कोहलपुर (बाँके) ।
नेकपा ‐माओवादी केन्द) कोहलपुर नगर समितिले ‘जनतासँग श्रम’ अभियान सञ्चालन गर्ने भएको छ । पार्टीका नेता कार्यकर्ताहरूलाई प्रत्यक्ष जनतासँग जोड्ने उद्देश्यले ‘जनतासँग श्रम’ अभियान सञ्चालन गर्न लागिएको हो ।
नेकपा ‐माओवादी केन्द) कोहलपुर नगर समितिका अध्यक्ष बलबहादुर खड्काले पार्टीले दुई महिने श्रम अभियान सञ्चालन गर्ने निर्णय गरेको बताए । उनका अनुसार शनिबार बसेको नगर समितिको घुम्ती बैठकले पार्टीका नेता कार्यकर्ताहरूलाई प्रत्यक्ष रूपमा जनतासँग जोड्ने उद्देश्यले अभियान सञ्चालन गर्ने निर्णय गरिएको हो ।
नगर समितिले हरेक महिना विभिन्न वडामा घुम्ती बैठक आयोजना गर्दै आएको छ । शनिबार वडा नम्बर ५ मा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । ‘वडा नम्बर ५ मा घुम्ती बैठक बस्यो । बैठकले दुई महिने श्रम अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । अभियान असार र साउन महिनामा सञ्चालन गरिनेछ,’ अध्यक्ष खड्काले भने । अन्नको भण्डार मानिने तराई क्षेत्रमा विशेषगरी धान खेती हुने गर्दछ । अधिकांश किसानहरू श्रममा व्यस्त हुन्छन् । नेताहरूलाई समेत श्रममा सरिक गराउने लक्ष्य राखिएको अध्यक्ष खड्काको भनाइ छ ।
बैठकमा पार्टीका नेता कार्यकर्ताहरूले कोहलपुर क्षेत्रका सहिद तथा वेपत्ता परिवारसँग भेट्ने र उनीहरूलाई श्रममा सघाउने उनले बताए । पार्टीका नेता कार्यकर्ताहरूलाई चलायमान बनाउनको लागि अभियान सञ्चालन गरिएको नगर समितिले जनाएको छ । यस्तै असार ४ गते कोहलपुरस्थित नापी र मालपोत कार्यालयमा हुने गरेका अनियमितताका विषयमा बृहत् खबरदारी सभा आयोजना गरिनेसमेत उनले जानकारी दिए ।
‘हामी जनताका मुद्दाहरूमा केन्द्रित छौँ । समसामयिक विषयमा हामीले खबरदारीसमेत गरिरहेका छौँ । त्यसैले सरकारी कार्यालयमा हुने बेथिति र आम नागरिकले सेवा लिँदा सास्ती नभोगुन् भन्ने उद्देश्यले खबरदारी गर्न लागिएको हो,’ अध्यक्ष खड्काले भने । यसअघि नेकपा ‐माओवादी केन्द) कोहलपुर नगर समितिले विद्युत् सेवा अनियमित भएको भन्दै नेपाल विद्युत् प्राधिकरण कोहलपुर शाखालाई ध्यानाकर्षण गराएको थियो ।
प्रतिक्रिया दिनुहोस्