कैदीबन्दी मृत्यु प्ररण ः अनुसन्धानमा सीआईबीको टोली



धनगढी ।

कैलाली जिल्ला कारागारमा रहस्यमय मृत्यु भएका डडेल्धुरा भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिसिंह पालीको घटना छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली धनगढीमा खटिएको छ । प्रहरी प्रधान कार्यालयको निर्देशनमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकुन्द मरासिनीको नेतृत्वमा एक टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

उक्त टोलीमा एसपी, डिएसपी, इन्स्पेक्टर तथा सीआईबीका अधिकारीहरू छन् । ‘विशेष टोली ५ असारमा धनगढी आइपुगेको हो अहिले घटनास्थल तथा सम्बन्धित निकायसँग सम्पर्क गरी प्रमाण संकलनको काम भइरहेको छ’, प्रहरी उच्च स्रोतले भन्यो, ‘उक्त टोलीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको छ ।’

जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत नायब निरीक्षक (सई) हरजीत नाथमाथि नै मृतकका परिवारले आरोप लगाएपछि अहिले प्रहरीले यसलाई गम्भीर ढङ्गले लिइरहेको छ । पालीकी श्रीमती जानकी साउँदले सई नाथविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा किटानी जाहेरी दिएकी थिइन् । जाहेरीको आधारमा उनलाई पक्राउ गरी हाल हिरासतमा राखिएको छ ।

सई नाथले पालीविरुद्धको मुद्दा दर्ता गराएका थिए । जसमा जिल्ला अदालत डडेल्धुराले २०८० फागुनमा उनलाई १० दिन कैद र दुई लाख रूपैयाँ जरिवानाको सजाय सुनाएको थियो । सोही फैसलाअनुसार पाली डडेल्धुराबाट पक्राउ परेका थिए । उनलाई असार १ गते अदालतमा पेस गरी कैलाली कारागार चलान गरिएको थियो ।

तर, भोलिपल्टै असार २ गते राति साढे १० बजेतिर उनको मृत्यु भएको थियो । प्रहरीले तत्काल सेती प्रादेशिक अस्पताल लगिए पनि उपचारको क्रममा सोही राति उनको मृत्यु भएको बताउँदै आएको छ । तर मृतकका परिवारहरूले उनको हत्या गरेको बताउँदै आइरहेका छन् । मृतकका शरीरमा नीलडाम र चोटपटक देखिएका छन् । जसका कारण मृतकका आफन्तहरूले उनको यातना दिएर हत्या गरेको आरोप लाएका छन् ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय कैलालीले सूक्ष्म अनुसन्धान भइरहेको भन्दै दोषीमाथि कारबाही हुनेसमेत बताएको छ । ‘केन्द्रको टोलीले र जिल्लाको टोलीले पनि घटनको छानबिन गरिरहेको छ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बालनरसिंह राणाले भने, ‘सत्य तथ्य छानबिन पछि दोषीमाथि कारबाही हुन्छ ।’ उनले घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको भन्दै केही दिन भित्रै सत्य तथ्य सार्वजनिक हुने बताए ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा गठित समितिले पनि घटनाबारे छानबिन गरिरहेको छ । उक्त समितिमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी, जिल्ला प्रहरी कार्यालयका डीएसपी राजकुमार सिंह, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रतिनिधि, प्रहरी नायब निरीक्षक सुरेश बोहरा, प्रहरी सहायक हवलदार नरेश साउँद तथा डडेल्धुरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष लोकराज भट्ट सदस्य छन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले उक्त समितिलाई सात दिनभित्र घटनाको प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् । ‘हामीले घटनाबारे छानबिन गरिरहेका छौँ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्तासमेत रहेका छानबिन समितिका सदस्य प्रहरी नायब उपरीक्षक सिंहले भने, ‘निष्पक्ष छानबिन हुन्छ । सत्य तथ्य सार्वजनिक हुन्छ ।’

  • No tags available
प्रकाशित मिति : २०८२ असार १० गते मंगलबार