रूकुम पश्चिमका कुन स्थानीय तहको बजेट कति ?



oplus_16

प्रचण्ड खत्री । रूकुम पश्चिम ।

रूकुम पश्चिममा छ वटा स्थानीय तह छन् । तीन नगरपालिका र तीन गाउँपालिका छन् । आगामी आर्थिक वर्ष २०८२–८३ का लागि पालिकाले आ–आफ्नो अनुमानित वार्षिक बजेट सम्बन्धित सभामार्फत सार्वजनिक गरेका छन् । चालू तथा पुँजीगत खर्च समेटिएको बजेटमार्फत सबै तहहरूले पूर्वाधार विकास, सेवा प्रवाह, सामाजिक सुरक्षा र नीति कार्यक्रम कार्यान्वयनमा प्राथमिकता दिएका छन् ।

यसै क्रममा सबैभन्दा बढी बजेट चौरजहारी नगरपालिकाले सार्वजनिक गरेको छ भने सबैभन्दा कम बजेट बाँफिकोट गाउँपालिकाले पेस गरेको छ । प्रस्तुत विवरणहरूमा चालू खर्चको हिस्सा तुलनात्मक रूपमा बढी देखिएको छ भने पुँजीगत खर्चको हिस्सा केही कम देखिन्छ । मुसिकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि झन्डै ७० करोड बराबरको बजेट अनुमान गरेको छ । १५औँ नगर सभामा उपप्रमुख विमलकुमार पुनले आगामी वर्षका लागि ६९ करोड ९९ लाख ९४ हजार २ सय रूपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।

जसमा चालूतर्फ ५२ करोड ७० लाख ९४ हजार २ सय अर्थात् ७५.३० प्रतिशत रहेको छ भने पुँजीगततर्फ १७ करोड २९ लाख अर्थात् २४.७० प्रतिशत मात्र रहेको छ । रूपैयाँ आठबिसकोट नगरपालिकाको बजेट साढे ७६ करोड रहेको छ । १८औँ नगर सभामा नगर उपप्रमुख धनकुमारी शाहीले ७६ करोड ३८ लाख ६९ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेकी हुन् । नगरको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि चालूतर्फ ४९ करोड ३४ लाख ३२ हजार अर्थात् ६४.६० र पुँजीगततर्फ २७ करोड ४ लाख ३७ हजार अर्थात् ३५.४० प्रतिशत गरी कूल बजेट विनियोजन गरिएको हो ।

चौरजहारी नगरपालिकाको बजेट झन्डै ८२ करोड रहेको छ । नगर उपप्रमुख ईश्वरी शर्मा बिएमले नगर सभामा पेस गरेको कूल बजेट ८१ करोड ९४ लाख ८३ हजारको बजेट रहेको छ । बजेट चालूतर्फ ४२ करोड ८३ लाख १९ हजार ७ सय ८८ अर्थात् ७४.५९ प्रतिशत रहेको छ भने पुँजीगततर्फ १४ करोड ५८ लाख अर्थात् २५.४० प्रतिशत रहेको छ । बाँफिकोट गाउँपालिकाले ५० करोड २५ लाख ७४ हजार ५ सय ६३ बजेट १८औँ गाउँ सभाको बैठकमा पेस गरेको छ । गाउँपालिका उपाध्यक्ष तारा बुढा केसीले गाउँ सभामा आगामी आर्थिक वर्षको अनुमानित बजेट पेस गरेकी हुन् ।

त्रिवेणी गाउँपालिकाले ५४ करोड ८६ लाख ३२ हजार बजेट गाउँ सभामा पेस गरेको छ । गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउलेले गाउँ सभाको १३औँ अधिवेशनमा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट पेस गरेकी हुन् । कूल बजेटमध्ये चालूतर्फ ४१ करोड ५४ लाख ३२ रूपैयाँ अर्थात् ७५.७२ प्रतिशत र पुँजीगततर्फ १३ करोड ३२ लाख अर्थात् २४.२८ प्रतिशत बजेट विनियोजन भएको छ ।

सानीभेरी गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट झन्डै ५४ करोड रहने भएको छ । १७औँ गाउँ सभाको बैठकमा उपाध्यक्ष कमला रोकाले पेस गरेको नीति तथा कार्यक्रम कार्यान्वयन तथा अनिवार्य दायित्व भुक्तानीका लागि आगामी वर्षको अनुमानित बजेट पेस गरेकी हुन् । आगामी वर्षका लागि अनुमान गरिएको कूल बजेटमध्ये चालूतर्फ ३९ करोड ३३ लाख ९२ हजार ४ सय ३२ अर्थात् ७२.८९ प्रतिशत र पुँजीगततर्फ १४ करोड ६३ लाख १४ हजार ५ सय ६७ रूपैयाँ अर्थात् २७.११ प्रतिशत रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार १५ गते आइतबार