शेरबहादुर ऐर । कैलाली ।
आज असार १५ गते अर्थात् राष्ट्रिय धान दिवस । सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी धान उत्पादकत्व क्षेत्र मानिएको तराईका दुई जिल्लामा यस अवधिमा धान रोपाइँ सन्तोषजनक बन्न पुगेको छैन । विगतका वर्षझैँ यस वर्षपनि कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशमा शनिबारसम्म कूल खेतीयोग्य जमिनमध्ये ४५ प्रतिशतमात्र धान रोपाइँ सम्पन्न भएको कृषि निर्देशनालय दिपायलले जनाएको छ । प्रदेशमा धान रोपाइँ हुने क्षेत्रफल बढ्दै गएको भएपनि सिँचाइ अभाव र समयमै मलखाद तथा बीउ उत्पादन हुन नसक्दा धान रोपाइँ हुने कूल क्षेत्रफलको आधा प्रतिशत पनि रोपाइँ सम्पन्न हुन नसकेको निर्देशनालयले जनाएको हो ।
निर्देशनालयका अनुसार यस आर्थिक वर्षमा सुदूरपश्चिममा तीन लाख ५९ हजार नौ सय ११ हेक्टर कूल खेतीयोग्य क्षेत्रफल रहेको छ । जसमध्ये एक लाख ७६ हजार एक सय ५१ हेक्रमा धान रोपाइँ हुनेछ । सोमध्ये शनिबारसम्म ८० हजार एक सय २८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । जुन कूल क्षेत्रफलको ४५ दशमलव ४९ प्रतिशत हो । गत आर्थिक वर्षमा तीन लाख ४७ हजार ९ सय ५१ खेतीयोग्य जमिन रहेकोमा एक लाख ७४ हजार पाँच सय ७६ हेक्टरमा धान रोपाइँ भएको निर्देशनालयले जनाएको छ । चालू आर्थिक वर्षमा प्रदेशको हिमाली जिल्ला रहेको बझाङमा सबैभन्दा बढी धान रोपाइँ भएको छ ।
सो जिल्लामा ३४ हजार छ सय सात हेक्टरमा खेती गरिँदै आइएकोमा दश हजार तीन सय हेक्टरमा धानखेती गरिँदै आइएको छ । यस अवधिमा सो जिल्लामा सात हजार दुई सय १० हेक्टरमा धान रोपाइँ भइसकेको छ । प्रदेशमा ५० प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न हुनेमा डडेल्धुरा, अछाम र बैतडी रहेका छन् । डडेल्धुरामा ११ हजार छ सय १६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा छ हजार एक सय २० हेक्टरमा धान रोपाइँ हुने निर्देशनालयको तथ्यांकमा रहेको छ । शनिबारसम्म सो जिल्लामा तीन हजार एक सय ८२ हेक्टरमा धान रोपाइँ भएको जनाइएको छ ।
अछाममा ५६ हजार तीन सय ४७ हेक्टर खेतीयोग्य जमिन रहेकोमा १६ हजार पाँच सय ९० हेक्टरमा धान रोपाइँ हुँदै आएको छ । शनिबारसम्म अछाममा १० हजार सात सय ८३ हेक्टरमा धान रोपाइँ सम्पन्न भएको थियो । प्रदेशको पहाडी जिल्ला बैतडीमा ३१ हजार आठ सय ८५ हेक्टर खेतीयोग्य जमिन रहेकोमा नौ हजार हेक्टरमा धान रोपाइँ हुँदै आएको छ । निर्देशनालयको अनुसार शनिबारसम्म सो जिल्लामा पाँच हजार चार सय ९० हेक्टरमा धान रोपाइँ भइसकेको छ ।
