शेरबहादुर ऐर । कैलाली ।
सुदूरपश्चिम प्रदेश सरकारले आइतबार राति ७ बजे आगामी आर्थिक वर्षको बजेट वक्तव्य सार्वजनिक ग¥यो । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रूपैयाँँको बजेट सार्वजनिक गरेसँगै आगामी आर्थिक वर्षको वार्षिक विकास कार्यक्रम पुस्तिका प्रदेश सभा सदस्यहरूमार्फत् सार्वजनिक गरेको हो ।
विगतमा आठ दिनदेखि १५ दिन लगाएर वार्षिक कार्यक्रम पुस्तिका सार्वजनिक गर्दै आएको प्रदेश सरकारले बजेटको पहिलो दिनमै सार्वजनिक गरेको यो पहिलो हो । प्रदेश सरकारले प्रदेश सभा सदस्यहरूलाई पेनड्राइभमार्फत् र आम सर्वसाधारणका लागि आफ्नो आधिकारिक वेवसाइटमार्फत् वार्षिक कार्यक्रम पुस्तिका सार्वजनिक गरेको छ ।
प्रदेश सरकारले सार्वजनिक गरेको बजेट र वार्षिक कार्यक्रम पुस्तिकामाथि सत्तापक्ष र प्रतिपक्षी दलहरूको असन्तुष्टि रहेको छ । उनीहरूले प्रदेश सरकारले ल्याएको बजेट सत्ता र शक्तिमा रहेका व्यक्तिहरूलाई केन्द्रमा राखी ल्याइएको बताएका छन् । नेकपा (माओवादी केन्द्र)का प्रदेश सभा सदस्य तथा पूर्वउद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामीले सार्वजनिक बजेटले दुर्गम क्षेत्रको विकासमा ध्यान दिन नसकेको बताए ।
उनले भने, ‘सरकारले ल्याएको बजेट अव्यवस्थित, अव्यवहारिक र उपेक्षामा परेका क्षेत्रहरूको विकासमा ध्यान दिन सकेको छैन ।’ उनले अझै पनि सुदूरपश्चिम प्रदेशका थुप्रै जिल्लाहरूका वडाहरू दुर्गम क्षेत्रमा रहेको बताउँदै भने, ‘ती क्षेत्रहरूको विकासका लागि मागअनुसारको योजना समावेश गर्न सकेको छैन । यो सत्ता र शक्ति केन्द्रलाई ध्यानमा राखेर ल्याइएको देखिन्छ ।’
नेकपा एमालेका प्रमुख सचेतक चक्र मल्लले बजेट समग्र प्रदेशको हितभन्दा पनि व्यक्तिगत हितमा केन्द्रित भएको आरोप लगाए । ‘बजेटको आकार बढाउनुको अर्थ छैन जब स्रोत छैन,’ मल्लले भने, ‘ठूला परियोजना छैनन्, रोजगारी सृजनाको खाका छैन, औद्योगीकरणतर्फ कुनै स्पष्ट दृष्टिकोण छैन ।’नेपाली काँग्रेसको नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीका सांसद सरकारमा छन् ।
एमालेका प्रमुख सचेतक मल्ले बजेटको आलोचना गर्दा नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले पनि बजेट मन्त्रीमुखी भएको जिकिर गरे । उनले बजेटमा सांसदहरूका योजना समावेश भएपनि विकास र समृद्धिको खाका कोर्ने बजेट आउन नसकेको उनको आरोप थियो । ‘सांसदहरूको योजना समेटिए पनि विकास र समृद्धिको स्पष्ट नक्सा छैन,’ उनले भने, ‘मन्त्रीहरूका योजना समेटिएका छन् । समेट्नु पर्ने योजनाहरू छुटेका छन् ।’
सरकारको नेतृत्व गरिरहेको पार्टी नेपाली काँग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले भने बजेट वक्तव्यको बचाउ गरेका थिए । उनले विगतमा रातो किताबमा समस्या हुने गरेको भन्दै रातो किताब हेरेपछि विश्लेषण गर्न सकिने बताएका थिए । ‘बजेट वक्तव्य सन्तुलित र राम्रो छ। समस्या रातो किताबमा हुन्छ म त्यो अध्ययन गरिरहेको छु,’ उनले भने ।
स्वास्थ्यमा घटाइयो बजेट
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रूपैयाँँको बजेट ल्याएको छ । तर, आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा ह्वात्तै बजेट घटाएको छ । सार्वजनिक वित्तीय हस्तान्तरणअनुसार प्रदेश सरकारले शिक्षा क्षेत्रको बजेटमा वृद्धि गरेको भएपनि चालू आर्थिक वर्षको तुलनामा तीन प्रतिशत घटी बजेट स्वास्थ्यमा विनियोजन गरेको छ । चालू आर्थिक वर्षमा ३१ अर्ब ५३ करोड ६६ लाख रूपैयाँँको बजेट ल्याएको प्रदेश सरकारले स्वास्थ्यतर्फ कूल बजेटमध्ये ११ प्रतिशत विनियोजन गरेको थियो ।
