बाजुरा ।
बाजुराको बुढीगंगा नगरपालिका १ बस्ने कृषक पदमबहादुर रावत तरकारी खेतीबाट राम्रो आम्दानी गरिरहेका छन् । विगत केही वर्ष पहिला उनी भारतमा गएर ज्याला मजदुरी गरिरहेका थिए । पछिल्लो केही वर्ष यता भने पदम कृषि खेतीमा गाउँमै जम्दै आएका छन् । भारतमा चौकिदारी गरेर खासै बचत नगरेका पदम अहिले वार्षिक ५ देखि ७ लाख जति कमाउने गरेका छन् ।
उनले तरकारी खेतीसँगै बाख्रापालन व्यवसाय गर्दै आएका छन् । उनले काक्रा, टामाटर, गोभी, हरियो साग, प्याज, जुकेनी तथा बेमौसमी तरकारी लगाउने गरेका छन् । पदमले तीन जना छोराछोरीलाई राम्रो शिक्षा दिइरहेका छन् । तरकारी खेतीबाट राम्रो आम्दानी भएकाले छोराछोरीलाइ पठनपाठन गर्नमा निकै सहज भएको पदमले बताए । उत्पादन भएको तरकारी स्थानीय बजार र बझाङ्ग जिल्लासमेत बिक्री गर्ने गरेका छन् । पदम जस्तै सोही गाउँका अन्यले पनि कृषिबाट मनग्य आम्दानी गरिरहेका छन् ।
त्रिवेणी नगरपालिका ८ पन्ताली बस्ने नन्दकला देबी बुढाले पनि तरकारी खेतीबाट राम्रो आम्दानी गरिरहेकी छन् । उनीहरूले गाउँमा नवजोति कृषक समूह गठन गरेर कृषिलाई अझ संस्थागत रूपमा अगाडि बढाइरहेका छन् । गाउँमा रहेका कृषकहरूको समूह बनाइ तराकारी खेतीसँगै बजारीकरण र सरकारबाट पाउने सेवा सुबिधा लिन सक्रिय भएका छन् । सुरुमा आफूलाई मात्र खानका लागि तरकारी लगाउने गरको तर अहिले स्थानीय सरकार तथा गैरसरकारी संस्थाको सहयोगले व्यावसायिक तरकारी खेती गर्ने गरेको नन्दकलाले बताएकी छन् ।
पछिल्लो समय गाउँमा धेरैले तरकारी खेती गरिरहेका छन् । पदम र नन्दकला जस्तै बाजुराका धेरै किसानहरू व्यावसायिक तरकारी खेती गरिरहेका छन् । बाजुरामा सबैभन्दा बढी आलु उत्पादन हुने गर्दछ । बाजुरामा बार्षिक २२ हजार १ सय ६० मेट्रिनभन्दा बढी आलु उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराका तथ्याङ्कमा उल्लेख छ । आलु मात्र २ हजार ५५ हेक्टरमा लगाउने गरेका छन् ।
त्यस्तै हिउँदे तरकारी ५ सय ५४ हेक्टरमा लगाउने गरिन्छ । हिउँदे तरकारी वार्षिक ४ हजार ५ सय १५ मेट्रिकटन उत्पादन हुने गर्दछ । वर्षे तरकारी ४ सय ५० हेक्टरमा लगाउने गर्छन्, जसमा ४ हजार ९ सय ३७ मेट्रिकटन उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।
बाजुराका किसानलाई तरकारी खेतीमा आकर्षित गर्न स्थानीय सरकार तथा गैरसरकारी संस्थाले सहयोग गरिरहेका छन् ।
गिफ्ट नेपाल नामक गैरसकारी संस्थाका कार्यक्रम प्रबन्धक कृष्ण अधिकारीका अनुसार बाजुरामा धेरै किसानहरू व्यावसायिक बनिरहेको बताएका छन् । गिफ्ट नेपालले बाजुराका दुईवटा पालिकामा कृषिका क्षेत्रमा काम गरिरहेको छ । कृषि खाद्य प्रणालीको लागि नवीकरणीय ऊर्जा रीराज र यूएनडीपीको आर्थिक सहयोग र गिफ्ट नेपालद्वारा ‘गोठेमल व्यवस्थापन र माटोको उर्वरतामा सुधार कार्यक्रम’ मार्फत् विभिन्न कृषि गतिविधि सञ्चालन भइरहेका कृष्ण अधिकारीले बताएका छन् ।
त्रिवेणी र बुढीगंगा नगरपालिकामा कृषि समूह गठन गरेर परियोजनाले सहयोग गरिरहेको छ । समूहमार्फत् गोठेमल सुधार तथा तरकारी खेतीमा सहयोग गरिरहेको छ । परियोजनाको सहयोगबाट किसानहरूलाई ठूलो सहयोग भएको बुढीगंगा नगरपालिका नगर प्रमुख रामबहादुर बाँनियाले बताएका छन् । तरकारी खेतीबाट स्थानीयलाई दैनिक जीवनयापन तथा छोरा छोरी पठनपाठनमा ठूलो सहयोग पुगिरहेको छ । बाजुराका स्थानीय बजारमा बाजुराका किसानले फलाएका तरकारी पर्याप्त मात्रामा पाइने गरेको छ ।









प्रतिक्रिया दिनुहोस्