सबैभन्दा कम खेतीयोग्य जमिन रहेको डोटी जिल्लामा शनिबारसम्म ३५ प्रतिशतमात्र धान रोपाइँ भएको निर्देशनालयले जनाएको छ । डोटीमा २२ हजार दुई सय ७६ हेक्टर खेतीयोग्य जमिन रहेको छ । जसमा छ हजार चार सय ८६ हेक्टरमा धान रोपाइँ हुँदै आएको छ । शनिबारसम्म दुई हजार दुई सय ४९ हेक्टरमा धान रोपाइँ भएको निर्देशनालयले जनाएको छ ।
प्रदेशको हिमाली जिल्ला बाजुरामा २८ हजार एक सय ३५ हेक्टर खेतीयोग्य जमिन रहेको छ भने दार्चुलामा २९ हजार पाँच सय ४४ हेक्टर खेतीयोग्य जमिन रहेको छ । बाजुरामा सात हजार तीन सय तीन हेक्टर र दार्चुलामा चार हजार चार सय ८० हेक्टरमा धान रोपाइँ हुँदै आएको छ । शनिबारसम्म बाजुरामा दुई हजार चार सय ८३ हेक्टर र दार्चुलामा एक हजार तीन सय ८९ हेक्टरमा धान रोपाइँ भएको निर्देशनालयले जनाएको छ ।
सुदूरपश्चिमको सबैभन्दा बढी खेतीयोग्य जमिन रहेको कैलाली र कञ्चनपुरमा पनि यस वर्ष धान रोपाइँमा सन्तोषजनक नतिजा हुन नसकेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ । गत वर्ष कैलालीमा यसअवधिमा ६७ हजार चार सय ३६ हेक्टरमा धान रोपाइँ क्षेत्रफल रहेकोमा २१ हजार एक सय ४३ हेक्टरमा धान रोपाइँ (६० प्रतिशत) धान रोपाइँ भइसकेको थियो भने कञ्चनपुमा ४८ हजार चार सय ९३ मध्ये चार हजार चार सय ६२ हेक्टर (४३ दशमलव ६० प्रतिशत)मा धान रोपाइँ सम्पन्न भइसकेको थियो ।
निर्देशनालयले उपलब्ध गराएको तथ्यांकअनुसार यस वर्षको असार १४ अर्थात् शनिबारसम्म कैलालीमा ८५ हजार आठ सय ९९ हेक्टर खेतीयोग्य जमिनमध्ये ६७ हजार चार सय ३६ हेक्टरमा धान रोपाइँ हुने जनाइएको छ । तर, शनिबारसम्म २६ हजार नौ सय ७४ हेक्टर (४० प्रतिशत)मा धान रोपाइँ भएको तथ्यांकमा उल्लेख छ भने कञ्चनपुरमा ५९ हजार छ सय दुई हेक्टर खेतीयोग्य रहेकोमा ४८ हजार चार सय ९६ हेक्टरमा धान रोपाइँ हुने उल्लेख छ । जसमध्ये २० हजार तीन सय ६८ हेक्टर (४२ प्रतिशत)मा धान रोपाइँ सम्पन्न भएको तथ्यांकमा उल्लेख छ ।
सुदूरपश्चिम सरकारले कृषिलाई प्राथमिकतामा राखेर कार्यक्रम अघि सारेको भएपनि धान रोपाइँ समयमै नहुनु र परम्परागत कृषि खेतीमै किसानहरूले धान रोपाइँ गर्नुपर्ने अवस्थाले पनि कृषिमा सरकारले आवश्यकता अनुसारको कार्यक्रम ल्याउन नसकेको स्पष्ट रहेको देखिन्छ । अहिले पनि सुदूरपश्चिमको बढी धानखेती हुने क्षेत्रमा सरकारले सिँचाइ सुविधा उपलब्ध गराउन नसक्नुले कृषकहरूले आकासे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता रहेकोले पनि धान रोपाइँमा सन्तोषजनक नतिजा आउन नसकेको देखिन्छ । प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८२ अनुसार ०८१–८२ को चैत मसान्तसम्म एक लाख ५३ हजार हेक्टरमा धान रोपाइँ भएकोमा छ लाख ४० हजार मेट्रिक टन धान उत्पादन भएको उल्लेख छ ।









प्रतिक्रिया दिनुहोस्