विनयी खोलाको बाढीले बगायो काठमाडौँबाट नेपालगन्ज आइरहेको यात्रुवाहक बस



बाँके ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएको छ ।

काठमाडौँबाट नेपालगञ्जतर्फ आइरहेको भे१ख ४०८५ नम्बरको बसलाई गए राति बाढीले बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख प्रहरी निरीक्षक राजन तिमिल्सेनाले जानकारी दिए । विनयी खोलाको नयाँ डाइभर्सनबाट बस गुडिरहेको बेला एक्कासि आएको बाढीले बस बगाएको हो ।

‘नयाँ डाइभर्सनबाट आउँदै गर्दा बाढीले बस बगाएको हो’, प्रहरी निरीक्षक तिमिल्सेनाले भने– ‘तत्काल एक्साभेटर लगेर सबै यात्रुको सकुशल उद्धार गर्न सफल भयौँ ।’

बसमा तीन शिशुसहित ३८ जना यात्रु रहेका थिए । उक्त क्षेत्रमा पानी निरन्तर परिरहेका कारण खोलाबाट बस निकाल्न नसकिएको उनले बताए । यात्रुको सामान के कति बगायो भन्नेबारे थाहा हुन सकेको छैन । रातभरि परेको पानीका कारण उक्त सडकखण्ड पूर्णरूपमा अवरुद्ध छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार ६ गते शुक्रबार