भिजिट भिसा प्रकरणको छानविन गर्न प्रधानमन्त्रीलाई मागपत्र



कोहलपुर (बाँके) ।

भिजिट भिसाको दुरुपयोग तथा मानव तस्करीसम्बन्धी उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला समितिले बाँकेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मागपत्र बुझाएको छ । रास्वपा बाँकेले बिहीबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री ओलीलाई पाँच बुँदे मागपत्र बुझाएको हो ।

बाँके सभापति हरिपाल सिंह केसीद्वारा हस्ताक्षरित माग पत्रमा भिजिट भिसाको नाममा अवैध रूपमा मानव तस्कारीको शिकार बनिरहेका यथार्थ घटना सार्वजनिक भइरहेको भन्दै यस्ता गतिविधिले नेपाली राज्यव्यवस्था, कानूनी शासन र मानव अधिकारमाथिको गम्भीर प्रहार भएको उल्लेख गरिएको छ ।

मागपत्रमा भिजिट भिसाको नाममा भएको मानव तस्करी र संगठित अपराधमा सरकारी संयन्त्र, ट्राल्भल एजेन्सी, म्यानपावर कम्पनी, एयरलायन्स र नेपाली तथा नियोगहरूको संलग्नता भएको आंशका भएको हुँदा यसको व्यापक बहुआयमिक अनुसन्धान गर्न उच्चस्तरीय छानविन समिति गठन माग हुनुपर्ने माग गरिएको छ ।

यस्तै छानविन समितिको संरचना, व्यवस्थापन र अधिकार निर्धारण गर्न कार्य सम्पादन समिति एकदिनभित्र गठन हुनुपर्ने, दोषीमाथि कारबाही, पीडितलाई क्षतिपूर्तिको व्यवस्था र मानव तस्करी जस्तो गम्भीर विषयमा राजनीतिक, प्रशासनिक, जवाफदेहिता र कर्तव्य बोधसहित गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरिएको छ । सोही विषयलाई लिएर रास्वपाले लामो समयदेखि प्रतिनिधि सभामा छानविन समितिको माग गरिरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार ६ गते शुक्रबार