नापी र मालपोतलाई कोहलपुर माओवादीको ध्यानाकर्षण



कोहलपुर (बाँके) ।

नेकपा ‐माओवादी केन्द्र) नगर समिति कोहलपुर नापी र मालपोत कार्यालय कोहलपर बाँकेलाई जनसरोकारका विषयमा ध्यानाकर्षण गराएको छ । प्रत्यक्ष सेवाग्राहीको सरोकारका कार्यालयका रूपमा रहेका नापी र मालपोतमा सेवा लिने सेवाग्राहीले निरन्तर रूपमा विभिन्न समस्याहरूमा चुस्त दुरुस्त सेवा प्रवाह नभएको जनगुनासो व्यक्त गरिरहेको भन्दै माओवादीले ध्यानाकर्षण गराएको हो ।

बुधबार पार्टीले नापी र मालपोत कार्यालयलाई जनस्तरबाट उठेका जनगुनासो र महशुस गरिरहेका समस्या समाधान गर्न १० बुँदै ध्याकर्षण पत्र बुझाएको हो । अध्यक्ष बलबहादुर खड्काले जनताको प्रत्यक्ष जनसरोकारसँग जोडिएका विषयमा कार्यालय प्रमुखलाई भेटेरै ध्यानाकर्षण गराएको जानकारी दिए । उनका अनुसार पार्टीको निरन्तर अभियानअन्तर्गत सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरूमा ध्यानाकर्षण गराउने कार्यक्रमअनुसार नापी र मालपोत कार्यालयमा ध्यानाकर्षण गराइएको हो ।

माओवादीले दुवै कार्यालयमा बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘जनताको तर्फबाट आएका शंका, गुनासा वा निवेदनप्रति गम्भीर भएर सुनुवाइ गर्ने र सेवा प्रवाहलाई सजिलो र सहज बनाउनुपर्छ । सेवाग्राहीले भोगिरहेको सास्ती, ढिलासुस्ती र अनावश्यक सिफारिस प्रणाली अन्त्य गरिनुपर्छ । किटानी किताब काट्दा कुनै दलाल, बिचौलिया वा कर्मचारीको स्वेच्छाचारी निर्णय बन्द गर्नुपर्छ ।’

यस्तै सेवाग्राहीसँग अभद्र व्यवहार गर्ने कर्मचारीलाई कारबाही गर्नुपर्ने र भूमाफियाको संरक्षण र अनाधिकृत काममा संलग्न कर्मचारीमाथि निगरानी र कारबाही गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराइएको छ । उनले कार्यालय प्रवेशद्वारमा दलालहरूको जमघट हटाउनुपर्ने र सेवामा पारदर्शिता ल्याई सेवाग्राहीलाई सहज सूचना उपलब्ध गराउनुपर्ने माग गरिएको जानकारी दिए ।

महिला, गरिब, दलित तथा वृद्धवृद्धालाई प्राथमिकतामा राखेर सेवा दिनुपर्र्न माओवादीले माग गरेको छ । कर्मचारी समयमै कार्यालय उपस्थित भएर सेवा दिनुपर्ने र सेवाको डिजिटल प्रणालीलाई प्रभावकारी बनाउँदै आवश्यक सफ्टवेयर प्रयोग गरी सुधार गर्नुपर्नेमा जोड दिइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार ५ गते बिहीबार