११ जनालाई सहायक सामग्री प्रदान



नेपालगन्ज ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले ११ जना शारीरिक अपांगता भएका व्यक्तिहरूलाई सहायक सामग्री प्रदान गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोग तथा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्राविधिक सहयोगमा उनीहरूलाई सहायक सामग्री प्रदान गरिएको हो ।

बिहीबार एक कार्यक्रमकाबीच नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्माले सहायक सामग्री हस्तान्तरण गरेका थिए । कृत्रिम हात, खुट्टा, एंगल क्याप, क्यालिफर लगायतका सामग्री प्रदान गरिएको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी महिला विकास अधिकृत आशा कुमारी शाहीले जानकारी दिइन् ।

सामग्री हस्तान्तरण कार्यक्रममा नगर प्रमुख विष्टले अपांगता भएका व्यक्तिहरूको सहयोग र वृृत्ति विकासका लागि नेपालगन्ज उपमहानगरपालिका गम्भीर र संवेदनशील रहेको बताए । उपमहानगरपालिकाले यसअघि यही आर्थिक वर्षभित्रै अपांगता भएका ५५ जनालाई विभिन्न संघसंस्थाको समन्वयमा सहायक सामग्री वितरण गरिसकेको महिला विकास अधिकृत शाहीले जानकारी दिइन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार ६ गते शुक्रबार