कोहलपुरले ल्यायो एक अर्ब १६ करोडको बजेट



आगामी आर्थिक वर्ष २०८२–८३ का लागि असार ७ गते सम्पन्न नगर सभाको सत्रौँ अधिवेशनमा राजस्व आय व्ययसहितको अनुमानित बजेट प्रस्तुत गरेको छ । अधिवेशनमा कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले आगामी आर्थिक वर्षका लागि एक अर्ब १६ करोड ७० लाख रूपैयाँको अनुमानित बजेट प्रस्तुत गरिन् । उपप्रमुख सुवेदीले प्रस्तुत गरिएको बजेटमा अनुमानित आयको आधारमा आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, सुशासन तथा संस्थागत विकास, कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा विभाजन गरी क्षेत्रगत नीति तथा कार्यक्रमका आधारमा अनुमानित राजस्व तथा व्ययको अनुमान संक्षेपमा उल्लेख गरिएको छ ।

कोहलपुर ।

कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि असार ७ गते सम्पन्न नगर सभाको सत्रौँ अधिवेशनमा राजस्व आय व्ययसहितको अनुमानित बजेट प्रस्तुत गरेको छ । अधिवेशनमा कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले आगामी आर्थिक वर्षका लागि एक अर्ब १६ करोड ७० लाख रूपैयाँको अनुमानित बजेट प्रस्तुत गरिन् ।

उनले सभामा प्रस्तुत गरेको बजेट भने आगामी असार २८ गते बस्ने नगर सभाको दोस्रो बैठकबाट पारित हुने बताइन् । उपप्रमुख सुवेदीले प्रस्तुत गरिएको बजेटमा अनुमानित आयको आधारमा आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, सुशासन तथा संस्थागत विकास, कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा विभाजन गरी क्षेत्रगत नीति तथा कार्यक्रमका आधारमा अनुमानित राजस्व तथा व्ययको अनुमान संक्षेपमा उल्लेख गरिएको छ ।

नगरपालिकाको आन्तरिक कर तथा गैरकर राजस्वसमेत गरी १५ करोड ५० लाख रूपैयाँ, नेपाल सरकारबाट प्राप्त हुने संघीय समानीकरण अनुदान १८ करोड ८२ लाख, संघीय ससर्त अनुदान ४० करोड ३३ लाख, संघीय समपूरक अनुदान ९२ लाख, संघीय राजस्व बाँडफाँट भई प्राप्त हुने आय १६ करोड २९ लाख ३९ हजार ९६९ रूपैयाँ, प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान एक करोड ३० लाख ५१ हजार रूपैयाँ र प्रदेश समपूरक अनुदानको एक करोड २० लाख रूपैयाँ, स्थानीय राजस्व बाँडफाँटबाट प्राप्त हुने अनुमानित १२ करोड ५० लाख रूपैयाँ र चालू आवबाट अल्या भई आउने छ करोड ६४ लाख ५१ हजार समेतका आधारमा आगामी आवका लागि कूल एक अर्ब १६ करोड ७० लाख रूपैयाँको बजेट प्रस्तुत गरिएको हो ।

कूल विनियोजित बजेटमध्ये चालू खर्च ६२ प्रतिशत र पुँजीगततर्फ ३८ प्रतिशत विनियोजन गरिएको उपप्रमुख सुवेदीले उल्लेख गरिन् । प्रस्तुत बजेटमा आगामी आवमा सञ्चालन गरिने कार्यक्रमहरूमध्ये वडास्तरबाट छनौट गरिने योजना तथा कार्यक्रमहरूका लागि सात करोड ४७ लाख विनियोजन गरिएको उल्लेख छ । वडाको जनसङ्ख्या, भूगोल, विकासको अवस्था, आम्दानी गरेको योगदानसमेतका आधारमा वडागत सिलिङ वितरण गरी ४७ लाखदेखि ६० लाखसम्मको बजेट सीमा निर्धारण गरी बजेट तथा कार्यक्रम माग गरिएको जनाइएको छ ।

