कारागारमै बन्दीको शंकास्पद मृत्यु : शरीरभरी निलडाम, प्रहरीको खातामा ८५ हजार जम्मा



कैलाली जिल्ला कारागारमा रहेका डडेल्धुराका भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिशसिंह पालीको मृत्यु शंकास्पद देखिएको छ । पालीका परिवारले हरिशसिंहको मृत्युलाई शंकास्पद रहेको भन्दै शव बुझ्न मानेका छैनन् । मृतकका आफन्त नाता पर्ने जगदीश रावलले कारागारभित्रै हरिसिंहलाई यातना दिइएको दाबी गरे । ‘शरीरभरी निलडाम छन्, टाउकोबाट रगत बगेको थियो,’ उनले भने ‘छानबिन नहुँदासम्म शव बुझ्दैनौं ।’
शेरबहादुर ऐर । कैलाली ।

घटनाक्रम १ः ‘गाला सुन्निएको छ । हात, खुट्टा, छातीभरी निलो डाम छ । टाउको पछाडिबाट रगत बगेको अवस्था छ ।’ उनलाई धेरै कुटपिट गरिएको देखिने यो घटनालाई कैलाली प्रहरीले हृद्यघातका कारण मृत्यु भएको प्रतिक्रिया दिएपछि घटना थप शंकास्पद बनाउन खोजिएको छ ।

डडेल्धुराको भागेश्वर गाउँपालिका–५ निवासी २८ वर्षीय हरिशसिंह पालीलाई चेक अनादर मुद्दामा पक्राउ गरेर कारागार चलान गरेको थियो । जेठ १ गते कारागार चलान भएका उनलाई जेठ २ गते राति ११ बजे सेती प्रादेशिक अस्पताल लगिएको थियो । चिकित्सकले उनलाई मृत घोषणा गरेपछि उनका आफन्त र व्यवसायीहरूले प्रहरीकै मिलेमतोमा उनी मारिएको भन्दै शव बुझेका छैनन् ।

घटनाक्रम २ः पालीलाई कारागार चलान गरेको दोस्रो दिन अर्थात् असार २ गते डडेल्धुराकै व्यापारी जगदिशसिंह रावलले ग्लोबल आइएमई बैंकको धनगढी शाखामा हरजित नाथको खातामा एक हजारका ८५ वटा नोटका दरले ८५ हजार रकम जम्मा गरिएको छ । नाथ कैलाली प्रहरीको प्राविधिक फाँटका प्रहरी नायब निरीक्षक हुन । उनै नाथले पालीकी श्रीमतीलाई फोन सम्पर्क गराउँदै थप एक लाख ८७ हजार रकम उपलब्ध गराए कारागारबाट छुटाइदिने बताएका थिए ।

घटनाक्रम ३ः नाथले २०७२–०७३ मा व्यवसायी पालीलाई बिनाब्याज चार लाख रकम दिएका थिए । व्यवसायी पालीले चार लाखमध्ये दुई लाख नगद र दुई लाखको चेक नाथलाई उपलब्ध गराएका थिए । तर, २०७७ सालमा नाथले पालीविरुद्ध चेक अनादरमा जिल्ला अदालत कैलालीमा मुद्दा दायर गरे ।

२०८० सालमा अदालतले नाथको पक्षमा फैसला गराएको थियो । तर, नाथले फैसला भएको दुई वर्षसम्म पालीलाई पक्राउ गराएनन् । जेठ ३० गते डडेल्धुरा पुगेका नाथले पालीलाई चिया खान भनी भेटघाटका लागि बोलाएका थिए । होटलमा संवाद भएपछि नाथले डडेल्धुराबाटै एक जना प्रहरीको सहायतामा थुनामा पुराएका थिए ।

घटनाक्रम ४ः कैलाली कारागारले पाली अस्वस्थ भएपछि राति सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको प्रतिक्रिया दिएको छ । पालीलाई एक सय दुई डिग्रीको ज्वरो आउनुका साथै न्यून रक्तचाप रहेको कारण हृदयघात भएको बताइरहेको कारागारले उनलाई कुन अवस्थामा अस्पताल पुराएको भन्ने दृश्य भिडिओमा स्थानीयहरूले हेर्न माग गर्दा त्यहाँ जडान भएको सोही दिनको उनलाई अस्पताल पु¥याउँदै गरेको दृश्य सीसीटिभीमा पनि छैन र सोही समयमा हार्डडिस्कमा समस्या आएर रेकर्ड नभएको प्रतिक्रिया दिएपछि सो घटना थप रहस्यमय बनेको छ ।

भारतीय नागरिकसँगको लेनदेनका विषयमा दुई महिना अगाडि महेन्द्रनगरमा दुई घण्टा हिरासतमा राखी बार्गेनिङमा छोडेका पाली एक व्यवसायी भएको र भारतीय व्यवसायीहरूसँग लेनदेनको प्रक्रिया रहेको, त्यसै प्रक्रियाको बीचमा प्रहरी नायब निरीक्षक नाथले दलालको भूमिका निभाएर प्रहरीको बर्दीको आडमा ज्यादती गर्दै मिलेमतोमा आघात यातना दिई हत्या गरेको आफन्तहरूको आरोप छ । पालीलाई डडेल्धुराबाट निजी गाडीको प्रयोग गरी जिल्ला प्रहरी कार्यालय कैलाली पु¥याइएको थियो ।

