विकासमा मिडियाको भूमिका विषयक अन्तरक्रिया



बुटवल ।

प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको सहयोगमा बुटवलमा विकासमा मिडियाको भूमिका विषयक अन्तरक्रिया भएको छ । बिहीबार भएको उक्त अन्तरक्रियामा बोल्ने सहभागीले विकासमा मिडियाको भूमिका अहम रहेको बताएका छन् । प्रतिपक्षको भूमिकामा रहेको मिडियाले खरबरदारी गरेकै कारण विकास निर्माणका कामहरुले केही गति लिएको बताएका छन् ।

विकास निर्माणका हरेक काममा भ्रष्टाचार भएको मिडियाले खबरदारी गरेका कारण विकासका कामहरुमा भ्रष्टाचार गर्नेहरु केही हदमसम्म डराएपनि भ्रष्टाचार न्यूनीकरण हुन नसेकेको बताए । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले विकासदेखि हरेक काममा मिडियाको भूमिका महत्वपूर्ण हुने बताउँदै मिडियाका साथीहरुले सत्यमा आधारित भएर समाचार लेख्नुपर्ने बताउँदै भौतिक विकाससँगै समयको मागअनुसार मिडयाहरुको पनि विकास गर्नुपर्ने बताए ।

विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने तथा निजी क्षेत्रका उद्योगी व्यवसायीहरुको सरसल्लाह र सुझावको आधारमा बुटवल उपमहानगरपालिकाले विकासका योजनाहरुलाई अगाडी बढाउने बताउँदै नगर प्रमुख पाण्डेले भने, ‘बुटवललाई गुलजार बनाउन निजी क्षेत्र अगाडी बढ्नु पर्छ ।’ मिडियाको एकीकृत विकास गर्नुपर्ने र त्यसका लागि मिडिया हाउस र पत्रकारहरुसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता जनाए ।

राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष टानबहादुर केसीले मिडिया विकासको पक्षमा भएपनि चुहावट तथा भ्रष्टाचारका कारण विकास निर्माणका कामहरु कमजोर अवस्थामा रहेको बताए । सरकार चलाउनेहरुले नै विकास निर्माणका कामबाट ठूलो भ्रष्टाचार गर्ने गरेका कारण समस्या जटिल बन्दै गएको तर्क गरे ।

विकासमा मिडियाको भूमिका विषयक अवधारणपत्र प्रस्तुत गर्दै सहप्रध्यापक तथा वामपन्थी नेता लिलाबहादुर केसीले विगत र वर्तमान हेर्दा विकास प्रक्रियाको समग्र व्यवस्थापनमा सूचना–सञ्चार प्रविधिले बहुआयामिक रूपमा भूमिका बहन गरिरहेको बताए । संसारको कुनै देशको विकास मोडेल अर्को देशका लागि सिकाइ बन्न सक्ने बताउँदै नेपालको कुनै महानगरपालिका, उपमहानगरपालिका वा पालिकाको विकास मोडेल अर्को पालिकाको सिकाइ बन्ने बताउँदै उनले भने, ‘त्यसका लागि सञ्चार जगत इमान्दार र निष्पक्ष हुनुपर्छ ।’

विकासका नयाँनयाँ मोडलहरुलाई अगाडी बढाएर नेपाललाई विकसित मुलुक सरह बनाउन लागि अहिले भ्रष्टाचार बढ्दो र राजनीति बिग्रदो भएकाले समस्या उत्पन्न भएको उल्लेख गर्दै सहप्रध्यापक केसीले भने, ‘मिडियाकर्मीहरुले अनुसन्धान गरेर सत्यमा आधारित रहेर पत्रकारिता गरेमा देश छिटो बन्न सक्छ । मिडिया र मिडियाकर्मीहरुलाई कमजोर मान्नु हुँदैन । संसारमा मिडिया शक्तिशाली छ ।’

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेलले चेतनाको विकास कमजोर भयो भने भौतिक विकास पनि कमजोर हुने बताउँदै मानिसमा चेतनाको विकास र सकरात्मक सोच हुनुपर्ने बताए । विकासको पक्षमा मिडियाले सधैँ खबरदारी गर्दै आएको बताउँदै सोसल मिडियाका कारण मूलधारका मिडियाहरु कमजोर देखिएको बताए ।
नेपाल पत्रकार महासंघ लुम्बिनीका उपाध्यक्ष रामप्रसाद आचार्यले मिडिया सक्षम नहुँदासम्म विकासका कामहरुले गति लिन नसक्ने बताए ।

