दैलेख ।
जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले जम्बुकाँध स्वास्थ्य चौकीलाई किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा प्रमाणित संस्थाको रूपमा घोषणा गरेको छ । किशोरकिशोरीहरूको स्वास्थ्य र हित प्रवद्र्धन गर्ने उद्देश्यले नगरस्तरीय स्वास्थ्य चौकीलाई किशोरकिशोरीमैत्री घोषणात्मक कार्यक्रम सुरु भएको हो । स्वास्थ्य चौकीमा किशोरकिशोरीमैत्री सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति, गोपनीयता, पहुँच र सम्वेदनशीलताको आधारमा सो घोषणा गरिएको हो ।
नगरका पदाधिकारी, स्वास्थ्यकर्मी, समुदायका प्रतिनिधि, विकास साझेदारहरू र किशोरकिशोरीहरूको सहभागितामा जम्बुकाँध स्वास्थ्य चौकीलाई घोषणा गरिएको छ । नगर प्रमुख गणेशबहादुर शाहीले चामुण्डाबिन्द्रासैनी नगरपालिका र सोसेक नेपालको निरन्तर प्राविधिक र कार्यक्रमगत सहयोगमा यो उपलब्धी हासिल भएको बताए । उनका अनुसार यस अवसरमा नगरपालिकाले सोसेक नेपाललाई धन्यवादपत्र तथा मायाको चिनो प्रदान गरेको छ ।
यो नगरपालिकाको गौरवको विषय रहेको नगर प्रमुख शाहीको भनाइ छ । किशोरकिशोरीमैत्री सेवा प्रवाहमा लाग्ने सामूहिक प्रतिबद्धता अनुसार प्रतिफल मिलेको उनले बताए । उनले भने, ‘प्रमाणित भएको यो स्वास्थ्य संस्था अब अन्य स्वास्थ्य संस्थाहरूका लागि मोडलको रूपमा स्थापित हुनेछ, जसले किशोरकिशोरीमैत्री सेवा विस्तारमा मार्गदर्शन गर्नेछ ।’









प्रतिक्रिया दिनुहोस्