आर्थिक विकासतर्फ नगरस्तरीय योजनाहरूमा एक करोड ३० लाख ५० हजार विनियोजन गरिएको र आर्थिक विकासका क्षेत्रमा कूल बाँडफाँट योग्य बजेट १.८ प्रतिशत रकम विनियोजित गरेको उपप्रमुख सुवेदीले जनाइन् । उद्यमशीलता प्रवद्र्धनमार्फत नागरिकहरूमा उद्यमशीलता विकासका लागि मेड मोडलमा नयाँ उद्यमी सृजना गर्ने, व्यावसायिक हिसाबले अघि बढेका उद्यमीहरूका लागि थप आवश्यक तालिमसहितको राष्ट्रिय सीप परीक्षण उपलब्ध गराउने, दिगो रोजगारी सृजना तथा प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राखेर ‘मिसन रोजगारी अभियान’ सञ्चालन गरिने, युवाहरूलाई रोजगारीका लागि सीपमूलक तालिम तथा डिजिटल प्रविधिसँग जोड्ने लगायतका बुँदाहरू उल्लेख गरिएको छ ।

कृषि पशुपन्छी विकासतर्फ कृषि स्नातक करार, कृषि, पशुपन्छी तथा मत्स्य तथ्यांक अद्यावधिक कार्यक्रम, किसान सूचीकरण लगायतका कार्यक्रमका लागि ससर्त अनुदानबाट आवश्यक बजेट विनियोजन गरिएको, उत्पादनमा प्रोत्साहन गर्ने प्रयोजनका लागि किसानहरूको समेत ५० प्रतिशत साझेदारी रहने गरी यान्त्रीकरण एवम् उपकरण साझेदारी कार्यक्रम सञ्चालन गरिने, साना सिँचाइ प्रवद्र्धन र आलु तरकारी तथा मसला बाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदान उपलब्ध गराइने गाई भैँसीलाई सुत्केरी भत्ता उपलब्ध गराउनका लागि बजेट विनियोजन गरिएको छ ।

सामाजिक विकासतर्फ सामाजिक विकास समिति र मातहतका शाखाहरूका लागि एकमुष्ट १२ करोड ३ लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ । सामाजिक विकासको क्षेत्रमा कूल बजेटको १६ प्रतिशत विनियोजन गरिएको हो । स्वास्थ्यतर्फ नसर्ने रोगहरू (प्रेसर, सुगर, मिर्गौला) र महिलाहरूमा बढ्दो पाठेघरको क्यान्सर पहिचान तथा रोकथामका लागि समुदायस्तरमा शिविर सञ्चालन गर्नका लागि ३५ लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ । नागरिकहरूले कोहलपुर नगर अस्पतालबाट प्राप्त गर्ने सेवालाई सरल बनाउनुका साथै नगर अस्पतालबाट प्राप्त हुने निःशुल्क औषधी वितरणलाई प्रभावकारी बनाउनका लागि ३५ लाख रूपैयाँ बजेट विनियोजन गरिएको उल्लेख छ ।

त्यसैगरी शिक्षातर्फ विद्यालयहरूमा नगरपालिकाबाट खटाइएका शिक्षकहरू, विद्यालयमा कार्यरत कर्मचारी तथा बालविकास शिक्षक, स्वयंसेवक शिक्षकहरूको सुविधालाई निरन्तरता दिँदै नगरपालिका र प्रधानाध्यापकसँग कार्य सम्पादन सम्झौता गरी कार्य सम्पादन मूल्यांकनको लागि बजेट व्यवस्थापन गरिएको छ । शिक्षक तथा विद्यालय कर्मचारी, विद्यालय व्यवस्थापन समिति, अभिभावकको क्षमता विकास गर्नका लागि राम मावि कोहलपुर– १४ हवलदारपुरमा रहेको शैक्षिक तालिम केन्द्रको स्थापना गरी सञ्चालनमा ल्याउन आवश्यक बजेट विनियोजन गरिएको छ ।

