैयाँ खर्च भएको बस्नेतले जानकारी दिए । सामान्य खालका टिसर्ट छपाई र खाजा नास्तामा उक्त रकम खर्च भएको हो ।
गत वर्ष जस्तो उत्कृष्ट किसान छनौट तथा पुरस्कृत कार्यक्रम यस वर्षको धान दिवसमा गरिएन । कृषि विकास कार्यालयका अनुसार असार १५ सम्म जिल्लामा ६५ प्रतिशत क्षेत्रमा धान रोपाइँ गरिएको छ । मध्य असारसम्म भएको धान रोपाइँ गत वर्षको तुलनामा ५ प्रतिशत बढी हो । कार्यालयको तथ्यांकअनुसार जिल्लाभर करिब तीन हजार ४८ हेक्टर क्षेत्रमा धान रोपाइँ हुने गरेको छ भने एक लाख २९ हजार मेट्रिकटन धान उत्पादन हुने गरेको छ ।
किसानलाई मलकै अभाव
असार महिनालाई किसानले मानो रोपर मुरी उब्जाउने समयका रूपमा लिन्छन् । बीउ राख्नेदेखि धान रोप्ने अवस्थासम्म भने यहाँका किसानले सहजै रासायनिक मल पाउन नसकेको बताएका छन् । उनीहरूले पाए पनि महंगो दरमा मात्र पाउने गरेको बताएका छन् । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का जिल्ला अध्यक्ष तेजबहादुर बटालाले कतिपय किसानले मलबिनै रोपाइँ गर्नुपर्ने अवस्था रहेको बताए ।
ग्रामीणका किसानले सहजै र पर्याप्त मल पाउने अवस्था नरहेको उनको भनाइ छ । सहकारीमार्फत वितरण गरिएको मल सहकारीमा आबद्ध किसान बाहेकले पाउन मुश्किल रहेको बटालाले उल्लेख गरे । यसका लागि मल वितरण गर्न चाहने सहकारीलाई स्थानीय सरकारले अनुमति दिनुपर्ने र मल वितरणको डिपोहरू राख्न आवश्यक रहेको अध्यक्ष बटालाले जनाए । मल वितरणको जिम्मा पाएको कृषि सामाग्री संस्थानले मलको मात्रा नै पु¥याउन नसकेको र साल्ट्र टे«डिङमार्फत वितरण भएको मल गुणस्तरको नभएको भन्दै किसानहरूले गुनासो गरेको उनले बताए ।
नेपाल किसान महासंघ रूकुम पश्चिमका अध्यक्ष गणेशकुमार शर्माले पनि किसानले समयमै र सहजै मल पाउन नसकेको बताए । हरेक वर्षझैँ यस वर्ष पनि युरिया मलको अभाव रहेको उनले जानकारी दिए । किसानहरूको समस्याको बारेमा सरोकारवाला निकायहरू गम्भीर हुनुपर्ने अध्यक्ष शर्माको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्