मानव र वन्यजन्तुको द्वन्द्व रोक्न पोखरी



शिवु खनाल । दाङ ।

लमही नगरपालिका– ९ हर्दवामा सामुदायिक वनले वन्यजन्तुका लागि कृत्रिम पोखरी निर्माण गरेको छ । वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरणका लागि सामुदायिक वनमा पोखरी निर्माण गरिएको हो । वनजंगलमा पानी र आहाराका अभावले वन्यजन्तु मानवबस्तीमा पस्ने र आक्रमण गर्ने भएकाले तिनलाई वनमै रोक्न पोखरी निर्माण कार्यक्रम सञ्चालन गरिएको गुप्ती सामुदायिक वन उपभोक्ता समूहका सचिव अमर कवर (नविन)ले जानकारी दिए ।

उनले सामुदायिक वनको लगानीमा पूर्वपश्चिम महेन्द्र राजमार्गदेखि करिब एक किलोमिटर उत्तरतर्फ रहेको वन क्षेत्रमा कृत्रिम पोखरी निर्माण गरिएको बताए । ‘पानी र आहाराको खोजीमा वन्यजन्तु मानवबस्तीमा आउने गर्छन्,’ उनले भने, ‘यसले मानव—वन्यजन्तु द्वन्द्व बढाइरहेको छ । यसलाई न्यूनीकरण गर्न वनजंगलमै पोखरी निर्माण गरिएको हो ।’ पोखरी निर्माणपछि ती क्षेत्रका वनजंगलमा यसपालि आगलागी कम भएको सामुदायिक वनले जनाएको छ ।

हरियालीमा वृद्धि हुँदा घाँस खाएर बाँच्ने प्रजातिका जनावरको आहारा व्यवस्थापनमा सहज भएको छ । सामुदायिक वनका सचिव नविनले पानीको मुहानको संरक्षण तथा पोखरी निर्माण गरिएपछि वन्यजन्तुलाई जंगलमै रहन सहयोग पुगेकाले द्वन्द्व व्यवस्थापनमा सहज भएको बताए ।
पानीको खोजीमा वन्यजन्तु मानवबस्तीमा आउन थालेपछि द्वन्द्व बढेकाले न्यूनीकरणका लागि पोखरी निर्माण योजना अघि सारिएको र यो कार्य प्रभावकारी बन्दै गएको उनको भनाइ छ ।

उनले भने, ‘जंगलमा पानीको स्रोत संरक्षण तथा पोखरी निर्माण गर्दा वन्यजन्तुलाई पानीको अभाव हुँदैन । पानीका स्रोत तथा मुहान नसुक्ने, जैविक विविधता संरक्षण, जलवायु अनुकूलन तथा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा उल्लेख्य योगदान पुग्ने गरेको छ । यस कारण पोखरी निर्माणलाई अभियानका रूपमा सञ्चालन गरिएको हो ।’ देउखुरी क्षेत्रमा पानीका स्रोत सुकेपछि डिभिजन वन कार्यालय देउखुरीले कृत्रिम पोखरी निर्माण सुरु गरेको छ ।

बढ्दो गर्मीसँगै वन जंगलमा रहेका साना–ठूला जलाशयमा पानीको सतह घटेपछि वन कार्यालयले देउखुरी क्षेत्रमा कृत्रिम पोखरी निर्माणको योजना अगाडि सारेको डिभिजन वन कार्यालय देउखुरीका सिनियर डिभिजनल वन अधिकृत महेन्द्रराज वाग्लेले जानकारी दिए । सामुदायिक वनभित्र पानीको समस्या देखिन थालेपछि कृत्रिम पोखरी बनाई वन्यजन्तुलाई पानी व्यवस्थापन गरिएको वन अधिकृत वाग्लेले बताए ।
वन अधिकृत वाग्लेका अनुसार कतिपय जलाशय त सुख्खा भइसकेका छन् ।

