सुर्नयामा ठेउला संक्रमणबाट बालबालिका प्रभावित



बैतडी ।

सुर्नया गाउँपालिकाको वडा ७ र ८ मा ठेउला संक्रमण फैलिँदा बालबालिका प्रभावित भएका छन् । बालबालिका प्रभावित भएपछि यहाँका केही विद्यालयको पठनपाठनसमेत बन्द गरिएका छन् । ठेउला संक्रमण देखिएकाले सतर्कता अपनाउन आग्रह गरिएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए ।

ठेउला संक्रमणबाट बालबालिका प्रभावित भएकाले केही विद्यालयसमेत बन्द गरिएका छन् । ठेउला सरुवा संक्रमण भएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ । यसबाट बालबालिका, गर्भवती, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्ति बढी प्रभावित हुने भएकाले ध्यान दिनुपर्नेमा उनको जोड छ ।

ठेउला भएमा ज्वरो आउने, शरीरभरी बिमिरा आउने, शरीर दुख्ने, भोक नलाग्नेलगायत लक्षण देखापरेका छन् । यस्ता लक्षण देखापरेमा नजिकका स्वास्थ्य संस्थामा सम्पर्क राख्न आग्रह गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए । ठेउला सङ्क्रमित व्यक्तिलाई केही समय होम आइसोलेसनमा राख्नुपर्ने उनले बताए ।

यसका साथै व्यक्तिगत र वातावरणीय सरसफाइमा विशेष ध्यान दिन भनिएको छ । केही ठाउँमा ठेउला रोग देखिएकाले आवश्यक सतर्कता अपनाउन सम्बद्ध सबै पक्षलाई आग्रह गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोगराज जोशीले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार ४ गते बुधबार