प्रतिष्ठानको कृति विमोचन, पुरस्कार प्रदान तथा समालोचना प्रशिक्षण



कोहलपुर ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजना तथा कोहलपुर वाङ्मय प्रतिष्ठान कोहलपुर नगरपालिकाको सहयोगमा शनिबार कोहलपुरमा कृति विमोचन, पुरस्कार प्रदान तथा समालोचना प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानद्वारा प्रकाशित प्राज्ञ महानन्द ढकालको समालोचना कृति ‘खटप्वालबाट नियाल्दा’, कोहलपुर वाङ्मय प्रतिष्ठानले प्रकाशन गरेको पहिलो अनुसन्धानात्मक पुस्तक ‘कोहलपुर र रैथाने ः एक अन्वेषण’ र ‘रोहिणी’ पत्रिकाको दोस्रो अङ्क विमोचन गरिएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञसभा सदस्य प्रा.डा. कपिलदेव लामिछाने तथा कार्यक्रमका विशिष्ट अतिथि लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.डा.कृष्णप्रसाद घिमिरेले संयुक्तरूपमा विमोचन गरेका थिए । सोही अवसरमा कोहलपुर वाङ्मय प्रतिष्ठानले स्थापना गरेको ‘वाङ्मय पुरस्कार’ कवि तथा गजलकार परदीप भट्टराई तथा कलाकार (मूर्तिकार) केशवबहादुर खड्कालाई जनही दश हजार पाँच सय रूपैयाँका दरले प्रदान गरिएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा समालोचना लेखनसम्बन्धी प्रा.डा.कपिलदेव लामिछाने र प्रा.डा.कृष्णप्रसाद घिमिरेबाट प्रशिक्षण तथा कार्यशाला सञ्चालन गरिएको थियो । प्रशिक्षण तथा कार्यशालामा पाँच दर्जनबढी प्रशिक्षार्थीहरू सहभागी रहेका थिए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य प्राज्ञ महानन्द ढकाल, बागेश्वरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दानबहादुर हमाल, कोहलपुर वाङ्मय प्रतिष्ठानकी का.वा. अध्यक्ष सुमित्रा न्यौपाने तथा कवि परदीप भट्टराईले मन्तव्य राखेको कार्यक्रमलाई हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका उपाध्यक्ष डा.खोपिराम वली क्षेत्रीले स्वागत गरेका थिए ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष डा.पुष्कर रिजालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन साहित्यकार प्रकाश मरासिनीले गरेका थिए । ‘खटप्वालबाट नियाल्दा’ समालोचना कृतिका लेखक प्राज्ञ महानन्द ढकाल मिसन टुडे राष्ट्रिय दैनिकका साहित्यिक सम्पादक हुन् । यसअघि उनका ‘खण्डित आत्मा’ गजल सङ्ग्रह, ‘उस्तै उस्तै नदीका उस्तै उस्तै छालहरू’ गजल सङ्ग्रह, ‘अव्यक्त प्रत्याशा’ गजल सङ्ग्रह, ‘घाम उदाए’ हाइकु सङ्ग्रह, ‘सिमाना’ मुक्तक सङ्ग्रह र ‘बुह्रान’ उपन्यास प्रकाशित भइसकेका छन् । उनको यो सातौँ कृति हो ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार ८ गते आइतबार