कटान रोक्न राप्ती नदीमा बाँसको तटबन्ध



कोहलपुर (बाँके) ।

बाँकेको राप्ती सोनारी गाउँपालिकास्थित राप्ती नदी क्षेत्रमा बाढीका कारण हुने डुवान र कटानबाट हुने क्षति रोक्न आपतकालीन तटबन्ध निर्माणको काम सुरु गरिएको छ । बर्सेनी बर्खायाममा हुने बाढी र डुवानका कारण तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई हुने सास्ती रोक्नका लागि आपतकालीन बाँसको तटबन्ध निर्माण कार्य थालिएको हो । पश्चिम राप्ती नदीको कटानबाट उच्च जोखिममा रहेको राप्ती सोनारी– ७ खल्ला झगडियामा आपतकालीन तटबन्ध निर्माण कार्य असार १२ गतेबाट सुरु गरिएको थियो ।

खासगरी राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ को पिप्रहवा, खल्ला झगडिया र नरैनापुर गाउँपालिका वडा नम्बर ६ को सोनवर्षा लगायतका गाउँहरूमा राप्ती नदीको कटानले बढी मात्रामा प्रभावित गर्दै आएको छ । २०७९ असोजमा राप्ती नदीमा आएको बाढीबाट राप्ती नदी क्षेत्रमा ठूलो क्षति भएको थियो । बर्सेनी आउने बाढीबाट राप्ती सोनारी र नरैनापुर क्षेत्रका दुई दर्जन बढी गाउँ प्रभावित हुने गरेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, जलस्रोत तथा सिँचाइ विभागअन्तर्गत जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय लमही दाङको अगुवाइमा ‘बाँस पिलिङ र आरसीसी पोक्र्युपिन काम’ भइरहेको हो । आयोजना प्रमुख डा.नारायणप्रसाद सुवेदीका अनुसार आपत्कालीन बाढीविरुद्ध लड्ने कार्यअन्तर्गत अस्थायी संरचना निर्माणको कार्य भइरहेको छ । संघीय सरकारको बजेटमा ठेक्का प्रक्रियामार्फत फिल्डस्तरमै खटिएर काम गरिरहेको उनले बताए ।

बर्खायाम सुरु हुन लागेकोले आपतकालीन रूपमा क्षति रोक्नको लागि बेम्बोपाइपिङ प्रविधिबाट तटबन्ध निर्माण भइरहेको प्रमुख सुवेदीको भनाइ छ । ‘हामी एक सातादेखि खल्ला झगडियामा काम गरिरहेका छौँ । ठेकदारसमेत हामीसँगै हुनुहुन्छ । अस्थायी रूपमा क्षति रोक्नको लागि इन्जिनियरसहितको टोली यहाँ खटिएको छ । क्षति परिणाम कम गर्र्ने तत्कालको उद्देश्य रहेको छ,’ उनले भने । चारसय ५० मिटर पक्की तटबन्ध निर्माण हुने उनले बताए ।

निर्माण हुन लागेको तटबन्धमा बेस ३० मिटर, उचाइ ६ मिटर र टपमा ५ मिटर चौडाइ हुने उनको भनाइ थियो । तर, आपतकालीन नदी नियन्त्रण तथा व्यवस्थापनको कामअन्तर्गत अस्थायी तटबन्धको निर्माणको काम भइरहेको छ । उक्त क्षेत्रमा पक्की तटबन्ध निर्माणको लागि जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालयले ठेक्का आह्वान गरेको थियो । उक्त क्षेत्रमा पक्की तटबन्ध निर्माणको जिम्मा शाही माँ दुर्गा भेन्सी जेभीले लिएको छ । उक्त कम्पनीले २०८३ सालभित्र काम सम्पन्न गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

ठेकदारसहित आफूहरूले युद्धस्तरमा काम गरिरहेको आयोजनाले जनाएको छ । ‘अर्को वर्ष स्थायी तटबन्ध बनाउने योजना छ । अहिले अस्थायी तटबन्ध निर्माण भइरहेको छ । अठार महिनासम्मको सम्झौता छ । सोही अवधिमा काम सम्पन्न हुन्छ,’ सुवेदीले मिसन टुडेसँग भने । आयोजनाका इन्जिनियर रामदिन चौधरीले कूल ६ करोड बजेटमा काम सम्पन्न हुने बताए । उनका अनुसार ठेक्का प्रक्रियामार्फत काम भइरहेको छ । बर्खायाम सुरु भइसकेकोले अस्थायी रूपमा संरचना निर्माण भइरहेको उनको भनाइ छ ।

‘नदी क्षेत्रमा पक्की संरचना पनि बनेका छन् । ती संरचना बचाउनको लागि पनि अस्थायी रूपमा बाँसका तटबन्ध निर्माण भइरहेको हो । हामी अहिले पनि फिल्डस्तरमै छौँ,’ उनले भने । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहका अनुसार बर्खामा हुने क्षति रोक्नको लागि काम भइरहेको छ । बर्खायाम सुरु भइसकेकोले आयोजनाले अहिले गरेको कामले जनतामा राहत मिल्ने विश्वास व्यक्त गरिएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ असार १७ गते मंगलबार