सुुर्खेत–पोखरा पर्यटकीय सम्बन्ध जोडिदै



नन्दराम जैशी । सुर्खेत ।

सुर्खेत–पोखरा पर्यटकीय सम्बन्ध जोड्न अन्तक्र्रिया गरिएको छ । ‘जाउँ है पोखरा’ आन्तरिक पर्यटन प्रवद्र्धन अभियान अन्तर्गत वीरेन्द्रनगरमा सुर्खेत र पोखराका होटल व्यवसायी तथा अन्य सम्बन्धित निकायको उपस्थितिमा छलफल गरिएको हो । उक्त अन्तक्र्रियामा सुुर्खेत–पोखरा दिगो पर्यटकीय सम्बन्ध जोड्न गर्नुपर्ने काम र हाल भइरहेको गतिविधिका विषयमा छलफल गरिएको थियो । ‘जाउँ है पोखरा’ आन्तरिक पर्यटन प्रवद्र्धन अभियान अन्तर्गत पोखराको टोली बुटवल–नेपालगन्ज–सुर्खेत–दाङको यात्रामा निस्किएको छ ।

छलफलमा कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले पुष्पलाल र मध्यपहाडी लोकमार्ग बनेको खण्डमा सुर्खेत–पोखराको दूरी छोटो हुने बताए । आन्तरिक तथा बाह्य पर्यटक बढाउन प्रदेशका सबै जिल्लामा हवाई उडान गर्न कर्णाली सरकार लागिपरेको उनको भनाइ छ । ‘कर्णालीको पर्यटकीय क्षेत्रका लागि प्रदेश सरकार र निजी क्षेत्र लागिपरे पनि गर्नैपर्ने काम गर्न सकिएको छैन,’ उनले भने, ‘अब विश्वको गन्तव्य नेपाल र नेपालको गन्तव्य कर्णाली बनाउने गरी पर्यटकीय क्षेत्रको विकास, संरक्षण र प्रवद्र्धन गर्न कर्णाली सरकार लागि परेको छ ।’

होटल संघ पोखराको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशको प्रवद्र्धनमा यो अभियान जारी छ । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले ‘जाउँ है पोखरा’ अभियान २२ वर्ष पहिलेदेखि सुरु भएको जानकारी दिए । यो अभियानले स्थानीयमा एक सहरबाट अर्को सहरमा कामका लागि जादाँ पनि घुम्नुपर्छ भन्ने बानीको विकास गराएको उनले बताए ।

‘यहाँबाट पोखरामा पर्यटक दिनका लागि मात्रै होइन, पोखराका पर्यटकलाई सुर्खेत ल्याउनलाई पनि यो अभियान चलाइएको छ,’ उनले भने, ‘अभियान सुरु गर्दा पोखरामा आन्तरिक पर्यटकको सङ्ख्या ३ प्रतिशत थियो । अहिले ४० प्रतिशत पुगेको छ । त्यताका पर्यटकलाई यता र यताका पर्यटकलाई उता कसरी लैजाने भन्नेमा हामी लागि परेका छौँ ।’ सुर्खेतले पनि यो अभियान सुरु गर्नुपर्ने उनको भनाइ छ । उनले थपे, ‘हाल दिनप्रतिदिन भारतीय सयौँ गाडी पोखरा पुग्ने गरेका छन् । अर्को छिमेकी मुलुक चीनमा पनि यो अभियान पु¥याउने तयारी छ । भारतका जस्तै चीनबाट पनि पर्यटक भित्र्याउने हाम्रो लक्ष्य हो ।’

जहाँ सहज सडक र हवाई पहुँच हुन्छ त्यहाँ पर्यटक पनि जान रुचाउने गरेको भन्दै सुर्खेत–पोखराको हवाई तथा स्थलरुट गुणस्तरीय बनाउनुपर्ने उनले बताए । पोखरा पर्यटकीय राजधानी घोषणा भएसँगै त्यहाँका सबै पूूर्वाधार विकासले पनि फड्को मारेको उनको भनाइ छ । उनका अनुसार हाल पोखरामा दैनिक ४० हजार होटल बेडको व्यवस्था छ । भने २० हजारबढी युवाहरूले प्रत्यक्ष रोजगारी पाएका छन् ।

