गणेश रावत । कोहलपुर ।
अवसर सबैलाई आउँछ । तर, सफलता सबैले प्राप्त गर्न सक्दैनन् । किनकि सफलता पाउन अनेकौँ परिश्रम, मिहिनेत, लगनशीलता र अथाह संघर्ष आवश्यक पर्छ । जसले सबैकुरा सहन सक्छ । उसैले सफलताको शिखर चुम्न सक्छ ।
यसैको एक उदाहरण हुन्, सृजना डिसी । उनले पाएको सफलताले उनलाई अहिले बधाई थाप्न भ्याइनभ्याइ छ । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उनी बाँके जिल्ला टप हुन सफल भइन् । बाँकेको कोहलपुर नगरपालिका–६ स्थित बालविद्या सेकेन्डरी स्कुलमा अध्यनरत सृजना अपेक्षा गरेभन्दा राम्रो नतिजा आएको बताउँछिन् ।
‘ए प्लससम्म आउँछ भन्ने मलाइ लागेको थियो, नतिजा चेक गर्दा म त एकछिन विश्वास नै गर्न सकिनँ, एसईईको तयारी चाहीँ राम्रो गरेको थिएँ ।’ उनले भनिन्, ‘आशा गरेभन्दा राम्रो नतिजा आउँदा घरपरिवार, विद्यालय र म स्वयम् पनि एकदम धेरै खुसी छु । आगामी दिनहरूमा थप राम्रो गुर्नपर्ने जिम्मेवारी बोध भएको छ ।’ उनले मिसन टुडेसँग भनिन् ।
विद्यालयको गुणस्तरीय शैक्षिक वातावरण र पारिवारिक सहयोगले सबै राम्रो भएको डिसी बताउँछिन् । बाँके जिल्लामा चार जिपिए ल्याउने पहिलो व्यक्ति हुनपाउँदा गर्व लागेको उनले बताइन् । परीक्षाको समयमा स्वास्थ्यसमेत खराब रहेकाले केही गाह्रो भएपनि तयारी राम्रो रहेकाले सहज भएको उनको भनाइ छ ।
एसईईको लागि ४ महिना नभई वर्षभर मिहिनेत, लगनशीलता, परिश्रम र तयारी राम्रो गर्नुपर्ने उनको अनुभव रहेको बताइन् । घरमा पनि आमाले पढाइमा साथ दिएको बताउँदै उनले विद्यालयमा पनि शिक्षकले आफूले सोचेअनुरुप सहजीकरण गरिदिएको उनको भनाइ थियो ।
आगामी दिनमा कक्षा–१२ पनि सोही विद्यालबाट विज्ञान विषय लिएर पढ्ने योजना गरेको बताइन् । आगामी दिनहरूमा पनि राम्रो नतिजालाई निरन्तरदा दिन चुनौती रहेको उनले जनाइन् ।
उनले बधाई तथा शुभकामना दिने सबैलाई धन्यवादसमेत व्यक्त गरिन् । बाँके जिल्लाबाट ७ हजार ९ सय २१ जना सहभागी एसईईमा उनले आफूलाई अब्बल साबित गर्दै ४ जिपिए ल्याउन छोरी सफल भएपछि उनकी आम पनि खुसीले दंग छिन् । छोरीले आफूले गरेको लगानी र माया साथ सपोर्ट बुझेर राम्रो नतिजा ल्याउँदा गर्व लागेको उनकी आमाले बताइन् ।
अहिले सबैले सृजनाकी आमा भनेर चिन्दा खुसी लागेको उनको भनाइ थियो । विद्यालयले पनि छोरीको इच्छाअनुसार गुणस्तरीय शिक्षा प्रदान गरको भन्दै विद्यालयलाई धन्यवादसमेत दिइन् । विद्यालयले एसईई उत्तीर्ण हुने सबै विद्यार्थीहरूलाई शनिबार एक कार्यक्रमको आयोजना गरेर सम्मान तथा बधाई दिएको विद्यालयका प्रधानाध्यापक गोबिन्द सुवेदीले बताए ।
विद्यालयको मात्र नभई सृजनाले बाँके जिल्लाको शिर उचो राख्न सफल भएको भन्दै विद्यालयले नगद १० हजार पुरस्कारसहित सम्मान गरेको जानकारी दिए । अन्य २ जना ‘ए प्लस’ ल्याउने विद्यार्थीहरूलाई पनि क्रमशः ५ र ३ हजार रूपैयाँ प्रदान गरिएको बताए । विद्यालयले उत्कृष्ट नतिजा ल्याउने सृजना डिसीलाई निःशुल्क पठनपाठन गराउने र अन्य ‘ए प्लस’ ल्याउने विद्यार्थीहरूलाई पनि छुट दिने विद्यालयले निर्णय गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम खड्काले बताए ।
विद्यालयले लामो समयदेखि गरेको परिश्रम, मिहिनेत र लगानीको प्रतिफलले विद्यालयमात्र नभई सिंगो जिल्ला खुसी रहेको उनको भनाइ छ । आगामी दिनहरूमा पनि विद्यालयले राम्रो नतिजा ल्याउनेमा आफू विश्वस्त रहेको बताए । विद्यार्थीहरूलाई पठनपाठनको लागि गुणस्तरीय शिक्षा, शैक्षिक वातावरण र विद्यार्थीको क्षमताअनुसार विद्यार्थीलाई पढाइने गरेको मिसन टुडेलाई जानकारी दिए । बाँके जिल्लामा ४ जिपिए ल्याउने एकमात्र विद्यार्थी आफ्नो विद्यालयको हुँदा गर्वले छाती चौडा भएको बताए ।









प्रतिक्रिया दिनुहोस्