महिला तथा बालबालिकातर्फ महिला दलित, जनजाति, पिछडिएको समुदाय समेतका लक्षित वर्गहरूको सशक्तीकरणका लागि चेतनामूलक, आयमूलक, सीपमूलक र नेतृत्व विकाससम्बन्धी कार्यक्रम सञ्चालन, अपांगता भएका व्यक्तिहरूका लागि आवश्यक सहायक सामाग्रीहरू वितरण गर्न तथा विभिन्न आयमूलक र सीपमूलक कार्यक्रम सञ्चालन, लैंगिक समानता र सामाजिक समावेशीकरणलाई प्रोत्साहन गर्न महिला पुरुष समविकास कार्यक्रम सञ्चालन, बालविवाह न्यूनीकरण, बालबालिका माथि हुने यौनजन्य हिंसा न्यूनीकरण, बालश्रम र लागूपदार्थ दुव्र्यसनी न्यूननीकरण लगायतका कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ ।

पूर्वाधार विकासतर्फ २९ करोड ५९ लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ । पूर्वाधार विकासतर्फ विगतदेखिका क्रमागत र बहुबर्षीय आयोजना, समपूरक कोष भैपरी आउने पुँजीगत खर्च र चालू आवमा भुक्तानी दिन नसकी दायित्वमा सारिएका योजनाहरूका लागि बजेट विनियोजन गरिएको उल्लेख छ । भौतिक पूर्वाधारतर्फ विनियोजन भएको रकम कूल बजेटको करिव ४० प्रतिशत हो । क्रमागत तथा बहुबर्षीय आयोजनाहरूका लागि ६ करोड विनियोजन गरिएको छ । संघीय सरकार तथा प्रदेश सरकारसँगको साझेदारीमा सञ्चालन गरिने समपूरक आयोजनाहरूमा आवश्यक रकम समपूरण गर्न ३ करोड ५० लाख, विभिन्न भैपरी आउने पुँजीगत कार्यक्रमका लागि २५ लाख रूपैयाँ विनियोजन गरिएको छ । साथै चालू आवमा काम सम्पन्न भई भुक्तानी दिन नसकिएका योजनाहरूका लागि पाँच करोड भुक्तानी दिन बाँकी दायित्वमा राखिएको उल्लेख छ ।

वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ ४८ लाख ५० हजार, खानेपानी सरसफाइ तथा वातावरण उपशाखातर्फ आवश्यक बजेट विनियोजन गरिएको छ । नगर प्रहरीहरूका लागि आवश्यक सुरक्षा उपकरणहरू उपलब्ध गराइनुका साथै विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन तालिम सञ्चालन गरिने, ट्राफिक व्यवस्थापनका साथै सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । विपद्बाट हुने सम्भावित क्षति न्यूनीकरण तथा उद्धार एवम् राहत सामाग्री वितरण कार्यका लागि विपद् व्यवस्थापन कोषमा रहने गरी १६ लाख रूपैयाँ बजेट विनियोजन गरिएको उपप्रमुख सुवेदीले प्रस्तुत गरेको बजेटमा उल्लेख छ ।

सुशासन तथा संस्थागत विकास समितितर्फ विनियोजित गरिएको ५६ लाख ५० हजार रकमबाट विभिन्न कार्यक्रमहरू गरिने बताइएको छ । त्यसैगरी न्याय सम्पादन गर्ने कार्यलाई प्रभावकारी बनाइने, वडास्तरमा मेलमिलापकर्ताहरूको क्षमता अभिवृद्धि गरी नागरिकलाई प्रत्यक्ष न्यायको अनुभूति दिलाइने बजेटमा जनाइएको छ । महिला, दलित, जनजाति, पिछडिएका वर्ग, मुस्लिम समुदाय एवम् सीमान्तकृत समुदायहरूको अधिकारका विषयमा विद्यमान कानुनी व्यवस्थाका बारेमा आवश्यक प्रशिक्षण प्रदान गरिने उल्लेख छ ।

कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि २० करोड ८० लाख रूपैयाँ विनियोजन गरिएको तथा बसपार्क स्थापना गर्दा नगर विकास कोषमार्फत लिइएको ऋण वापतको किस्ता भुक्तानीका लागि एक करोड रूपैयाँ बजेट विनियोजन गरिएको उपप्रमुख सुवेदीले प्रस्तुत गरेको बजेटमा समावेश गरिएको छ । उपप्रमुख सुवेदीले चालू आवमा कोहलपुर नगरपालिकाको आन्तरिक कर तथा गैरकर राजस्व, बेरुजु र सञ्चित कोषको बैंक तथा नगद मौज्दातसमेत गरी १६ करोड ८० लाख संशोधित आय अनुमान गरिएको बताइन् ।

संघीय सरकारबाट वित्तीय हस्तान्तरण भई प्राप्त हुने समानीकरण अनुदान, ससर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदानसमेत गरी ५१ करोड चार लाख, प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान, ससर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदानसमेत गरी तीन करोड ९८ लाख संशोधित आय अनुमान गरिएको उनले बताइन् ।

उल्लेखित आय शीर्षक तथा राजस्व बाँडफाँटसमेत गरी चालू आव ०८१–८२ को लागि ९४ करोड २८ लाख संशोधित आय अनुमान गरी सोहीबमोजिम व्यय अनुमान गरेको उनले उल्लेख गरिन् । चालू आवको जेठ मसान्तसम्म चालू खर्च ७२ प्रतिशत, पुँजीगत खर्च ५३ प्रतिशत रहेको र चालू आवको मध्यावधिसम्म ६५ प्रतिशत खर्च भएको उनले बताइन् । चालू आवका लागि एक अर्ब पाँच करोड नौ लाख २७ हजार रूपैयाँको बजेट प्रस्तुत गरिएको थियो ।
कोहलपुर नगरवासीको माग, चाहना र आवश्यकता पूरा गर्न बस्ती, वडा तथा नगरस्तरमा भएका छलफल तथा अन्तक्र्रियात्मक कार्यक्रम, विषयगत समितिमा भएका छलफल, राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, समाजसेवी, सञ्चारकर्मी लगायतबाट प्राप्त रचनात्मक सुझावलाई समेटेर बजेट तर्जुमा गरिएको उनले बताइन् ।

संघीय तथा प्रदेश सरकारबाट बाँडफाँट भई प्राप्त हुने राजस्वको सीमाभित्र प्रशासनिक तथा कार्यालय सञ्चालन खर्च रहने गरी बजेट प्रस्ताव गरिएको उपप्रमुख सुवेदीले बताइन् । संघीय सरकार एवम् प्रदेश सरकारबाट वित्तीय हस्तान्तरण भई प्राप्त हुने समानीकरण अनुदान, ससर्त-समपूरक-विशेष अनुदान र कोहलपुर नगरपालिकाको आन्तरिक राजस्वतलाई बजेटका प्राथमिकता र उद्देश्य हासिल गर्न सक्ने कार्यक्रमहरूमा बजेट विनियोजन गरिएको उनको भनाइ छ ।

‘समृद्ध कोहलपुरः समुन्नत कोहलपुर नगरवासी’को लक्ष्यका साथ बजेटका मुख्य उद्देश्यहरू राखिएको उनले बताइन् । यो लक्ष्य प्राप्तिका लागि प्रविधिको उपयोग गरी गुणस्तरीय एवम् सीपमूलक शिक्षामा जोड दिइने, स्वास्थ्य सेवालाई प्रभावकारी र गुणस्तरीय बनाई नागरिक पहुँच अभिवृद्धि गरिने, कृषिमा यान्त्रिकीकरण र आधुनिकीकरण गरी निर्वाहमुखी कृषिलाई उत्पादनमुखी र व्यवसायिक बनाइने, विकास र वातावरणबीच सन्तुलन हुने गरी दिगो वातावरणमैत्री भौतिक पूर्वाधार विकासमा जोड दिइने, समाजका सबै वर्ग, क्षेत्र र समुदायको समविकास एवम् सेवाग्राहीमैत्री बनाई सेवाप्रवाहमा पारदर्शिता तथा उत्तरदायित्व अभिवृद्धि गरिने प्रस्तुत बजेटमा उल्लेख गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार ९ गते सोमबार