कोहलपुर ।
बर्दियाको बाँसगढी नगरपालिका राष्ट्रिय परिचयपत्र आफ्नो डिजिटल सिस्टममा आबद्ध गरी सेवा दिने देशको पहिलो पालिका घोषणा भएको छ । सोमबार बाँसगढी नगरपालिका नगर प्रमुख खड्कबहादुर खड्का र प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर वलीले संयुक्त रूपमा राष्ट्रिय परिचयपत्र डिजिटल सिस्टममा आबद्ध गरी सेवा दिने पहिलो पालिका घोषणा गरेका हुन् ।
सो अवसरमा बोल्दै नगर प्रमुख खड्काले अबदेखि नगरपालिकाका सबै सेवा अनलाइनबाटै घरमा बसेर लिन सकिने जानकारी दिए । डिजिटल बाँसगढीको दोस्रो भर्जन लन्च गर्दै उनले नागरिकहरू अब घण्टौँ हिँडेर कार्यालय पुग्नुपर्ने बाध्यता अन्त्य हुनेमा विश्वस्त रहेको बताए ।
पछिल्लो समय प्रविधि र डिजिटल युग रहेकाले नगरपालिका सोहीअनुसार सूचना र सेवा प्रवाह गर्न डिजिटल माध्यमबाटै अघि बढिहरेको बताए । डिजिटल बाँसगढीको अवधारणाअनुसार नगरपालिकाले प्रदान गर्ने सेवा आम नागरिकले सहज र सरल तरिकाले पाउन भन्ने मुख्य उद्देश्य रहेको नगरपालिकाले जनाएको छ ।
सो अवसरमा बाँसगढी नगपालिका सूचना तथा प्रविधि शाखा प्रमुख क्षितिज पौडेललाई समेत बिदाइ गरिएको छ । पालिकालाई सूचना तथा प्रविधिको क्षेत्रमा उत्कृष्ट बनाउँदै देशमै चिनाउन अतुलनीय भूमिका निर्वाह गरेको भन्दै सम्मान तथा कदरपत्रसमेत प्रदान गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्