‘पत्रकारहरुको आर्थिक विकास नहुँदासम्म खोजी समाचारहरु आउन सक्दैनन् र खोजी समाचार नआउँदा विकास निर्माणमा हुने भ्रष्टाचारविरुद्व समाचार सोचे जस्तो गरी बाहिर आउन सक्दैन ।’ उनले भने । नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डेले मिडियाले विकासका मोडेलहरुको अध्ययन गरेर समाचारको माध्यमबाट उजागार गरेपनि नीतिगत रुपमा हुने भ्रष्टाचारले समस्या रहेको बताए ।

नीतिगत भ्रष्टाचार हुँदा मिडियामा समाचार आएपनि विकासका काम जुन गतिले हुनुपर्ने हो त्यस्तो हुन नसकेको तर्क गरे ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले पत्रकारिता गर्ने पत्रकारहरुले योजनाको आवश्यकता, औचित्यता र पारदर्शीता के हो भन्ने विष्लेषण गरेर समाचार लेख्नुपर्ने बताए । उनले सत्यताको आधारमा पत्रकारहरुले समाचार लेखेमात्रै समाजलाई रुपान्तरण गर्न सकिने विकासका कामहरुले गतिलिने र भ्रष्टाचार तथा अनियमितता निरुत्साहित हुँदै जाने बताए ।

पर्यटन व्यवसायी माधव नेपालले विकासमा मिडियाको भूमिका महत्वपूर्ण रहेपनि विकास निर्माणका कामहरु कमजोर अवस्थामा रहेको बताउँदै सत्य र निष्पक्ष भएर बेथितिविरुद्व समाचारहरु लेख्न पत्रकारहरुलाई सुझाव दिए ।
नेपाल टेलिभिजन प्रसारण संघ लुम्बिनी प्रदेश अध्यक्ष गोपाल ज्ञवालीले विकासका लागि मिडियाले महत्वपूर्ण सहयोग गर्दै आएपनि राज्य सञ्चालकहरु विकासप्रति जिम्मेवार बन्न नसकेको बताए ।

विकासमा बेथिति र भ्रष्टाचार बढेको बताउँदै नीतिगत भ्रष्टाचारको अन्त्य नहुँदासम्म विकासका कामहरुले सही प्रकारले गतिलिन नसक्ने र विकास भएपनि राम्रो काम हुन नसक्ने बताए । अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका पूर्वअध्यक्ष ढुण्डीराज शर्माले विकासका लागि भ्रष्टाचार बाधक रहेको बताए ।

सत्ता र शक्तिमा रहेकाहरुले नीतिगत भ्र्रष्टाचार गर्दै आएकाले भनेजस्तो विकास हुन नसकेको बताउँदै मिडियाले विकासको पक्षमा जतिसुकै समाचार लेखेपनि भ्रष्टाचारका कारण विकास निर्माणका कामहरु कागजपत्रमा सीमित रहेको दाबी गरे । वरिष्ठ पत्रकार डाक्टर बालकृष्ण चापागाईले असारे विकासले भ्रष्टाचार निम्ताएको बताउँदै मिडियाले विकासमा महत्वपूर्ण योगदान पुराएको बताए ।

पत्रकारहरुको हातमा पत्रकारिता नभएकाले पत्रकारहरुले भ्रष्टाचारविरुद्धका समाचारहरु लेख्न नसक्ने डरलाग्दो समस्या आएको बताए ।प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष श्यामलाल पोखरेलले भौतिक विकाससँगै पत्रकारहरुको आर्थिक रुपमा विकास हुनुपर्ने बताए ।

उनले आमनागरिकको पक्षमा रहेर परिवर्तन र विकासको पक्षमा निरन्तर कलम चलाउने पत्रकारहरुको आर्थिक अवस्था कमजोर भएकोप्रति चिन्ता व्यक्त गरे । प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष श्यामलाल पोखरलको अध्यक्षता, विरेन्द्र कुवंरको सञ्चालन र शंकरप्रसाद पोखरेलको स्वागतमा कार्यक्रम भएको थियो ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ असार १३ गते शुक्रबार