कोहलपुर (बाँके) ।
बाँकेको कोहलपुर नगरपालिकाले निर्माण गरिरहेको सरसफाइ तथा फोहोरमैला व्यवस्थापन कार्यविधि कार्यान्यवनमुखी बनाउनुपर्नेमा जोड दिइएको छ । विगतमा नगरपालिकाले यस्ता थुप्रै कार्यविधि निर्माण गरेपनि प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै स्थानीय सरकारले निर्माण गर्ने कार्यविधिहरू कार्यान्वयनमुखी हुनुपर्नेमा जोड दिइएको हो ।
मंगलबार कोहलपुर नगरपालिकाको नगर प्रहरी, विपद् व्यवस्थापन शाखाले आयोजना गरेको कार्यविधिमाथि सरोकारवालाको राय, सल्लाह तथा सुझाव संकलनमा सरोकारवालाहरूले कोहलपुरमा विद्यमान फोहोरमैला व्यवस्थापनको अवस्था, सिकेका पाठ र देखिएका कमजोरीहरूको समीक्षा गर्दै कार्यविधिलाई प्रभावकारी बनाउनुपर्ने बताएका हुन् ।
नगरपालिकामा फोहोरमैला व्यवस्थापनको दीर्घकालीन समाधानसहितको योजना आवश्यक रहेकोमा जोड दिएका छन् । बाँकेकै उदाउँदो सहरका रूपमा विकसित हुँदै गएको कोहलपुरमा छिटोभन्दा छिटो फोहोरमैला व्यवस्थापनसम्बन्धी प्रभावकारी नीति आवश्यक रहेको उनीहरूको भनाइ थियो । सुझाव संकलनमा कोहलपुर सामुदायिक सेवा केन्द्रका अध्यक्ष यामलाल गैरैले फोहोरमैला व्यवस्थापन अहिलेको आवश्यकता रहेको भन्दै सबैभन्दा व्यक्तिमा फोहोरमैला व्यवस्थापनका विषयमा सचेतना आवश्यक रहेको बताए ।
उनका अनुसार स्थानीय सरकार र सरोकारवाला निकायले पनि कोहलपुरमा सरसफाइबारे सचेतना फैलाउन आवश्यक रहेको छ । फोहोरको वर्गीकरणदेखि संकलन र व्यवस्थापनमा एकद्वार प्रणाली लागु गर्नुपर्ने उनको भनाइ छ । सामाजिक अभियान्ता भुम भण्डारीले स्थानीय सरकार आएदेखि फोहोरमैला व्यवस्थापनसम्बन्धी कोहलपुरमा बनेका नीति, अहिलेको अवस्था तथा संशोधन गर्नुपर्ने विषयमा जानकारी हुनुपर्ने बताए।
सरकारी, निजी साझेदारीअन्तर्गत हाल कोहलपुरमा भइरहेको फोहोरमैला व्यवस्थापनमा देखिएका समस्या र समाधानका उपायका विषयमा व्यापक छलफल गर्न आवश्यक रहेको उनले बताए । यस्तै नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिका अध्यक्ष बलबहादुर खड्काले कोहलपुरको फोहोरमैला व्यवस्थापन प्रमुख चुनौतीको रूपमा रहेको भन्दै दीर्घकालीन समाधान आवश्यक रहेको बताए ।
आफ्नो पार्टीले कोहलपुर नगरपालिकाका नगर प्रमुखलाई भेटेर फोहोरमैला व्यवस्थापनका विषयमा सुझाव दिएको उनले बताए । पार्टीले यसअघि कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यलाई ४१बुँदे मागपत्र बुझाएको थियो । कोहलपुरलाई प्लाष्टिक मुक्त गर्न आवश्यक रहेको उनको भनाइ थियो । फोहोरमैला व्यवस्थापनका लागि अन्य पालिकाहरूले गरेका असल अभ्यासहरूसमेत अवलम्बन गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।
कोहलपुर नगरपालिकाले पाँच सदस्यीय मस्यौदा समिति गठन गरेर सरसफाइ तथा फोहोरमैला व्यवस्थापनसम्बन्धी कार्यविधि निर्माण कार्य गरिरहेको छ । समितिका सदस्यसचिव वीरबहादुर थापाका अनुसार नगरपालिकाले निर्माण गर्न लागेको कार्यविधिसम्बन्धी सरोकारवालाहरूको राय, सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
उनले समितिले निर्माण गरिरहेको मस्यौदा र समेट्नुपर्ने विषयमा सरोकारवालाहरूसँग सुझाव संकलन गरिरहेको बताए । हालसम्म ९ वटा वडामा सुझाव संकलन भइसकेको थापाको भनाइ थियो । हाल कोहलपुरमा दैनिक ८–१० टन फोहोर उत्पादन हुने गरेको छ । तीमध्ये घरबाट ६३ प्रतिशत, कार्यालयबाट २८ प्रतिशत र होटलबाट ९ प्रतिशत फोहोर उत्पादन हुने गरेको छ ।
हालसम्म कोहलपुर नगरपालिकाले सरसफाइ, फोहोरमैला र वातावरण व्यवस्थापनसँग सम्बन्धित वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७, वन व्यवस्थापन ऐन २०७८, सार्वजनिक क्षेत्रको सरसफाइसम्बन्धी कार्यविधि २०७६, संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक परीक्षण कार्यविधि २०७७ र फोहोर व्यवस्थापन सुझावसहितको अध्ययन प्रतिवेदन २०८० निर्माण गरेको छ ।









प्रतिक्रिया दिनुहोस्