कोहलपुर (बाँके) ।
आत्महत्या न्यूनीकरणसम्बन्धी विद्यार्थीलाई सचेतना प्रदान गरिएको छ । समाजमा प्रमुख सामाजिक समस्याका रूपमा रहेको आत्महत्या न्यूनीकरणसम्बन्धी जानकारी दिने उद्देश्यले विद्यार्थीहरूलाई सचेतना प्रदान गरिएको हो । बुधबार समाज सेवा संस्थाको आयोजना र कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा कोहलपुर नगरपालिका वडा नम्बर १२ स्थित ज्ञानकुञ्ज इङ्लिस मिडियम स्कुलमा आत्महत्या दुरुत्साहन रोकथाप तथा नियन्त्रणसम्बन्धी परामर्श सचेतनामूलक विद्यालयस्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
स्कुलमा अध्ययनरत कक्षा ५ देखि ८ कक्षासम्मका विद्यार्थीहरूलाई आत्महत्याका कारण, रोकथामका उपाय लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । कार्यक्रममा चप्परगौडी प्रहरी पोष्टका प्रमुख वरिष्ठ हवल्दार भुपबहादुर राम्जालीले आत्महत्या न्यूनीकरणका विषयमा प्रशिक्षण दिएका थिए । उनका अनुसार विभिन्न कारणले जिउँदो आत्माको नास गर्नु भनेको आत्महत्या हो । नेपालको सन्दर्भमा व्यक्तिगत, सामाजिक, सामुदायिक र मनोवैज्ञानिक कारणले आत्महत्याको अवस्थामा पुग्ने गरेको देखिएको उनले बताए ।
आत्महत्या न्यूनीकरणको सबैभन्दा जिम्मेवार स्वयम् व्यक्ति भएको उनले बताए । यस्तै अभिभावक, समुदाय, प्रहरी र सिंगो सरकार आत्महत्या न्यूनीकरणका लागि जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो । विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार विश्वमा एक दिनमा तीन हजार एक सयभन्दा बढीले आत्महत्या गर्ने गरेका छन् । एक वर्षमा एघार लाखभन्दा बढी मानिसहरूले आत्महत्या गरेको तथ्यांकले देखाउँछ । एसियामा भारत, श्रीलंकापछि तेस्रो आत्महत्या गर्ने देशको सुचीमा नेपाल रहेको छ ।
नेपालमा एक लाखमा २६ जनाले आत्महत्या गर्ने गरेको तथ्यांक रहेको छ । नेपालमा पछिल्ला सरकारी र गैरसरकारी तथ्यांकहरूले एक दिनमा औसतमा १६ देखि १९ जनासम्मले आत्महत्या गर्ने गरेको देखाउँछन् । कार्यक्रममा बोल्दै समाज सेवा संस्थाका अध्यक्ष विनोद थापाले संस्थाले कोहलपुर नगरपालिकाको सहयोगमा कोहलपुर क्षेत्रका विद्यालयहरूमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
उनका अनुसार कोहलपुर क्षेत्रका निजी तथा सामुदायिक विद्यालयहरूमा सडक नाटक, सचेतना र अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । ‘हामी विभिन्न विद्यालयमा कार्यक्रम आयोजना गरिरहेका छौँ । आत्महत्या न्यूनीकरण अहिलेको मुख्य सवाल हो । यसमा नगरपालिकाले निकै राम्रो काम गर्दै आएको छ,’ अध्यक्ष थापाले भने । ज्ञानकुञ्ज इङ्लिस मिडियम स्कुल चप्परगौडीका प्रधानाध्यापक टोपेन्द्रराज लामिछानेले विद्यालयमा पहिलोपटक विद्यार्थीहरूलाई सचेतनामूलक कार्यक्रम गरेको भन्दै धन्यावाद प्रकट गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्