‘ग’ वर्गको अपांगता भएकालाई निःशुल्क स्वास्थ्यबीमा



नेपालगन्ज ।

नेपालगन्ज उपमहानगरपालिकाले ‘ग’ वर्गको अपांगता भएका एक सय ९२ जनाको निःशुल्क स्वास्थ्यबीमा गरेको छ । स्वास्थ्य बीमामा आबद्ध हुनका लागि पाँच जनासम्मको परिवारलाई वार्षिक तीन हजार सय रूपैयाँ शुल्क लाग्ने गरेको छ । पाँच जनाभन्दा बढी सदस्य भएको परिवारमा थप प्रतिसदस्यका लागि सात सय रूपैयाँ भुक्तानी गर्नुपर्छ ।

७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अति गरिब, अति अशक्त, अपाङ्गता भएका व्यक्ति एवं कुष्ठरोगी, एमडीआर, टिबी र एचआइभी संक्रमित बिरामी भएका घर परिवारलाई योगदान रकममा पूर्णछुटको व्यवस्था गरिएको छ । यसरी बीमा गर्दा लाग्ने सबै खर्च उपमहानगरले व्यहोरेको हो । बीमा गरिएका व्यक्तिहरूले भदौ १ गतेदेखि लागू हुने गरी सुविधा पाउने छन् ।

पाँच जना परिवारलाई वार्षिक १ लाख रूपैयाँसम्म निःशुल्क उपचार हुन्छ भने पाँच जनाभन्दा बढी सदस्यको परिवार सङ्ख्याअनुसार बढीमा दुई लाखसम्मको स्वास्थ्य उपचार सुविधा पाइन्छ । यसरी अपांगता भएकाहरूको निःशुल्क स्वास्थ्यबीमा गरिएको लुम्बिनी प्रदेशमै पहिलो भएको उपमहानगरपालिकाले जनाएको छ । बीमा गरिएका व्यक्तिहरूलाई नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राईलगायतले सोमबार एक बीमा कार्ड हस्तान्तरण गरेका छन् ।

कार्ड हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले ‘ग’ वर्गको अपांगता भएका व्यक्तिहरूले राज्यबाट पाउनुपर्ने सेवा सुविधा नपाउने भएकाले औषधी उपचारमा सहज होस् भन्ने उद्देश्यले उपमहानगरपालिकाले नै बीमा गरिदिएको बताए ।

उनले यो कार्यक्रमलाई निरन्तरता दिने बताउँदै आगामी आर्थिक वर्षमा ‘अल्बिनो’ भएका व्यक्तिहरूको पनि स्वास्थ्यबीमा गर्ने जानकारी दिए । विष्टले नेपालगन्ज उपमहानगरपालिकालाई अपांगमैत्री बनाउन र अपांगता भएका व्यक्तिहरूको सेवा सुविधा बढाउन प्रयासरत रहेको पनि दाबी गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार ३ गते मंगलबार