कर्णाली प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीले कर्णालीमा पर्यटकीय गतिविधिका पूर्वाधार विकासमा लगानी कम रहेको बताए । ‘कर्णालीका पर्यटकीय क्षेत्रमा पुग्ने राम्रो सडक छैन । त्यसैमा सुर्खेतबाट साविक कर्णालीका जिल्लामा समेत हवाई यातायात सेवा नहुनु दुर्भाग्यको कुरा हो,’ उनले भने, ‘कर्णालीमा प्रशस्त सम्भावना भएका पर्यटकीय स्थल हुदाँहुदै त्यसलाई उजागर गर्न सकिएको छैन । यसमा लगानी बढाउन आवश्यक छ । हामीसँग पोखरावासीले पनि हातेमालो गरेर लगानी बढाउन सक्छौँ ।’

कनेक्टिभिटीमा जोड

सुर्खेत–पोखरा पर्यटकीय सम्बन्धलाई दिगो बनाउन तथा आन्तरिक पर्यटक बढाउन सडक कनेक्टिभिटीमा जोड दिनुपर्ने सुर्खेतका होटल व्यवसायीहरूले बताएका छन् भने होटल संघ पोखराले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई लक्षित गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धनात्मक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ । आन्तरिक पर्यटकमार्फत् पर्यटन प्रवद्र्धन गर्न विगत वर्षहरूमा जस्तै यसपटक पनि ‘जाउँ है पोखरा’ अभियान लिएर टोली पश्चिम नेपाल पुुगेको होटल संघ पोखराकी सचिव पार्वता पाण्डेले बताइन् ।

‘पर्यटनका लागि विशेषगरी कनेक्टिभिटी महत्वपूर्ण हुने कुरालाई ख्याल गर्दै पश्चिम नेपालका विभिन्न सहरबाट पोखरासम्म सिधा हवाई उडान तथा स्तरीय बस सेवा सञ्चालनका लागि सम्बन्धित सबैको पहल र सक्रियताका लागिसमेत हार्दिक अपिल गर्न चाहन्छौँ,’ उनले भनिन्, ‘पोखरा र भैरहवामा बनेका अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालनका लागिसमेत सबै मिलेर सरकारलाई दबाब दिन जरुरी छ ।’

हाल नेपालीहरूको भ्रमण गर्ने सङ्ख्यामा वृद्धि हुँदै गएको हुँदा विदेशी मात्र नभई स्वदेशी पनि पर्यटक हुन् भन्ने मान्यतालाई अनुशरण गर्दै पर्यटनका माध्यमबाट ७ वटै प्रदेश जोड्ने मुख्य उद्देश्य रहेको उनको भनाइ छ । उनका अनुसार गत वर्ष फागुनमा पूर्वी नेपालका विभिन्न सहरमा यस्तै अभियान सम्पन्न गरिएको थियो भने पोखराको होटल क्षेत्रमा ५ खर्बभन्दा बढी हाराहारीको लगानी रहेको होटल संघ पोखराले जनाएको छ ।

जसमा पोखराका १ हजार २०० होटलमा ४० हजार बेड रहेको र करिब २० हजार जनाले रोजगारी पाएको तथ्यांक छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्नका लागि संघले फेवा नव वर्ष महोत्सव, भाइटिका महोत्सव, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खाना महोत्सव र खेलकुदका कार्यक्रमसमेत गर्दै आएको छ । साथै भारतीय पर्यटक प्रवद्र्धनका लागि भारतीय सहरहरूमा ‘चलिए पोखरा’ अभियान समेत सञ्चालन गर्दै आएको छ ।

पोखरामा बन्जी जम्पिङ, जीप लाइनिङ, विभिन्न मठ, मन्दिरहरूमा सन्ध्याकालीन आरती, केबलकार, प्याराग्लाइडिङ, अल्ट्रालाइट, क्यानोनिङलगायत दर्जनौँ पर्यटकीय सेवा उपलब्ध छन् । पोखरा नेचर, कल्बर र एड्भेयर सबै हिसाबले उपयुक्त पर्यटकीय गन्तव्य बनेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार २ गते सोमबार