डडेल्धुरा अस्पतालमा २२ शिशुको गर्भमै मृत्यु



डडेल्धुरा ।

मृत जन्मको चुनौती कायमै रहेको छ । यस वर्षको वैशाख महिनासम्म डडेल्धुरा अस्पतालमा डेलीभरी हुन पुगेकाहरूमध्ये २२ शिशु मृत जन्मिएका छन् । गत वर्षको भन्दा यो सङ्ख्या कम भए पनि मृत जन्मदरको चुनौती कायमै रहेको छ । आर्थिक वर्ष २०७९÷८० मा जन्मेकाहरूमध्ये २४ शिशु मृत जन्मिएका थिए । यो वर्ष दुई हजार १५८ शिशुको जन्म डडेल्धुरा अस्पतालमा भएको थियो । मृत जन्मदरको सङ्ख्या आर्थिक वर्ष २०८०÷८१ मा बढेर ३८ पुगेको थियो ।

यो वर्ष एक हजार ८८१ शिशुको जन्म अस्पतालमा भएको थियो । चालू आर्थिक वर्षको वैशाख महिनासम्म एक हजार ६२८ शिशुले डडेल्धुरा अस्पतालमा जन्म लिएका छन् । यस वर्ष अझै केही दिन बाँकी रहेकाले मृत जन्मदरको सङ्ख्या बढ्न सक्ने स्वास्थ्य कार्यालय डडेल्धुराका कार्यालय प्रमुख केशर साउदले बताए । उनका अनुसार मृत जन्मदरको चुनौती देशैभर छ ।

अस्वास्थ्यकर खानपिन, समयमै चेकजाँच नहुनु मृत जन्मदरको मुख्य चुनौती रहेको छ । प्लासेन्टको मुख्य चुनौती रहेको उनको भनाइ छ । प्लासेन्टबाट बच्चाले अक्सिजन पाउने हो । उनले भने, ‘बच्चा जन्मिनुभन्दा पहिले नै पाठेघरको भित्ताबाट प्लासेन्ट छुट्टिक्रम चाँडो सुरु हुन्छ र बच्चाले अक्सिजन पाउँदैन । एउटा कारण यो हो ।’

महिलाहरूलाई हुने विभिन्न संक्रमणका कारण पनि मृत जन्म हुने उनको भनाइ छ । कतिपयमा जन्मजातका विकृतिहरू हुने हुन्छन् । उनले भने, ‘मुटु, मस्तिष्कलगायतका भागहरू राम्रोसँग विकसित भएका हुँदैनन् । यस्तो अवस्था भयो भने जन्मिने क्रममा वा गर्भ रहेको २० हप्ता पछाडि बच्चाको मृत्यु हुने सम्भावना धेरै हुन्छ ।’ प्लासेन्ट र बच्चाको नाभिमा जोडिएको कम्व्लिकलकर्ड भन्ने एउटा पाइप हुन्छ । कहिलेकाहीँ त्यो पाइप बच्चाको घाँटीमा बेरिने सम्भावना हुने र बच्चालाई सप्लाइ हुने अक्सिजन नपुगेपछि पनि बच्चाको मृत्यु हुने उनले बताए ।

धेरै कारणहरू हुन्छन् । उनले भने, ‘३०–५० प्रतिशत थाहा नै नभइ मृत्यु भएको भन्ने छ ।’ गर्भवती आमाको स्वास्थ्यका हिसाबले पनि बच्चाको मृत्यु हुने उनले बताए । आमामा उच्च रक्तचाप, सुगर, थाईराइडलगायतका विभिन्न रोगको सङ्क्रमण छ भने पनि बच्चाको मृत्यु हुनसक्ने अवस्था रहेको उनले बताए । कतिपय आमाहरूले मद्यपान, धुम्रपान गर्ने लगायत वातावरण प्रदूषण र घरबाट निस्कने धुवाँले समेत पेटभित्रै बच्चाको मृत्यु हुन सक्ने उनको भनाइ छ ।

समयमै पहिचान गर्नसक्यो भने मृत जन्मदर रोक्न सकिने उनले बताए । आमाको स्वास्थ्य कस्तो छ ? बच्चाको स्वास्थ्य उमेरअनुसार वृद्धिविकास भएको छ वा छैन भनेर अल्ट्रासाउण्ड गरिनुपर्दछ । उनले भने, ‘आठ पटक स्वास्थ्य जाँच गराउनु पर्दछ । ग्रामीणभेगमा पनि रुलर अल्ट्रासाउण्ड गरिन्छ । एएनसी जाँच भन्ने हुन्छ । अल्ट्रासाउण्ड गर्दा कस्तो ठाउँमा डेलीभरी गराउने भन्ने जानकारी हुने भएकाले मृत जन्मदर कम गर्न सकिने उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार ५ गते बिहीबार