राजन र सन्तोषी बने ‘टेन के रोड रेस’का च्याम्पियन



काठमाडौँ ।

वीर गणेशमान सिंह फाउन्डेसनअन्तर्गत बीर गणेशमान सिंह स्पोट्र्स कमिटीको आयोजनामा पाँचौँ वीर गणेशमान सिंह १० किलोमिटर रोड रेस शनिबार काठमाडौँमा सम्पन्न भएको छ । पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका राजन रोकायाले ३१ मिनेट २२ सेकेण्डमा दौड पूरा गर्दै उपाधि जिते । उनका सहकर्मी खड्कबहादुर खड्का ३१ मिनेट ५५ सेकेण्डमा दौड समाप्त गर्दै दोस्रो भए भने मुकेश बहादुर पालले ३२ मिनेट १२ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरे ।

बागलुङका तीर्थ पुन चौथो भए भने केन्याका जुलियस मुरीउकीले पाँचौँ स्थान प्राप्त गरे । महिलातर्फ भने राष्ट्रिय कीर्तिमानी धाविका सन्तोषी श्रेष्ठले ३८ मिनेट ३ सेकेण्डमा दौड पूरा गर्दै उपाधि जितिन् । त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपानेले ३९ मिनेट १९ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो स्थान प्राप्त गरिन् भने एपीएफका आशा रावतले ४० मिनेट २७ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरिन् । सोही क्लबकी फूलमति राना ४० मिनेट २७.०१ सेकेण्डमा दौड समाप्त गर्दै चौथो भइन् ।

दौड दरबारमार्गस्थित एडिडास शोरुमबाट बिहान ७ बजे सुरु भई भद्रकाली, रत्नपार्क, जमल, दरबारमार्ग, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, बालुवाटार, नक्शाल, जय नेपाल हल हुँदै पुनः दरबारमार्गमै समाप्त भएको थियो । प्रतियोगितामा विभागीय टिम, संघसंस्था, विद्यालय–कलेज, विदेशी धावकसहित करिब ५५० खेलाडीहरूको सहभागिता रहेको थियो । पुरुष तथा महिला दुवैतर्फ प्रथम स्थान प्राप्त गर्ने खेलाडीले नगद ६० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौँले ५ हजार रूपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगिताको उद्घाटन तथा पुरस्कार वितरण उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले गरेका थिए । आयोजकका अनुसार प्रतियोगितामा करिब १५ लाख रूपैयाँ खर्च भएको छ । दौडको कोर्ष रेकर्ड भने अझै भंग हुन सकेन । महिलातर्फ राजपुरा पछाईको ३६ मिनेट ४३.२ सेकेण्ड र पुरुषतर्फ गोपीचन्द्र पार्कीको ३१ मिनेट ११.४ सेकेण्ड कोर्ष रेकर्ड कायम छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार १५ गते आइतबार