भोजपुर ।
भोजपुरको खोक्सिकमा २२ रोपनीमा कफीखेती गरिएको छ । प्रदेश सरकारबाट प्राप्त रु सात लाख र किसानसँगको साझेदारीमा रामप्रसाद राई गाउँपालिकामा कफीखेती सुरु गरिएको हो । नमुना कफीखेती विस्तार गर्ने लक्ष्यले गुराँस सहकारी संस्थामा आबद्ध आठ जना कृषकहरूको समूहले दुई हजार दुई सय बिरुवा रोपेर कफीखेती सुरु गरेको वडा नं ८ का अध्यक्ष बाचकुमार राईले जानकारी दिए ।
यो क्षेत्र कफीखेतीका लागि उपयुक्त भूगोल रहेकाले वडाको पहलमा बजेट माग गरी कफीखेती प्रवद्र्धन तथा विस्तार भइरहेको वडाध्यक्ष राईले बताए । वडाध्यक्ष राईले भने, ‘खोक्सिक क्षेत्र कफीखेतीका लागि उपयुक्त भूगोल मानिन्छ । कृषकलाई कफीखेतीका माध्यमबाट आयआर्जनमा जोड्न यो कार्यक्रमले टेवा पुग्ने विश्वास छ ।’
विगतमा सामान्य रूपमा कफीखेती गरिरहेको भए पनि यो कार्यक्रमले बृहत् रूपमा खेती विस्तारमा टेवा पुगेको गुराँस सहकारी संस्थाका उपाध्यक्ष मनोज राईले बताए । ‘हाम्रो क्षेत्रमा सामन्य रूपमा कफीखेती गरिरहेका थियौँ,’ उनले भने, ‘धेरै मात्रामा विस्तार गर्ने सोच भए पनि आर्थिक अभावमा गर्न सकिएको थिएन ।
कार्यक्रम सञ्चालन भएपछि हामीलाई खेती विस्तारको लागि हौसला मिलेको छ ।’ रामप्रसाद राईसँगै हतुवागढी गाउँपालिकाको सिन्द्राङ, होम्ताङ, लुङ्गिन, लुम्थुङसँगै आमचोक गाउँपालिकालगायत क्षेत्रका किसानहरूले कफीखेती गरिरहेका छन् । यहाँका किसानले उत्पादन गरेको कफी, धरान, इटहरी, विराटनगर काठमाडाँै हुँदै जापान, कोरियासम्म निर्यात हुने गरेको कफी व्यवसायी सुनिल श्रेष्ठले बताए ।
अर्गानिक (जैविक) कफीको विदेशी बजारमासमेत माग रहेको उनको भनाइ छ । भोजपुरमा उत्पादन भएको कफी संकलन गरेर बाहिरका बजारमा आफूले बिक्री गर्दै आएको श्रेष्ठले जानकारी दिए । कफीले बाह्य बजारमा राम्रो मुल्य पाउन थालेपछि यहाँका किसान यसको खेतीतर्फ आकर्षित भएका हुन् ।









प्रतिक्रिया दिनुहोस्