बैंकिङ कसुरमा दोषी ठहर भई कारागारमा कैद सजाय भोगिरहेका पाली असार २ गते बिहान अचानक बिरामी परेपछि उपचारका लागि अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिए । डीएसपी सिंहका अनुसार बैंकिङ कसुर मुद्दामा पाली जेठ २९ गते डडेल्धुराको अमरगढी नगरपालिका–५ स्थित तुफानडाँडाबाट पक्राउ परेका थिए । उनलाई जेठ ३० गते बेलुकीपख कैलाली ल्याइएको थियो । जेठ ३१ गते शनिबार परेको हुँदा असार १ गते मात्रै पालीलाई अदालतमा उपस्थित गराइएको थियो ।

अदालतको आदेशले तोकिएको सजाय भुक्तानीका लागि पालीलाई सोही दिन जिल्ला कारागार कैलालीमा चलान गरिएको थियो । कारागार चलान भएको दोस्रो दिन राति पाली एकाएक बिरामी भएका थिए । सोमबार राति साढे ११ बजेतिर उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पु¥याइएको थियो । चिकित्सकले उनलाई राति सवा १२ बजे मृत घोषणा गरेको डीएसपी सिंहले जानकारी दिए ।

डीएसपी सिंहका अनुसार एकाएक पाली अस्वस्थ भएपछि कारागारकै स्वास्थ्यकर्मीले सुरूमा उनको स्वास्थ्य चेक गरेका थिए । कारागारले प्रहरीलाई पठाएको स्वास्थ्य चेकजाँचको रिपोर्टमा १०५ डिग्री ज्वरो र रक्तचाप ६०÷४० उल्लेख रहेको डीएसपी सिंहले जानकारी दिए । प्रहरीका अनुसार पालीका विरूद्ध जिल्ला अदालत कैलालीले २०८० फागुन २९ गते बैंकिङ कसुरमा १० दिन कैद र दुई लाख जरिवानाको फैसला सुनाएको थियो । पालीविरूद्ध २०८० वैशाख २१ गते बैंकिङ कसुर सम्बन्धी मुद्दा दायर भएको थियो । अदालतको सोही आदेश कार्यान्वयनका लागि पालीलाई पक्राउपछि कैलाली कारागारमा चलान गरिएको थियो ।

तर उनको जेल परेको दोस्रो दिनमै मृत्यु भएपछि आफन्तले घटना शंकास्पद भन्दै शव बुझ्न मानेका छैनन् । उनीहरूले छानबिनको माग गरिरहेका छन् । पालीको शव सेती अस्पतालको शव गृहमै छ । आफन्तले मृतक पालीको शरीरमा निलडाम तथा चोटपटक देखिएको भन्दै कारागारभित्र चरम याताना दिई हत्या गरेको दाबी गर्दै आएका छन् । प्रहरी अधिकारी भने पोष्टमार्टम रिपोर्टपछि मात्रै पालीको मृत्युको कारण स्पष्ट भन्न सहज हुने बताउँछन् ।

डीएसपी सिंहले भने नाथ आफैँ जाहेरीवाला भएको हुँदा फैसला कार्यान्वयनका सवालमा फोन गरेको बताए । नाथको खातामा आफन्तले पैसा जम्मा गरेको भन्ने कुरा भने जानकारी नरहेको डीएसपी सिंहले बताएका छन् । रकम लिएको आरोप लागेका प्रहरी नायब निरीक्षक नाथले मुद्दाको बहसका क्रममा सबै रकम आफूले नै भुक्तानी गरेको बताए । अदालतले दुई लाख जरिवानासहित सजाय तोकेकोले सोही फैसला अनुसार पालीलाई पक्राउ गराएको उनले दाबी गरे ।

दिनभरी डडेल्धुरामा तनाव

पाली घटनाको निष्पक्ष छानबिनको माग गर्दै डडेल्धुरा उद्योग वाणिज्य संघको अगुवाइमा दबाब कार्यक्रमहरू अघि बढाइएको छ । प्रहरीको ज्यादतीमा पालीको मृत्युभन्दा पनि हत्यानै भएकोले निष्पक्ष अनुसन्धानको माग गर्दै उनीहरूले दबाबका कार्यक्रम अघि बढाएका छन् ।

मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न माग गर्दै उद्योग वाणिज्य संघ डडेल्धुराको नेतृत्वमा बजार बन्दसहितको आन्दोलन सुरु गरिएको छ । डडेल्धुरा उद्योग वाणिज्य संघका साधारण सदस्य तथा न्यू महादेव कस्मेटिक एण्ड सप्लार्यसका प्रोपराइटरसमेत रहेका पालीको घटनामा प्रहरीको कमजोरी रहेको उल्लेख छ । संघले दिनभरी बजार बन्द गराएपनि अपरान्ह ४ बजेतिर संघर्षका कार्यक्रम फिर्ता गरेको थियो ।

संघले एक विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘संघले गरेको बजार तथा यातायात बन्दको कार्यक्रम पीडित पक्षले किटानी जाहेरी मुद्दा दर्ता र सहायक प्रमुख जिल्ला अधिकारी ज्यूको नेतृत्वमा छानबिन समिति गठन गरी उक्त समितिमा डडेल्धुरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष लोकराज भट्ट रहनुभएको तथा केन्द्रबाट सिबिआईको टोलीद्वारा घटनाको जाँचबुझ गर्न आउने सहमति भएकाले आकस्मिक आन्दोलनका कार्यक्रमहरू स्थगित गर्ने र किटानी जाहेरीका आधारमा आरोपीलाई पक्राउ गरि कारबाही प्रक्रिया अगाडि नबढाइएमा पुनः बन्दसहितको कार्यक्रम सशक्त रूपमा अगाडि बढाउने जानकारी गराइन्छ ।’

  • No tags available
प्रकाशित मिति : २०८२ असार ५ गते बिहीबार