वीरेन्द्रनगर र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य



वीरेन्द्रनगर ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले मध्यपश्चिम विश्वविद्यालयसँग विभिन्न विषयमा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन र सहकार्यका लागि सम्झौता गरेको छ । वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकाल र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा ध्रवकुमार गौतमबीच सार्वजनिक महत्वका विषयमा सहकार्य गरेर अघि बढ्ने उद्देश्यले सम्झौता गरिएको हो।

सार्वजनिक सेवा सान्दर्भिक अनुसन्धान, प्रचारप्रसार तथा प्रकाशन वैकल्पिक ऊर्जा र वातावरणीय सुधारका कार्यक्रमका लागि दुई निकायबीच सहयोग र सहकार्य गर्ने सम्झौतामा उल्लेख छ । विश्वविद्यालयसँग सामाजिक जनचेतना, तालिम, गोष्ठीलगायतका क्षमता विकासका कार्यक्रम र स्थानीय बस्तु तथा सेवा र उद्यमशीलता प्रवद्र्धन गर्ने लक्ष्य राखिएको नगर प्रमुख मोहनमाया ढकालले बताइन् ।

उनका अनुसार भौतिक पूर्वाधार विकास र स्रोत व्यवस्थापन, मानव स्रोत, सूचना, तथ्यांक, सामग्री, पुस्तकालय र बौद्धिक सम्पत्तिलगायतका स्रोतमा सहयोग, आदानप्रदान र सहकार्य गर्ने सम्झौता भएको छ । यस्तै वर्गीकृत समुदायका लागि छात्रवृद्धि प्रदान गर्ने विषय समावेश गरिएको छ ।

‘स्थानीय ज्ञान, सीप, प्रविधि र संस्कृतिको खोजी तथा प्रवद्र्धन र स्थानीय महत्वका विषय तथा आपसी सहमतिमा गर्न सकिने अन्य कार्यहरू सम्झौतापत्रमा समावेश छन्,’ उनले भनिन्, ‘स्थानीयस्तरमा गर्ने अध्ययन, विश्लेषण र अनुसन्धान गरी सेवा प्रवाहमा नगरपालिकाले सहकार्य गर्दै आएको छ । कार्यगत क्षेत्रका सार्वजनिक सेवा प्रवाह, विकास निर्माण, सामाजिक कार्य र सुशासनसम्बन्धी व्यवस्थापनमा थप प्रभावकारी बनाउन विश्वविद्यालयसँग सहकार्य गरिएको हो ।’

नगरवासीका आवश्यकता र चाहनाहरूको परिपूर्ती गर्न दीर्घकालीन र बलियो सहकार्यको लागि क्षेत्रहरूको पहिचान गर्दै काम अघि बढाइने नगर प्रमुख ढकाल बताउँछिन् । दुवै निकायबीच भएको सहमति ४ वर्ष अवधिको रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार ४ गते बुधबार