कोपिला भ्याली स्कुल विश्वकै उत्कृष्ट १० मा छनौट



वीरेन्द्रनगर ।

सुर्खेतका रहेको कोपिला भ्याली स्कुल विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार २०२५ को शीर्ष १० मा छनौट भएको छ । यो नेपालकै पहिलो र गौरवको इतिहास हो । विद्यालयले बुधबार पत्रकार सम्मेलन गर्दै सन् २०२५ का लागि विश्वकै उत्कृष्ट विद्यालय पुरस्कारको अन्तिम १० मा छनोट भएको जानकारी दिएको छ । सन् २०२२ मा कोरोना महामारीपछि सुरु गरिएको टि फोर एजुकेशनको पहलमा आधारित ५ उत्कृष्ट पुरस्कारहरूमध्ये वातावरणीय कार्य श्रेणीमा कोपिला भ्याली स्कुलले उत्कृष्ट १० सुचीमा स्थान बनाएको हो ।

विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष टोपबहादुर मल्लका अन्ुसार यो प्रतियोगितामा नेपालबाट कहिल्यै पनि कुनै विद्यालय अन्तिम सुचीमा परेको थिएन । यो पहिलोपटक हो । जसले समग्र नेपाली शिक्षा क्षेत्रको प्रतिष्ठा बढाएको उनको भनाइ छ । ‘वीरेन्द्रनगर, सुर्खेत, कर्णाली प्रदेशमा अवस्थित यो स्वतन्त्र गैरनाफामूलक विद्यालयले ग्रिन स्कुल क्याम्पमार्फत वातावरणीय दिगोपनालाई शिक्षाको अभिन्न अङ्ग बनाउँदै आएको छ,’ उनले भने, ‘विद्यालयमा अध्ययनरत ४०० भन्दा बढी विपन्न बालबालिकाहरूलाई शैक्षिक र वातावरणीय शिक्षा प्रदान गर्दै आएको छ ।’

५ विधामा प्रदान गरिने पुरस्कारमध्ये समुदाय सहकार्य, वातावरणीय कार्य, नवप्रवर्तन, चुनौती पार गर्ने क्षमता र स्वस्थ जीवनशैलीमा १ विज्ञ निर्णायक मण्डलले विजेता छनौट गर्ने उल्लेख छ । ५ विधाको पुरस्कारका लागि ५० अन्तिम प्रतिस्पर्धी विद्यालयहरू छनौट भएका छन् । उहीबीच कम्यूनिटि च्वाइस अवार्डको लागि सार्वजनिक मतदान सुरु भइसकेको छ । सबै विजेताहरूको घोषणा सन् २०२५ अक्टोबरमा गरिनेछ । कोपिला भ्याली स्कुल पनि उत्कृष्ट १० मध्ये प्रथम हुन अन्य प्रतिस्पर्धी विद्यालयमध्ये उत्कृष्ट भोट ल्याउनुपर्नेछ ।

विजेता र अन्तिम प्रतिस्पर्धीहरूलाई यस वर्ष नोभेम्बर १५–१६ मा अबुधाबी यूएईमा हुने वल्ड स्कुल समिटमा आमन्त्रित गरिनेछ । जहाँ तिनीहरूले आफ्नो अनुभव नीति निर्माताहरूसँग साझा गर्नेछन् । विद्यालयका दिगो कार्यक्रम प्रमुख सुनिता भण्डारीका अनुसार १०० प्रतिशत विद्यार्थी जलवायु साक्षरतासहित स्नातक उत्तीर्ण गर्न सफल भएका छन् भने ९५ प्रतिशत विद्यार्थी राष्ट्रिय कक्षा १० को परीक्षामा सफल भएका छन् । यस्तै ६३ प्रतिशत विद्यार्थी उच्च शिक्षातर्फ उन्मुख छन् ।

शून्य फोहोर अभियानअन्तर्गत ९१ प्रतिशत फोहोर ल्यान्डफिलबाट बचाइएको विद्यालयले जनाएको छ । यसका लागि विद्यालयले २२ स्थानीय महिला किसानहरूसँग सहकार्य गरिरहेको छ । यस विद्यालयले दैनिक ५०० भन्दा बढी विद्यार्थी र कर्मचारीलाई स्थानीय अग्र्यानिक भोजन खुवाउँदै आएको छ । जसमा ५० प्रतिशतभन्दा बढी छात्राहरू र १५० बढी विद्यार्थी साप्ताहिक बगैँचा कक्षामा सहभागी छात्राहरूद्वारा सञ्चालित लैङ्गिक समानता र मासिक धर्म स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको छ ।

विद्यालयले लैङ्गिक समानता, मानसिक स्वास्थ्य, वातावरणीय शिक्षा, पुनःप्रयोग र दिगो कृषि अभ्यासमा आधारित खुला स्रोत मोडल अवलम्बन गरेको छ । जसले देशभरका शिक्षालयहरू र नीति निर्माणकर्ताहरू समेत प्रेरित गर्दै आएको विद्यालयका दिगो कार्यक्रम प्रमुख सुनिता भण्डारीले बताइन् । उनका अनुसार जलवायु परिवर्तन, द्वन्द्व र गरिबीका चुनौतीबीच कोपिला भ्याली स्कुल जस्ता संस्थाहरूले विश्वका शिक्षाका लागि आशाको दियो बालिरहेका छन् ।

यस प्रेरणादायक विद्यालयलाई ‘विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार २०२५’ को अन्तिम सुचीमा परेकोमा उनले खुसी व्यक्त गरिन् ।
उनका अनुसार टि फोर एजुकेशन विश्वभरका शिक्षक र विद्यालयहरूको सबैभन्दा ठूलो डिजिटल समुदाय हो । जसले हरेक बालबालिकाले जहाँ भएपनि गुणस्तरीय शिक्षा पाउनुपर्छ भन्ने विश्वासमा काम गरिरहेको उनले उल्लेख गरिन् ।

जसमा डिजिटल प्लेटफर्ममार्फत शिक्षकहरू सञ्जाल निर्माण, सहकार्य, सफल अभ्यासको आदान–प्रदान र विद्यालयको वातावरण सुधारका लागि जोडिन्छन् । टि फोरको प्राथमिकता शिक्षकहरूको आवाजलाई विश्वसामु पु¥याउनु हो । शिक्षा प्रणालीलाई अझ प्रभावकारी बनाउन उनीहरूको अनुभव, ज्ञान र प्रतिबद्धता नै सबैभन्दा महत्वपूर्ण रहेको टि फोरले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार ५ गते बिहीबार