घोडाघोडी (कैलाली) ।
कैलालीको घोडाघोडी नगरपालिकाले केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विजेता खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न १५औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विभिन्न खेलमा पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिएको हो ।
सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व पालिकाका विभिन्न खेलमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विजेता खेलाडीलाई क्रमशः १० हजार, सात हजार पाँच सय, पाँच हजार रूपैयाँँ नगद पुरस्कारसहित प्रमाणपत्र, दोसल्लाले सम्मान गरिएको हो । नगर प्रमुख खडकबहादुर रावत, प्रमुख प्रशासकीय अधिकृत शिवसिंह भण्डारी, उपसचिव खगेन्द्रबहादुर सिंह, शिक्षा शाखाका अधिकृत उमेशराज रेग्मी र नगर प्रवक्ता घनश्याम ओझाले खेलाडीलाई सम्मान गरे ।
खेलाडीको हौसला वृद्धि तथा उच्च मनोबल रहोस् भन्दै खेलाडीका लागि पालिकामै बोलाएर सम्मान गरिएको नगर प्रमुख रावतले बताए । आगामी दिनमा पनि खेल जगतमा हुने क्रियाकलापमा नगरपालिकाले निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै विभिन्न विधामा कीर्तिमान राख्ने तथा पदक जित्ने खेलाडीहरूलाई उज्जल भविष्यको शुभकामना दिए । युवा तथा खेलकुद मन्त्रालयको सहयोग तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा भएको प्रतियोगितामा गएको संस्करणको च्याम्पियन सुदूरपश्चिम प्रदेश दोस्रो भएको थियो ।
सुदूरपश्चिमले १४ स्वर्ण, २० रजत र १८ कांस्य पदक जितेको हो । सुदूरपश्चिम प्रदेशबाट खेल्ने विमला महरा भलिबलमा प्रथम, सङ्गीता विक दौडमा प्रथम, विवेक चौधरी सटपुटमा प्रथम, विक्रम विष्ट दौड, विकास बुढा ट्रिपल जम्पमा प्रथम, सुस्मिता चौधरी हाइजम्पमा प्रथम, पवित्रा चौधरी लङ जम्पमा द्वितीय, विक्रम विक दौड द्वितीय र उषा चौधरी रिले दौडमा तृतीय भएका थिए । उनीहरू सबै घोडाघोडी नगरपालिकाभित्रका खेलाडी हुन् ।









प्रतिक्रिया दिनुहोस्