तर, आगामी आर्थिक वर्षका लागि बजेटको आकार बढेको भएपनि स्वास्थ्यतर्फ विनियोजन गरेको बजेटको प्रतिशत भने घटेको छ । चालू आर्थिक वर्षमा कूल बजेटमध्ये तीन अर्ब ४९ करोड ९९ लाख ९५ हजार स्वास्थ्यमा विनियोजन गरेको प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि दुई अर्व ८२ करोड ४६ ला ५७ हजार विनियोजन गरेको छ ।
स्वास्थ्यतर्फ विनियोजन गरेको कूल बजेटमध्ये औषधी उत्पादन, उपकरण, तथा औजारतर्फ दुई करोड ४२ लाख रकम विनियोजन गरेको छ । चालू आर्थिक वर्षमा यसतर्फ चार करोड ६७ लाख ७० हजार विनियोजन गरेको थियो । आगामी आर्थिक वर्षमा बहिरंग सेवातर्फ १० करोड २४ लाख विनियोजन गरेको छ । चालू आर्थिक वर्षमा यसतर्फ आठ करोड ६२ लाख नौ हजार विनियोजन गरेको थियो ।
आगामी आर्थिक वर्षमा अस्पताल सेवातर्फ ४४ करोड २० लाख विनियोजन गरेको छ । चालू आर्थिक वर्षमा यसमा ५० करोड तीन लाख ७३ हजार विनियोजन गरेको थियो । आगामी आर्थिक वर्षका लागि सार्वजनिक स्वास्थ्य सेवातर्फ दुई अर्ब सात करोड आठ लाख ५७ हजार विनियोजन गरेको छ । चालू आर्थिक वर्षमा दुई अर्ब ६७ करोड ८६ लाख ४३ हजार विनियोजन गरेको थियो । आगामी आर्थिक वर्षका लागि स्वास्थ्य अनुसन्धान केन्द्रतर्फ १८ करोड १२ लाख रकम विनियोजन गरेको छ । चालूतर्फ यसतर्फ आठ करोड पाँच लाख ९२ हजार विनियोजन गरेको थियो ।
चालू आर्थिक वर्षमा कूल बजेटको तीन अर्ब ४४ करोड १६ लाख नौ हजार शिक्षातर्फ बजेट विनियोजन गरेको प्रदेश सरकारले झण्डै तीन प्रतिशतले वृद्धि गरेर ल्याएको छ । व्यय अनुमानका अनुसार आगामी आर्थिक वर्षमा शिक्षातर्फ कूल बजेटमध्ये चार अर्ब २२ करोड ४० लाख ४९ हजार विनियोजन गरेको छ । शिक्षातर्फ सीपमूलकतर्फ शून्य रकम विनियोजन गरेको छ । चालू आर्थिक वर्षमा यसतर्फ १५ लाख ५० हजार विनियोजन गरेको थियो ।
आगामी आर्थिक वर्षका लागि तहमा वर्गीकृत नहुने शिक्षा (अनौपचारिक शिक्षा)तर्फ ५५ करोड एक लाख विनियोजन गरेको छ । चालू आर्थिक वर्षमा ५२ करोड ४६ लाख ७७ हजार विनियोजन गरेको थियो । आगामी आर्थिक वर्षका लागि शिक्षाका लागि सहायक सेवाहरूतर्फ तीन अर्ब ५८ करोड ३३ लाख ३९ हजार विनियोजन गरेकोमा चालू आर्थिकमा दुई अर्ब ८३ करोड ४७ लाख ५० हजार विनियोजन गरेको थियो । शिक्षा अनुसन्धान विकासतर्फ आगामी आर्थिक वर्षका लागि नौ करोड छ लाख १० हजार विनियोजन गरिएकोमा चालू आर्थिकमा आठ करोड पाँच लाख ९२ हजार विनियोजन गरेको थियो ।
मोबाइल खरिद गर्न बजेट विनियोजन
सुदूरपश्चिम प्रदेश सरकारले प्रज्ञा प्रतिष्ठानमा मोबाइल सहितका विलासिताका सामाग्री खरिद गर्नका लागि बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट प्रदेश सरकारले प्रज्ञा प्रतिष्ठानका लागि मोबाइल सेट खरिद गर्न ४० हजार, कम्प्युटर, ल्यापटप र प्रिन्टर खरिद गर्न तीन लाख र मोटरसाइकल खरिद गर्न तीन लाख ५० हजार रूपैयाँँ विनियोजन गरेको छ ।
यद्दपि, ऐतिहासिक पुरातात्विक तथा सांस्कृतिक सम्पदाको खोज तथा अन्वेषण गर्न ५० हजार रूपैयाँँ मात्रै विनियोजन गरेको छ । सुदूरपश्चिम प्रदेशभित्रका भाषाहरूको अध्ययन तथा अभिलेखीकरण गर्न दुई लाख विनियोजन गरेको छ । प्रदेशको कामकाजको भाषा निर्धारणको तयारी गर्न पनि दुई लाख मात्रै विनियोजन गरेको छ । प्रज्ञा प्रतिष्ठानमा उपकुलपति टिएन जोशीबाहेक प्राज्ञहरू र कर्मचारीहरू समेत छैनन् । सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठान ऐनमा उपकुलपतिलाई मोबाइल सेट, मोटरसाइकल र ल्यापटप सुविधा दिने व्यवस्था गरिएको छैन ।









प्रतिक्रिया दिनुहोस्