सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी जनचेतना कार्यक्रम



घोडाघोडी (कैलाली) ।

सुन्दर सुदुरपश्चिम यातायात प्रालिको आयोजनामा सवारी चालकहरूलाई ‘सवारी दुर्घटना न्यूनीकरण’ सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम कैलालीको घोडाघोडीमा सम्पन्न भएको छ । ‘स्तरीय सेवा हाम्रो चाहना, सुरक्षित यात्रा हाम्रो कामना’ भन्ने मूल नाराका साथ भएको कार्यक्रमको उद्घाटन घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक रावतले गरेका थिए ।

प्रशिक्षण कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेका घोडाघोडी नगरपालिकाका नगर प्रमुख रावतले दुर्घटना न्यूनीकरणमा प्रमुख भूमिका सवारीचालकहरूको रहेको बताए । उनले साँघुरो सडक, लेन अनुशासन मिच्ने मान्छे, छाडा चौपायाका कारण पनि बेलाबेलामा दुर्घटनाका घटना हुने गरेकोले सम्बन्धित सबै निकायले ध्यान दिनु पर्ने बताए । नगर प्रमुख रावतले सवारी दुर्घटना न्यूनीकरणका लागि घोडाघोडी नगरपालिका सदैव अग्रसर रहने प्रतिबद्धतासमेत व्यक्त गरे ।

प्रालिका अध्यक्ष पदमराज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सवारी चालक, स्थानीय बासिन्दा लगायतको निःशुल्क स्वास्थ्य परीक्षणसमेत गरिएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै प्रालिका अध्यक्ष सापकोटाले ‘स्तरीय सेवा हाम्रो चाहना, सुरक्षित यात्रा हाम्रो कामना’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै प्रालिले सवारीचालक र यात्रुहरूलाई नियमित रूपमा सवारी दुर्घटना न्यूनीकरणमा चालक र यात्रुका साथै सडक यात्रुलाई समेत प्रशिक्षण दिँदै आएको बताए ।

सवारी दुर्घटना कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा प्रालि सदैव चिन्तित रहेको बताउँदै अध्यक्ष सापकोटाले जनचेतनाका कार्यक्रम निरन्तर चलिरहने बताए । जनचेतनामूलक कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) डम्बरबहादुर बिकले सवारीधनी र चालकले आआफ्नो सवारीसाधनको नियमित चेकजाँच गर्न आवश्य रहेको औँल्याए । सवारी चालकले सडक लेन र गतिमा नियन्त्रण राख्न आवश्यक रहेको बताउँदै उनले सडक यात्रुहरूले समेत सडक पेटीको प्रयोग गरे दुर्घटना न्यूनीकरण हुने बताए ।

यस्तै, कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ सुदूरपश्चिम प्रदेश संयोजक टेकराज जोशी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक प्रेम शाही, सेती महाकाली ट्रक यातायात व्यवसायी संघका अध्यक्ष मोहन साउद, विभिन्न मजदुर संगठनका प्रमुख प्रतिनिधिहरूले सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका बारेमा सवारी चालक र स्थानीयहरूलाई जानकारी गराएका थिए । यसैगरी कार्यक्रमको सञ्चालन प्रालिका महासचिव सुरेन्द्र बोहराले गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार ५ गते बिहीबार