बैजनाथको प्रभात माविमा सोलार जडानः २४ घण्टा बिजुली, विद्यार्थी र अभिभावकमा खुसीयाली



कल्पना शाही । कोहलपुर ।

बैजनाथ गाउँपालिका–५ स्थित प्रभात माध्यमिक विद्यालयमा सोलार प्रणाली जडान गरिएको छ । ऊर्जा अभावका कारण पटक–पटक विद्युत अवरुद्ध हुने समस्याबाट जुधिरहेको स्कुलमा सोलार प्रणाली जडान गरिएको हो । सोलार जडानसँगै विद्यालयमा झिलिमिली उज्यालो छाएको छ ।

शिक्षण सिकाइ नियमि रूपमा चल्न थालेको छ । विद्यालयमा २४ घण्टा उज्यालो उपलब्ध भएपछि विद्यार्थी तथा शिक्षकहरू दुवै खुसी देखिएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर सुनारले विद्युत आपूर्ति व्यवस्थित भएपछि पठनपाठनको गुणस्तरमा सुधार आएको बताए ।

उनले भने ‘पहिले कहिले लाइट जान्थ्यो, सिकाइमा बाधा पुग्थ्यो, अहिले सोलार जडानपछि यस्तो समस्या हटेको छ ।’
स्कुलमा लुम्बिनी प्रदेशसभा सदस्य म रत्न खत्रीको पहलमा लुम्बिनी प्रदेश सरकार अन्तर्गत प्रदेश सामाजिक विकास मन्त्रालयको लगानीमा विद्यालयमा सोलार ऊर्जा प्रणाली जडान गरिएको हो ।

प्रभात माध्यमिक विद्यालय, जी गाउँका प्रधानाध्यापक बाबुराम अधिकारीले सोलार जडानपछि अध्यापनमन निकै सहज भएको बताए । उनका अनुसार त्यसपछि विद्यालयको शैक्षिक वातावरणमा उल्लेखनीय परिवर्तन ल्याएको छ ।करीब १५ लाख रुपैयाँको लागतमा सम्पन्न यो सोलार परियोजनाबाट विद्यालयलाई दैनिक आवश्यक पर्ने विद्युत सहज रूपमा उपलब्ध भएको प्रधानाध्यापक अधिकारीले बताए ।

सोलार जडानसँगै विद्युत महसुलमा अत्यधिक कमी आएको विद्यालय प्रशासनले जनाएको छ । यसले विद्यालयको बजेटमा राहत पु¥र्याउनुका साथ साथै प्रविधिमा आधारित शिक्षण–सिकाइ प्रक्रियालाई पनि तीव्र बनाएको छ ।प्रधानाध्यापक अधिकारीले भने,‘पहिले बेलाबेलामा लोडसेडिङ हुँदा कम्प्युटर कक्षा, प्रिन्टिङ कार्य वा अन्य डिजिटल उपकरण सञ्चालनमा समस्या पथ्र्यो । तर अहिले सोलार सिस्टमले हामीलाई नियमित र निर्बाध सेवा उपलब्ध गराइरहेको छ ।’

हाल विद्यालयमा सञ्चालनमा रहेका कम्प्युटर, पंखा, प्रिन्टर, लाइट लगायतका उपकरणहरू सोलार उर्जाबाट चलाइँदै आएका छन् । यसले विद्यार्थीहरूलाई व्यावहारिक सिकाइमा संलग्न हुन अझ सहज बनाएको छ । केही वर्षअघिसम्म यो विद्यालय अनियमित विद्युत आपूर्तिको समस्याले ग्रस्त थियो ।

विद्युत नहुँदा कम्प्युटर पढाइ, प्रिन्टिङ, फोटोकोपी, प्रयोगशाला वा बेलुकीको तयारी कक्षा सबै प्रभावित हुने गरेको थियो। वर्षायाममा अझ समस्या झन् बढ्दथ्यो । तर अब, विद्यालयको छतमा झुल्किएका सोलार प्यानलहरू दिनभरि उर्जाको भण्डारण गर्छन् र विद्यालयको सम्पूर्ण शैक्षिक तथा प्रशासनिक कार्यमा प्रयोग हुन्छ । इनभर्टर र ब्याट्रीसहितको यो प्रणालीले विद्यालयलाई ऊर्जा आत्मनिर्भर बनाएको छ ।

अधिकारीका अनुसार, सोलार जडानपूर्व विद्युत महसुलको मासिक खर्च औसत २० हजार भन्दा बढि आउने गरेको थियो । विद्यालयको विकाससँगै स्थानीय समुदायमा समेत सकारात्मक सन्देश फैलिएको छ । स्थानीय अभिभावकहरुले पनि, विद्यालयमा वैकल्पिक सोलार जडान भए पछि खुसी छन् ।

विद्यालयमा नियमित रूपमा सूचना प्रविधि कक्षा सञ्चालन हुन थालेपछि विद्यार्थीहरूको कम्प्युटर ज्ञानमा उल्लेखनीय वृद्धि देखिएको छ । विज्ञान, गणित, अंग्रेजी जस्ता विषयमा डिजिटल शिक्षण सामग्रीको प्रयोग पनि सुरु गरिएको छ ।लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयले ग्रामीण विद्यालयहरूको विकासलाई प्राथमिकता दिएको स्पष्ट देखिन्छ । यो परियोजना त्यसको उत्कृष्ट उदाहरण हो।

सोलार ऊर्जा वातावरणमैत्री, स्वच्छ र दिगो विकासको एक महत्वपूर्ण आधार हो, जसले दीर्घकालीन रूपमा विद्युत संकटको समाधान दिन सक्छ ।प्रदेश सरकारका अनुसार आगामी दिनमा बाँके र बर्दियाका अन्य विद्यालयहरूमा पनि यस्ता परियोजना विस्तार गर्ने योजना रहेको छ । यसले प्रदेशभरका हजारौँ विद्यार्थीलाई गुणस्तरीय शिक्षामा पहुँच पु¥याउने अपेक्षा गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार १० गते मंगलबार