कोहलपुर–सुर्खेत प्रसारणको काम असोजभित्र सकिने



वीरेन्द्रनगर ।

नेपाल विद्युत् प्राधिकरणले निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम आगामी असोज महिनाभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । बाँकेको बानियाभार क्षेत्रमा स्थानीयको अवरोधका कारण रोकिएको कामलाई सुचारु गर्न प्राधिकरणले पहल गरेको हो ।

बुधबार सुर्खेत आएका प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले भने, ‘कर्णालीवासीले भोग्दै आएको विद्युत् समस्या समाधानका लागि निर्माणाधीन प्रसारण लाइनको अवरोध हटाएर काम सम्पन्न गर्ने गरी छलफल अघि बढाइएको छ । सोहीअनुसार अब छिट्टै काम सम्पन्न हुने अपेक्षा छ ।’

उनले मुख्यमन्त्री यामलाल कँडेलसँगको छलफलमा यस्तो बताएका हुन् । आगामी असोज महिनासम्म कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम पूरा हुन उनको भनाइ छ । तर प्रसारण लाइन निर्माणका क्रममा बाँकेको बानियाभार क्षेत्रमा स्थानीयले अवरोध गर्दै आएका छन् । स्थानीयको अवरोधबारे बुझ्न र समाधानका उपाय खोज्न शाक्य बाँके पुगेका थिए ।

उनले भने, ‘सो क्षेत्रमा ३ वटा टावर निर्माण सम्पन्न भएलगत्तै प्रसारण लाइन सुर्खेतस्थित सुब्बाकुना सबस्टेसनमा जोडिने छ। स्थानीयका समस्या समाधान गर्ने र कर्णालीमा नियमित विद्युत् पु¥याउनेबारे हामीले छलफल गरेका छौँ । समस्या समाधानका लागि भएका प्रयासहरू पनि सकारात्मक देखिएका छन् ।’ साथै उक्त क्षेत्रमा देखिएको अवरोध हटाउन बाँकेका प्रमुख जिल्ला अधिकारी र स्थानीय राजनीतिक दलका नेतृत्वहरूसँग प्राधिकरणको टोलीले छलफल गरेको थियो।

  • No tags available
प्रकाशित मिति : २०८२ असार १२ गते बिहीबार