
नेपालगन्ज ।
नेपालगन्ज फोटो फेस्टिवलको चौथो संस्करणमा आर्यन धिमालको फोटो वर्ष फोटो घोषित भएको छ । धिमालले खिचेको जाजरकोट भूकम्पमा आफ्नो भत्किएको घरअघि रुँदै गरेकी महिलाको तस्बिरले वर्ष फोटो घोषित भएको हो । प्रतिस्पर्धामा सहभागी भई छानिएका १ सय ११ फोटोहरूमध्ये धिमालको फोटोले उपाधि जितेको हो ।
फेस्टिवलअन्तर्गत राष्ट्रिय फोटो प्रतिस्पर्धाको सबैभन्दा ठूलो र मुख्य पुरस्कार वर्ष फोटो रहेको छ । जसको पुरस्कार राशि ५१ हजार एक सय ११ रूपैयाँ र प्रमाणपत्र रहेको छ । यसैगरी, कृषि विधामा बबी साई, कल्चर विधामा सञ्जय महर्जन, डेली लाइफ विधामा विजय थापा , टुरिजम, नेचर एन्ड कन्जरभेटर विधामा रोमन थारू, स्र्पोट्स विधामा तिलक गाहामगर, नेपाल स्माईल विधामा जीवन लामा, वाईल्ड लाइफ विधामा विनय रावल, टुरिजम बिधामा मनोज पौडेल र न्युज विधामा बरम बुढाका तस्बिर विधागत उत्कृष्ट भएका छन् ।
प्रतिस्पर्धामा छानिएका एक सय ११ फोटोहरूलाई प्रमाणपत्र प्रदान गरिनुका साथै नेपालगन्ज, काठमाडौँ र सातै प्रदेशमा हुने फोटो प्रदर्शनीमा समावेश गरिने आयोजक अन्तरालले जनाएको छ । यी फोटोहरू अन्तरालले प्रकाशन गर्ने फोटो पुस्तकमा समेत समेटिने अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिएका छन् । वरिष्ठ फोटो पत्रकार विकास कार्कीको नेतृत्वमा वरिष्ठ फोटोग्राफर रमेश मल्ल र फोटो पत्रकार केशव थोकर सदस्य रहेको निर्णायक मण्डलले उक्त फोटोहरू छनौट गरेको हो ।
यस्तै, उत्कृष्ट ३१ मा परेका फोटोमध्ये सर्वाधिक भोट प्राप्त गर्ने फोटोग्राफरले पिपुल्स च्वाइस अवार्ड प्राप्त गर्नेछन् । जसको पुरस्कार राशि ५० हजार एक सय ११ रूपैयाँ र प्रमाणपत्र रहेको छ । असार ५ गते बिहीबार दिउँसो १ बजेसम्म उक्त फोटोहरूमा इ–सेवामा गएर भोट गर्न सकिने व्यवस्था गरिएको छ । हरेक विधाको उत्कृष्टलाई पाँच हजार नगद र प्रमाणपत्र प्रदान गरिने आयोजले जानकारी दिएको छ ।
आज बिहीबारसम्म चल्ने फोटो फेस्टिवलको नेपाली काँग्रेसका सह–महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य किशोरसिंह राठौरले यस वर्षको उत्कृष्ट फोटो घोषित फोटोका तस्बिर लिएर उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै राठौरले फोटो फेस्टिवलले फोटोग्राफीको महत्व, आवश्यकता र अपरिहार्यताको महत्वलाई उजागर गर्ने विश्वास व्यक्त गरे । फोटो केवल चित्र खिच्ने प्रक्रिया मात्र नभएर कथा बोल्ने र भन्ने माध्यमसमेत भएको राठौरको भनाइ थियो ।
उनले फोटो फेस्टिवलजस्ता सिर्जनात्मक र रचनात्मक कामले समाजलाई सही दिशा निर्देश गर्ने पनि बताए । फेस्टिवलकै अवसरमा फोटोग्राफीसम्बन्धी तालिम पनि सञ्चालन गरिएको छ । जसको सहजीकरण फोटोग्राफर अमित रावल र वरिष्ठ फोटोग्राफर विकास कार्कीले गरेका छन् । यसैगरी ल्याण्डस्केप फोटोग्राफर गोरख थापाले पत्रकारहरूमाझ आफ्ना फोटोग्राफी अनुभवहरू पनि साझा गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्