कोहलपुर ।
‘उपप्रमुखसँग बादी, गन्धर्व, अल्पसंख्यक तथा असहाय विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण कार्यक्रम’ अन्तर्गत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ । कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखाको आयोजनामा बुधबार नगरपालिकाभित्र रहेका ७० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
कार्यक्रममा उपप्रमुख संगीता सुवेदीले प्रावि तहमा अध्ययनरत पछाडि परेका र आर्थिक रूपले विपन्न विद्यार्थीहरूलाई थोरै भएपनि हौसला प्रदान गर्न शैक्षिक सामग्री वितरण गरिएको बताइन् । नगरपालिकाभित्र रहेका १० वटा प्राथमिक विद्यालयका प्रत्येक विद्यालयबाट ६ जना बादी, गन्धर्व, अल्पसंख्यक तथा असहाय विद्यार्थी छनोट गरेर शैक्षिक सामग्री प्रदान गरेको जानकारी दिइन् ।
‘विद्यालयहरूमा अनुगमन जाँदा झोला नहुँदा बोरामा कापी र कम बोकेर विद्यालय पुगेका विद्यार्थीहरू भेटाएका थियौँ,‘ उनले भनिन्, ‘त्यस्ता अवस्था रहेका विद्यार्थीहरूको मनोबल बढाउन र शिक्षण सिकाइमा टेवा पु¥याउन शैक्षिक सामग्री प्रदान गरेका हौँ ।’ उनले आगामी दिनहरूमा पनि विपन्न र आर्थिक रूपले पछाडि परेका विद्यार्थीहरूका लागि बजेट विनियोज गर्ने बताइन् ।
कार्यक्रमको प्रमुख अतिथिसमेत रहेकी उपप्रमुख सुवेदीले अभिभावकविहीन र आर्थिक रूपमा कमजोर विद्यार्थीहरूको रिपोटिङ गरेर शिक्षा शाखामा पेस गर्न प्रअहरूलाई आग्रह गरिन् । कार्यक्रमलाई निरन्तरता दिने बताउँदै उनले आर्थिक रूपले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् । शैक्षिक सामग्री मात्र नभई शुद्ध खानेपानी, शौचालय, भौतिक पूर्वधार लगायतको विकासमा स्थानीय सरकार साथमा रहेको र काम गर्दै पनि आएको उनको भनाइ थियो ।
शैक्षिक समस्या समधान गर्न र बालअधिकार व्यवस्थित गर्न शैक्षिक सामग्री वितरणले सहयोग पु¥याउने प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले बताए । कतिपय बालबालिकालाई सानो शैक्षिक सामग्री नहुँदा पठनपाठनमा हुने कठिनाइ दूर गर्न कार्यक्रमले मद्दत पुग्ने उनले जानकारी दिए ।
थोरै भएपनि स–साना आवश्यकता पूरा गर्दै पठनपाठनमा उत्प्रेरित बनाउने भएकाले आगामी दिनहरूमा निरन्तरता दिने उनको भनाइ थियो ।
शैक्षिक सामग्रीले विद्यार्थीहरूमा पढाइप्रति उत्प्रेरित हुने विश्वास लिएको शिक्षा तथा खेलकुद शाखा प्रमुख रामबहादुर हमालले बताए । उनले प्रत्येक विद्यार्थीलाई झोला, कापी, कमलहरू प्रदान गरेको जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्