१० किलोमिटर रोड रेसमा आर्मी क्लबका श्रेष्ठ र सार्की प्रथम



दाङ ।

दाङको घोराहीमा पहिलोपटक आयोजना गरिएको १० किलोमिटर खुला रोड रेस प्रतियोगितामा पुरुष र महिलातर्फ दुवै विजेता त्रिभुवन आर्मी क्लबका खेलाडी बनेका छन् । प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा सम्पन्न ‘लुम्बिनी राष्ट्रिय खुला पुरुष–महिला १० किलोमिटर रोड रेस प्रतियोगिता’मा पुरुषतर्फ आर्मीका सञ्जय श्रेष्ठ र महिलातर्फ निशा सार्की प्रथम भएका हुन् ।

श्रेष्ठले निर्धारित दूरी ३१ मिनेट ३० सेकेन्डमा र सार्कीले ३७ मिनेट ४० सेकेन्डमा पार गरेका थिए । पुरुषतर्फ आर्मीका नै नरेन्द्र रावतले ३१ मिनेट ३९ सेकेन्डमा दूरी पार गर्दै दोस्रो स्थान प्राप्त गरे भने नेपाल प्रहरीका नागेश्वर अहिर तेस्रो (३१ मिनेट ४५ सेकेन्ड), आर्मीका विनोद रोकाया चौथो (३१ मिनेट ५१ सेकेन्ड) र एपीएफका रूपेश कार्की पाँचौँ (३१ मिनेट ५५ सेकेन्ड) स्थानमा रहेका थिए ।

त्यस्तै, आर्मीका सुशील कुमार शाही छैटौँ, करण रावल सातौँ, कपिलवस्तुका अजय पाँडे क्षेत्री आठौँ, सल्यानका बबिन योगी नवौँ र रोल्पाका झरमान पुन दशौँ स्थानमा रहे । महिलातर्फ एपीएफकी पुष्पा भण्डारीले ३८ मिनेट १९ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो स्थान प्राप्त गरे । एपीएफकै दीपा परियार तेस्रो (३९ मिनेट २१ सेकेन्ड), नेपाल प्रहरीकी सुमित्रा कुमारी चौधरी चौथो (४० मिनेट १७ सेकेन्ड), आर्मीकी पुष्पा कठायत पाँचौँ (४३ मिनेट ३६ सेकेन्ड) स्थानमा रहे ।

बाँकेकी दीपशिखा शाही छैटौँ, स्वस्तिका शाही सातौँ, दाङकी निरमाया चौधरी आठौँ, उर्मिला घर्तीमगर नवौँ र रूकुम पश्चिमकी कमला वली दशौँ स्थानमा रहे । प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्यसचिव तिरनदाज गौतमका अनुसार प्रथम हुने महिला तथा पुरुष खेलाडीलाई जनही ५०–५० हजार रूपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ । दोस्रो हुनेलाई जनही ३० हजार, तेस्रोलाई २० हजार, चौथोलाई १५ हजार र पाँचौँ हुनेलाई जनही १० हजार रूपैयाँ पुरस्कार दिइएको छ ।

त्यसैगरी, छैटौँदेखि दशौँ स्थानमा आउने खेलाडीहरूलाई हौसलास्वरूप जनही ५–५ हजार रूपैयाँ प्रदान गरिएको सदस्यसचिव गौतमले जानकारी दिए । घोराहीको विद्युत् कार्यालयदेखि वडा नं. ६ को फचकपुरसम्मको रुट तय गरिएको प्रतियोगितामा विभागीय टिमसहित देशभरिबाट पाँच सय पचासभन्दा बढी धावकहरूको सहभागिता रहेको थियो । खेलकुदको विकाससँगै प्रदेशमा दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको गौतमले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार १६ गते सोमबार