धनगढी ।
सुदूरपश्चिम प्रदेशस्तरीय खेलकुद पत्रकारिता तालिम कैलालीको खानीडाँडामा सम्पन्न भएको छ । सोमबारदेखि सुरु भएको तालिम मंगलबार समापन गरिएको हो । खेलकुद विधालाई पत्रकारितामार्फत् उजागर गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्य र खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा भएको तालिममा विभिन्न मिडियामा कार्यरत ३० जना पत्रकारको सहभागिता रहेको थियो ।
दुईदिने तालिममा फुटबल, एथलेटिक्सको बारेमा पत्रकार सिताराम ओझाले प्रशिक्षण दिएका थिए भने क्रिकेट, भलिबलका बारेमा पत्रकार नवराज पनेरुले प्रशिक्षण दिएका थिए । प्रशिक्षार्थीका रूपमा सहभागी भएका पत्रकार महेश बडुले यो तालिम आफूहरूलाई ठूलो सहयोग गरेको बताए । खेल विधा पत्रकारिताका लागि तालिम ज्यादै उपयोगी रहेको बडुले बताए । यस्तै तालिममा सहभागी रहेकी प्रशिक्षार्थी रक्षा बाग्चनले खेल क्षेत्रमा कलम चलाउन प्रेरित गरेको बताइन् ।
खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदिप पाठकको अध्यक्षतामा सुरु भएको समापन समारोहमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव बैकुण्ठ पराजुली, नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका सदस्य कृतबहादुर विष्ट, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा, पत्रकार दिपक उपाध्याय, खेलकुद पत्रकार मञ्चका पदाधिकारी र प्रशिक्षार्थीको सहभागितामा कार्यक्रम समापन गरिएको खेलकुद पत्रकार मञ्च कैलालीका सचिव विराज रोस्याराले जानकारी दिए ।
खेलकुद विधामा कलम चलाउने पत्रकारका लागि तालिम उपयोगी रहेको सहभागीहरूको भनाइ छ । खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदिप पाठकले समापन मन्तव्यमा यो तालिमलाई निरन्तरता दिने प्रतिबद्धता गरेका छन् । तालिम लिइसकेपछि सहभागीहरूले आफ्नो पत्रकारितामा खेल विधालाई लागु गर्नसमेत सुझाव दिएका छन् ।









प्रतिक्रिया दिनुहोस्