सामुदायिक क्षेत्रमा स्थायी पानीको स्रोत तथा मुहान पर्याप्त नहुँदा गर्मी समयमा वन क्षेत्रमा पानी अभाव हुन थालेको छ । पाटेबाघलगायत सामुदायिक वनमा पाइने वन्यजन्तु चित्तल, जरायो, नीलगाई, चौका, लगुना, चितुवा र हात्तीसहितका अन्य वन्यजन्तु पानीको खोजीमा राप्ती नदीसम्म पुग्ने गरेका छन् । भारतको सोयलवा राष्ट्रिय निकुञ्जसँग सीमा नाका जोडिएको देउखुरीका अधिकांश सामुदायिक वन क्षेत्रमा कृत्रिम पानी पोखरी निर्माण भइसकेका छन् ।

डिभिजन वन कार्यालय देउखुरीले मानव–वन्यजन्तु द्वन्द्व घटाउने उद्देश्यले सुरक्षित वासस्थान, आहारा प्रजातिको व्यवस्थापन गर्ने उद्देश्यले पानीको मुहान तथा सिमसार संरक्षण, वनभित्र संरक्षण पोखरी निर्माण लगायतका काम गरेको छ । आर्थिक वर्ष २०८१–०८२ मा देउखुरी क्षेत्रका विभिन्न सामुदायिक वन क्षेत्रमा पानी मुहान तथा सिमसार क्षेत्रको संरक्षण गरिएको छ । केही सामुदायिक वनमा नयाँ संरक्षण पोखरी निर्माण गरिएको छ । वन्यजन्तुको वासस्थान नासिँदै जाँदा, आहाराको अभाव हुँदा र पानीका मूल सुक्दा वन्यजन्तु मानव बस्तीतर्फ पस्न थालेको विभिन्न अध्ययनले देखाएको छ ।

वन्यजन्तुको सुरक्षित बासस्थान, आहारा र पानीको स्रोत सुनिश्चित गर्न प्रदेश सरकारले योजनाबद्ध काम गरिरहेको लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी सुशिल सुबेदीले बताए । उनले भने, ‘पानी खोज्न वन्यजन्तुलाई बस्तीमा जान नपरोस् भनेर पोखरी बनाइएका हुन् ।’ सामुदायिक वनमा वन्यजन्तुलाई लक्षित गरी पोखरी निर्माण गर्न थालिएको हो । मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि डिभिजन वन कार्यालय देउखुरीले अजम्मरी सामुदायिक वन उपभोक्ता समूहको वनक्षेत्रमा पनि वन्यजन्तुलाई लक्षित गरी पोखरी निर्माण गरेको छ ।

डिभिजन वन कार्यालय देउखुरीका वरिष्ठ वन अधिकृत उपेन्द्र अर्यालले पानी र आहाराका लागि मानवबस्तीमा आउने वन्यजन्तुलाई वनमै रोक्नका लागि पोखरी निर्माण कार्यक्रम सञ्चालन गरिएको बताए । ‘पानी र आहाराको खोजीमा वन्यजन्तु मानवबस्तीमा नआउन भनेर जंगलमै पोखरी बनाउन लागिएको हो । वनमै पानी र आहारा भएपछि वन्यजन्तु मानवबस्तीमा नआउने र द्वन्द्व व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा छ,’ वरिष्ठ वन अधिकृत अर्यालले भने । अर्यालले यसअघि वनमा निर्माण गरिएका पोखरी प्रभावकारी भएकाले चालू आर्थिक वर्षमा समेत प्रतिपोखरी रु एक लाख बजेट विनियोजन गरी पोखरी निर्माणलाई निरन्तरता दिइएको बताए ।

अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले वनमा निर्माण गरिएका पोखरीले जैविक विविधता संरक्षण, जलवायु अनुकूलन तथा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका साथै जंगलमा पानीको स्रोत संरक्षण र चिस्यान कायम गराउन सहयोग पुगेको बताए । पछिल्लो समय रतुवा, मृग, बाँदर, चितुवालगायत वन्यजन्तु नजिकको मानव बस्तीमा आएर क्षति पु¥याउन थालेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार १६ गते सोमबार