एसईई नतिजाः चार जीपीए ल्याउने शान्ति मावि पहिलो, होराइजन दोस्रो



श्यामलाल पोखरेल । बुटवल ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्रामस्थित शान्ति नमुना माध्यमिक विद्यालयमा अध्ययनरत १८ जना विद्यार्थीले चार जीपीए ल्याएका छन् । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजामा रुपन्देही जिल्लाभरका ८२ जना विद्यार्थीले चार जीपीए ल्याउँदा शान्ति माविका १८ जना विद्यार्थीले चार जीपीए ल्याएका हुन् । यो नतिजा रुपन्देहीकै सर्वोत्कृष्ट हो ।

रुपन्देहीका मै हुँ भन्ने निजी क्षेत्रका बोर्डिङलाई पछिपार्दै शान्ति नमुना माध्यमिक विद्यालयले शिखर चुमेको छ । विद्यालयले शैक्षिक क्रियाकलापसँगै खेलकुद्, मनोरञ्जन लगायत विभिन्न विधामा विद्यार्थीलाई अध्यापन गराउँदै आएको छ। जिल्लामा अब्बल विद्यालय मानिने शान्ति नमुनाको नतिजाले नै यो विद्यालय अरुभन्दा फरक खालको हो भन्ने पुष्टि गरेको शिक्षक दिनेश खड्काले जानकारी दिए ।

१८ जना विद्यार्थीले एकैपटक चार जीपीएसहित उत्कृष्ट नतिजा निकालेर नेपालको शैक्षिक क्षेत्रमा नयाँ रेकर्ड कायम गरेर सरकारी क्षेत्रका स्कुलले पनि राम्रो नतिजा दिन सक्छन् भन्ने शान्ति नमुना माध्यमिक विद्यालयले बलियो उदाहरण दिएको पत्रकार महेन्द्र थापा बताउँछन् । विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछाने र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराईको कुशल नेतृत्व र व्यवस्थापन अब्बल भएकाले विद्यालयलाई देशभरकै उत्कृष्ट नतिजा ल्याउन सफलता मिलेको पत्रकार थापाको भनाइ छ ।

यस्तै लुम्बिनी प्रदेशमै ठूलो बोर्डिङ मानिने बुटवलको न्यु होराइजन अंगे्रजी आवासीय माध्यमिक विद्यालय नतिजाको हिसाबले रुपन्देहीमा दोस्रो भएको छ । न्यु होराइजन अंगे्रजी आवासीय माध्यमिक विद्यालयका ११ जना विद्यार्थीले चार जीपीए ल्याउन सफल भएका छन् । रुपन्देहीमा तेस्रो स्थानमा अक्सफोर्ड बोर्डिङ स्कुल भएको छ । बुटवलको सुख्खानगरमा रहेको अक्सफोर्ड माध्यमिक विद्यालयलमा अध्ययनरत १० जना विद्यार्थीले चार जीपीए ल्याएका छन् ।

बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयले चौथो बनेको छ । कालिका मानवज्ञान माध्यमिक विद्यालयमा अध्ययनरत ७ जना विद्यार्थीले चार जीपीए ल्याएका छन् । देशभरनै सरकारी स्कुलमध्ये कालिकाको नाम अगाडी आउने सरकारी क्षेत्रको स्कुलको हो । यस्तै सैनामैना नमुना माविका ४ जना, नयाँगाउँ मावि बुटवलका ४ जना, न्यू लुम्बिनी बोर्डिङ स्कुल देवदहमा अध्यनरत ४ जना विद्यार्थीले पनि चार जीपीए ल्याउन सफल भएका छन् ।

यस्तै बुटवलको दीप बोर्डिङ स्कुलमा अध्ययनरत २ जना, प्रभात बोर्डिङ स्कुल सैनामैनाका २ जना, नवरत्न माध्यमिक विद्यालय बुटवलका २ जना, बुटवलकै तिनाउ बोर्डिङ स्कुलका २ जना, गार्गी बोर्डिङ स्कुलका २ जना र बुद्ध पब्लिक देवदहका २ जना विद्यार्थीले पनि चार जीपीए ल्याएका छन् ।

रुपन्देहीका रामापुर माध्यमिक विद्यालय सैनामैना, बुटवलको कान्ति माध्यमिक विद्यालय, जनकल्याण माध्यमिक विद्यालय, सैनामैना, ड्रिम भिजन बोर्डिङ स्कुल फर्साटिकर, सुनगाभा पब्लिक बोर्डिङ सैनामैना, सैनामैना मेमोरियल सैनामैना, सिद्धेश्वर लालकुमारी मावि बुटवल, नवीन औद्योगिक कदरबहादुर रिता माध्यमिक विद्यालय, न्यु इन्भारमेन्ट बोर्डिङ तिलोत्तमा, होराइजन गौतमबुद्ध बोर्डिङ तिलोत्तमा, ग्लोरी बोर्डिङ बुटवल र एभरेष्ट बोर्डिङ स्कुलमा अध्ययनरत एक–एकजना विद्यार्थीले चार जीपीए ल्याएका छन् ।

शिक्षामा अग्रस्थान जिल्ला मानिने रुपन्देहीबाट २२ हजार ९ सय ७५ विद्यार्थीले २०८१ को एसईई परीक्षा दिएका थिए । यस वर्षको एसईईमा सरकारी क्षेत्रको शान्ति माध्यमिक विद्यालयले उत्कृष्ट नतिजा ल्याएपछि निजी क्षेत्रका बोर्डिङ स्कुलहरूलाई झट्का लागेको छ । बोर्डिङहरूले सोचेजस्तो नतिजा दिन सकेनन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार १५ गते आइतबार