आइतबार साँझदेखि परेको भारी वर्षाका कारण कैलालीको धनगढी कञ्चनपुरका महेन्द्रनगर, पुनर्बास, कृष्णपुर लगायतका स्थान सोमबार दिनभरसमेत जलमग्न भएका थिए । जल तथा मौसम विज्ञान विभागका अनुसार कञ्चनपुरको बेलौरी र कैलालीको धनगढीमा अति भारी वर्षा भएको थियो । विभागका अनुसार बेलौरीमा पछिल्लो २४ घण्टाको अवधिमा २ सय ६७ मिलिमिटर र धनगढी एयरपोर्ट आसपास २ सय २ दशमलव २ मिलिमिटर वर्षा मापन भएको थियो ।

कैलाली ।
वर्षासँगै बाढी र डुवानका कारण कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रको जनजीवन प्रभावित भएको छ । आइतबार साँझदेखि परेको भारी वर्षाका कारण कैलालीको धनगढी कञ्चनपुरका महेन्द्रनगर, पुनर्बास, कृष्णपुर लगायतका स्थान सोमबार दिनभरसमेत जलमग्न भएका थिए ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कञ्चनपुरको बेलौरी र कैलालीको धनगढीमा अति भारी वर्षा भएको थियो ।
विभागका अनुसार बेलौरीमा पछिल्लो २४ घण्टाको अवधिमा २ सय ६७ मिलिमिटर र धनगढी एयरपोर्ट आसपास २ सय २ दशमलव २ मिलिमिटर वर्षा मापन भएको थियो । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा अविरल वर्षापछि घर डुबानमा परेर फसेका आठ जना बढीलाई सुरक्षाकर्मीले उद्धार गरेका थिए । धनगढी उपमहानगरपालिका–७ को बेली गाउँका चार जना र धनगढी–१३ को श्रीलंकाका चार जना गरी आठ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

धनगढी नगरका अन्य स्थानबाटसमेत सुरक्षाकर्मीहरूले केही मानिसहरूको उद्धार गरेका थिए । जिल्ला प्रहरी कार्यालयका कैलालीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले बेलीका सिताराम रानाको एक तले कच्ची घर डुबानमा परेपछि उनीसहित परिवारका चार जनालाई उद्धार गरेर नजिकै रहेका आफन्तको घरमा सारिएको बताए । उनका अनुसार धनगढी–१३ श्रीलंकाका भागीराम चौधरीका परिवारका चार जनाको उद्धार गरेर स्थानीय नवज्योति आधारभूत विद्यालयमा राखिएको छ ।
मुख्यगरी धनगढीको विशालनगर, मिलनचोक, शिवनगर, हसनपुर, क्याम्पस रोड, मालिका टोल, कृष्णनगर, पुरानो भन्सार कटान गाउँको दक्षिणपट्टिको बस्तीलगायत आसपासका स्थानहरू जलमग्न भएका छन् । त्यसैगरी, अधिकांश पसल पनि डुबानमा परेका छन् । भारी वर्षाले सडक तथा नाली पूरै भरिएर सडकमा हिँड्न सर्वसाधारणलाई समस्या भएको थियो । अव्यवस्थित तथा पुराना नालीका कारण तथा अलि बढी पानी परेपछि निकासा हुन नसक्दा हरेक वर्ष वर्षातमा यस्तो अवस्था सिर्जना हुने गरेको छ ।
पानी निकासा हुने पुराना खोलानालाहरू अतिक्रमण भएका कारण पनि वर्षैपिच्छे यहाँका बस्तीहरू डुबानमा पर्ने गरेको स्थानीयवासीको भनाइ छ । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार लगातारको वर्षाका कारण धनगढी उपमहानगरपालिका क्षेत्रका झन्डै एक हजार बढी घरमा पानी पसेको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले धनगढी उपमहानगरपालिका–१, २, ३,४,५,७,८ र १० नम्बर वडा वर्षाका कारण प्रभावित भएको जानकारी दिए ।

करिब एक हजार घरधुरीमा पानी पसेपनि अहिलेसम्म क्षति नभएको उनले बताए । धनगढी लगायतका क्षेत्रका आइतबार साँझदेखि निरन्तर भइरहेको वर्षा सोमबार रातिसम्मै जारी रहेको थियो । वडा नम्बर ८ र १२ लगायतका क्षेत्रका घरहरूमा पानी पसेर लाखौँको क्षति भएको छ, जसमा फर्निचर र खाद्यान्न लगायतका सामग्रीहरूमा क्षति पुगेको छ । यस्तै अति भारी वर्षासँगै कञ्चनपुरका पुनर्बास, कृष्णपुर लगायतका स्थानका केही घरमा बाढी पसेको छ ।
बाढीले डुबानमा परेपछि कृष्णपुर–५ पवित्रबस्तीको आरती विकको घरका चार जना र अन्य ४ जना गरेर प्रहरीले ८ जनाको उद्धार गरेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए । यसैगरी पुनर्बासमा एउटा घर तथा बेदकोट र भिमदत्तको सिमानामा पाँच वटा घरमा पनि बाढी पसेको छ । तर मानवीय र ठूलो भौतिक क्षति भने नभएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।
सुदूरपश्चिमका तराईका जिल्लाहरूमा डुबानको समस्या छ भने, सुरक्षाकर्मीहरूले उद्धार कार्य गरिरहेका छन् र प्रशासनले सावधानी अपनाउन आग्रह गरेको छ । सेती नदीमा पानीको वहाव बढेपछि बैतडीको सिगास– ५ ढुङ्गाढका स्थानीय त्रसित छन् । खोला तथा नदीहरूमा पानीको बहाव बढेपछि डुबान भएको छ ।
अहिलेसम्म ठूलो क्षतिको घटना भने नआएको सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको छ । विपदको समयमा सावधानी र सुरक्षा अपनाउन प्रशासन सबैलाई आग्रह गरेको छ । अझै जोखिम कायमै भएकाले सावधानी अपनाउन विभागले सबैमा आग्रह गरेको छ ।









प्रतिक्रिया दिनुहोस्