फरक प्रजातिका फलफूलका बिरुवा वितरण



नेपालगन्ज (बाँके) ।

बाँकेका विभिन्न गाउँपालिकामा फरक प्रजातिका फलफूलका बिरुवा वितरण गरिएको छ । कृषि वन तथा वृक्षारोपण कार्यक्रमअन्तर्गत पारिवारिक निजी वन संघ नेपाल जिल्ला शाखा बाँकेको आयोजना तथा डिभिजन वन कार्यालय नेपालगन्जको सहयोगमा बुधबार बिरुवा वितरण गरिएको हो ।

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर १ र जानकी गाउँपालिका वडा नम्बर २, ३,४ र ६ का गरी करिब ५० कृषकलाई आँप, लिची, कटहर, अम्बालगायत फलफूलका बिरुवा वितरण गरिएको पारिवारिक निजी वन संघ नेपाल जिल्ला शाखा बाँकेका अध्यक्ष सुनिल घिमिरेले जानकारी दिए ।

वितरण कार्यक्रमअन्तर्गत खजुरा गाउँपालिका वडा न १ मा रहेका पारिवारिक निजी वन किसान र जानकी गाउँपालिका वडा नम्बर २, ३, ४ र ६ का पारिवारिक निजी वन किसानहरूको सहभागिता रहेको थियो । कार्यक्रममा जानकी गाउँपालिका ४ का वडा अध्यक्ष रमेशकुमार बर्माले किसानमुखी यस्ता कार्यक्रमले किसानको आयआर्जनमा वृद्धि हुने तथा जलवायु र वातावरणमा समेत सहयोग पुग्ने बताए ।

कार्यक्रमलाई सहयोग गर्ने डिभिजन वन कार्यालय बाँकेका प्रमुख शंकरप्रसाद गुप्तालाई धन्यवाद दिँदै जानकी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष जगदीशप्रसाद हरिजनले भाबी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन अनुरोध गर्दै कार्यक्रमको आयोजना गर्ने पारिवारिक निजि वन संघ बाँकेलाई समेत धन्यवाद व्यक्त गरे ।

जानकी गाउँपालिका वडा नं. ३ का वडा सदस्य हुसैनी यादव, वडा पारिवारिक निजी वन संघ बाँकेका पधाधिकारी, जनप्रतिनिधि, पारिवारिक निजी वन किसान तथा स्थानीयवासीको उपस्थिति रहेको कार्यक्रममा ५ हजार बिरुवा वितरण गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार १२ गते बिहीबार