शेरबहादुर ऐर । कैलाली ।
स्थानीय सरकार सञ्चालन ऐन अनुसार असार ७ गतेभित्र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याइसक्नुपर्ने र १० गतेभित्र बजेट सभामा पेश गरी असार मसान्तभित्र पारित गराउनुपर्ने बाध्यता रहेको छ । सोहीअनुसार आज (मंगलबार) कैलालीका १३ पालिकामध्ये असार ७ गते बजेट पेश नगरेका स्थानीय तहहरूले आगामी बजेट तथा कार्यक्रम पेश गर्न लागेका छन् ।
हालसम्म कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कैलारी गाउँपालिका र बर्दगोरिया गाउँपालिकाले सभाबाट आगामी आर्थिक वर्षको बजेट पेश गरी पारित गरिसकेका छन् । आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि कैलालीको बर्दगोरिया गाउँपालिकाको वार्षिक बजेट १ अर्ब नाघेको छ । सोमबार गाउँपालिकाको १६औँ गाउँ सभामार्फत उपाध्यक्ष गणेशराज गिरी (लालदीप)ले कूल १ अर्ब २ करोड ९१ लाखको बजेट प्रस्तुत गरे ।
चालू खर्चतर्फ ३४ करोड ३९ लाख र पुँजीगत खर्चतर्फ ४१ करोड ५२ लाख विनियोजन गरिएको छ । यस्तै सामाजिक सुरक्षातर्फ २७ करोड खर्च हुने अनुमान गाउँपालिकाले गरेको छ । ३ करोड ६९ लाख ५३ हजार ५ सय ८१ रूपैयाँ आन्तरिक आय संकलन हुने तथा राजस्व बाँडफाँटबाट १० करोड ७८ लाख ९९ हजार ४ सय १९ आम्दानी हुने अनुमान गाउँपालिकाको छ ।
यस्तै अन्तरसरकार वित्तीय हस्तान्तरण (संघीय सरकार)बाट ५२ करोड २७ लाख प्राप्त भएको छ भने अन्तरसरकार वित्तीय हस्तान्तरण (प्रदेश सरकार)बाट पाँच करोड ७० लाख ४७ हजार गाउँपालिकालाई प्राप्त भएको छ । गत आर्थिक वर्ष २०८१–०८२ बाट जिम्मेवारी सरी आएको ३ करोड ४५ लाख छ भने सामाजिक सुरक्षाका लागि २७ करोड आम्दानी हुने जनाइएको छ ।
आज कैलालीको टीकापुर नगरपालिका, गौरिगंगा नगरपालिका, भजनी नगरपालिका, लम्की चुहा नगरपालिका, घोडाघोडी नगरपालिका, मोहन्याल गाउँपालिका, जानकी गाउँपालिका लगायतले आगामी आर्थिक वर्षको बजेट पेश गर्न लागेका हुन् ।
सिगास गाउँपालिकामा ५५ करोडभन्दा बढी बजेट
बैतडीको सिगास गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि कुल ५५ करोड ९० लाख ७४ हजार एक सय नौ रूपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको १७औँ गाउँ सभाको दोस्रो बैठकमा उपाध्यक्ष धाना धामीले बजेट प्रस्तुत गर्दै चालू र पुँजीगत खर्चका लागि विनियोजन गरिएको विवरण प्रस्तुत गरिन् ।
बजेटअनुसार ३७ करोड ४९ लाख ६७ हजार एक सय नौ रूपैयाँ चालूतर्फ र १८ करोड ४१ लाख ७ हजार रूपैयाँ पुँजीगततर्फ विनियोजन गरिएको उपाध्यक्ष धामीले बताइन् । बजेट स्रोततर्फ हेर्दा पालिकाले नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदानअन्तर्गत नौ करोड ६० लाख रूपैयाँ र सुदूरपश्चिम प्रदेश सरकारबाट प्राप्त समानीकरण अनुदानअन्तर्गत ८२ लाख ३० हजार रूपैयाँ प्राप्त गरेको छ ।
नेपाल सरकारबाट प्राप्त राजस्व बाँडफाँटअन्तर्गत १० करोड ७३ लाख ९८ हजार एक सय नौ रूपैयाँ प्राप्त गरेको छ । यस्तै प्रदेश सरकारबाट प्राप्त राजस्व २९ लाख ७१ हजार रूपैयाँ प्राप्त गरेको छ । नेपाल सरकारबाट प्राप्त ससर्त अनुदान २२ करोड ९९ लाख रूपैयाँ प्राप्त गरेको छ भने प्रदेश सरकारको ससर्त अनुदान ७० लाख रूपैयाँ र आन्तरिक आम्दानी ७६ लाख १५ हजार रूपैयाँ रहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए ।
यस्तै चालू आर्थिक वर्षको सम्भावित बैंक मौज्दात चार करोड ७० लाख ६० हजार रूपैयाँ रहने अनुमान गरिएको उपाध्यक्ष धामीले बताइन् । बजेट वक्तव्यमा सिगास गाउँपालिकाले स्थानीय आवश्यकता, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारमुखी कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्