हुम्ला ।
हुम्ला कर्णाली जलविद्युत् आयोजनाबाट ६८१ मेगावाट विद्युत् उत्पादन हुने भएको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमाथि सार्वजनिक सुनुवाइ गर्दै ६८१ दशमलव २ मेगावाट विद्युत् उत्पादन हुने जनाइएको हो ।
जिल्लाका नाम्खा गाउँपालिकाको याल्वाङ, सिमकोट गाउँपालिका–७ को धारापोरी र खार्पुनाथ गाउँपालिका–४ को छिप्रामा आयोजनाबारे तयार भएको प्रतिवेदनमाथि सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको थियो । डिजायर्ड इन्जिनीयरिङ कन्सल्टटेन्सीका वन तथा वातावरण विज्ञ जयराम मिश्रका अनुसार आयोजनाको विद्युत् २ स्थानमा उत्पादन हुने भएको छ ।
जसमा पहिलोका लागि नाम्खा गाउँपालिका–४ को याल्वाङमा कर्णाली नदीमा ९२ मिटर लम्बाइ र ४६ दशमलव ५ मिटर चौडाइको बाँध निर्माण गरिनेछ । उक्त स्थानमा ६ घण्टा पानी रोकेर ३ दशमलव ४ किलोमिटर लम्बाइको जलाशय निर्माण हुनेछ । बाँधबाट १०० घनमिटर प्रतिसेकेन्ड डिजाइन बहावलाई ७ मिटर अग्लो र ६ दशमलव ५ मिटर चौडाइ भएको ३ वटा इन्टेकमार्फत् पानी प्रवाह हुने उल्लेख छ ।
प्रतिवेदनमा भनिएको छ, ‘१३ दशमलव ५४३ किलोमिटरको सुरुङको माध्यमबाट पानी सर्जट्याङ्कसम्म पु¥याई २ हजार ८४९ मिटर लम्बाइ र ४ दशमलव ७ मिटर ब्यास भएको पेनस्टक पाइपमार्फत् प्रस्तावित सतही विद्युत्गृह सिमकोट गाउँपालिका–८ को खोल्सी गाउँमा खसालेर २५२ दशमलव ४ मेगावाट विद्युत् उत्पादन हुनेछ ।’
त्यसैगरी अर्को तत्पश्चात बहावलाई १०० मिटर लम्बाइको निकास नहरमार्फत् १२० मिटर लम्बाइ, २० मिटर चौडाइ र १२ मिटर गहिरो पोखरीबाट ६२५ मिटर लम्बाइ ६ मिटर चौडाइ र ६ मिटर उचाइ भएको हेडरेस नहर निर्माण हुनेछ ।
उक्त नहरबाट ७ दशमलव ४ मिटर ब्यासको १५ दशमलव ९७ किलोमिटर लामो सुरुङ्गको माध्यमबाट पानीलाई २० मिटर ब्यास तथा ७० मिटर उचाइ भएको गोलाकार भूमिगत सर्जट्याङ्कमा जम्मा गरिनेछ । त्यहाँ लाग्ने ४२५ मिटर लम्बाइ र ५ दशमलव २ मिटर ब्यास भएको पेनस्टक पाइपमार्फत् खार्पुनाथ गाउँपालिका–४ लालीचौरमा रहने भूमिगत विद्युत्गृहमा खसाली २२८ दशमलव ८ मेगावाट विद्युत् उत्पादन गरिनेछ ।
यस आयोजनाको विद्युत् उत्पादनपछि निकासा पानीलाई ४२५ मिटर लम्बाइको निकास सुरूङ्गमार्फत् फेरी हुम्ला कर्णाली नदीमा मिसाइने छ । नेपाल सरकार ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय विद्युत् विकास विभागको लगानीमा पूर्वसम्भाव्यता अध्ययन डिजायर्ड इन्जिनीयरिङ कन्सल्टटेन्सीले गरेको हो । यी दुवै आयोजना निर्माणका लागि १ लाख ३१ हजार ७६२ मिलियन डलर लागत खर्च रहने अनुमान गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्